कला

आमा

कविता

श्रद्धा भट्टराई

आमा,  तिमीले  कहिले  भनिनौ

आफ्नो दुख हामीलाई कहिले सुनाइनौ    

तिम्रो मुहारमा सधंै हाँसो हुन्थ्यो  

हाम्रो लागि सधै मुस्काइरन्थेउ ।

आज आफू आमा भएपछि आभास हुन्छ  

आमा,  

तिमीलाई पनि त दुख हुन्थ्यो होला  

रातभर हाम्रो हात समातेर सुत्दा,  

तिम्रो पनि त निन्द्रा बिग्रिन्थ्यो होला  

बाटाको कुकुर देखेर  

हामी तिम्रै पछ्यौरा पछाडि लुक्थ्यौ

आमा, तिमीलाई पनि डर लाग्थ्यो  कि ?

आमा,

तिमीलाई पनि  हामी जस्तै रुन मन लाग्थ्यो  कि ?

तर,  तिमीले  हाम्रा लागि  कहिले  आँसु  झारेनौ

आमा भोक त तिमीलाई पनि लाग्थ्यो होला  

हाम्रो पेट नभरी आफूलाई कहिले  सोचिनौ

हामी लड़लाउ कि भनेर आफ्नो  आँखा  झप्पकै  पारिनौ

आमा तिम्रो पनि त मन आत्तिन्थ्यो होला  

जिन्दगीका अफ्ठ्याराहरूमा  

के गर्ने भनेर डर लाग्थ्यो होला

तर, तिमीले कहिले भनिनौ

आफ्नो दुख कहिले पोखिनौ

आमा,  

के म तिमीजस्तै हुन  सक्छु  त ?

आफ्नो बच्चालाई तिमीले जस्तै हेर्न सक्छु त ?

तिमीभन्दा म स्वार्थी पो हुन्छु  कि ?

कहिलेकाहीं आफूलाई मात्र सोचेर पो अघि बढ्छु  कि ?

आमा,  

केही गलत गरें भने मलाई रोक्नु  है  

बाटो बिगारें भने भन्नु  है  

केही पाउने चाहनामा

आफ्नो सन्तानको साथ पो गुमाउँछु कि ?

आकाशमा उड्ने रहरले धर्ती पो खस्छु कि ?

आमा,

म लडें भने उठाऊ है

मैले बाटो बिराएँ भने सिकाऊ है

तिमीलाई दुख भयो भने भन है

आफ्नो मनको बह पोख है  

अब त म बुझ्छु नि,

तिमीलाई साथ दिन्छु नि।

आमा,  

तिमीलाई दुख भयो भने भन है

आफ्नो मनको बह पोख है ।

प्रकाशित: १६ श्रावण २०७७ ०७:३२ शुक्रबार

अक्षर