कला

सुनिष्का गुरुआमा बनिन्

बालकथा

सुशीला प्रधानाङ्ग

सुनिष्का विद्यालय जान तरखर गर्दै थि

इन् । तिनले बाहिर आँगनमा कसैले बोलाएको स्वर सुनिन् ।  

– भित्र को हुनुहन्छ ?

– बाहिर आउनुस न ।

नितकी आमा जुनेली बारीमा काम गर्दै थिइन् । तिनले पनि कसैले बोलाएको स्वर सुनिन् । सुनिष्का बाहिर दगुर्दै आइन् र सोधिन्, ‘हजुरहरुले कस्लाई खोज्नुभएको होला ?’

आँगनमा चारपाँचजना महिलापुरुषहरू उभिइरहेका थिए ।  

उनीहरूमध्ये एकजनाले भन्यो,‘नानी , घरमा आमाबुबा हुनुहुन्न ?’

सुनिष्काले भनिन्, ‘बाबा बिहानै अर्को गाउँमा जानुभएको छ । आमा बारीमा हुनुहुन्छ । म आमालाई बोलाइदिन्छु है । सुनिष्काले आफनो कुरा नभ्याउँदै बोडी र सेमीको तरकारीको डालो बोक्दै जुनेली आँगनमा देखा परिन् । तिनले सुनिष्कासंग सोधिन्, ‘छोरी , उहाँहरूले कसलाई खोज्नुभएको होला ?’

– बाबालाई हो भने बाहिर जानुभएछ भनेर भनिनौं ?

उनीहरूमध्ये एउटी महिलाले भनिन्, ‘नानीले त भनिसकिन् । हामी गाउँपालिकाबाट आएका हौं । हजुरसंग भए पनि हामी कुरा गर्छौं ।  

जुनेलीले लाज मानेजस्तै गरेर भनिन्, ‘मलाई त केही भन्न आउँदैन । हजुरहरू नानीको बाबा भएको बेलामा आउनु भए हुन्न ?  ‘किन र दिदी ? हजुरलाई कुरा गर्न आउँदैन ?’ त्यो सुनेर जुनेलीले टाउको लाजले निहु¥यो । सुनिष्काले झोला बोक्दै भनिन्, ‘पख्नुस आमा ! म आउँछु ।’

तिनले आमाको हात समात्दै भनिन्, ‘आमा, हजुरले किन कुरा गर्न आउँदैन भन्नुभएको ? मसंग कति धेरै राम्रा राम्रा कुरा गर्नुहुन्छ ।’

तिनले आगन्तुकहरूतिर हात देखाएर भनिन्, ‘हामी नेपाली हौं । हामीले नेपाली भाषामा कुरा गर्छौ । उहाँहरूले पनि त्यही भाषामा कुरा गर्ने हो । उहाँहरूले अर्को भाषा बोल्नुहुन्न ।  

तिनले फेरि आमालाई अंगाल्दै भनिन्, ‘मेरी आमालाई धेरै कुराहरू गर्न आउँछ । राम्राराम्रा कथाहरू भन्नुहुन्छ  । मीठो स्वरले गित गाउनुहुन्छ ।’

जुनेलीले छोरीलाई हप्काउँदै भनिन्, ‘धत्, जे पनि बोल्छे । तिमीलाई पढन जान ढिला भएन ?’  

सुनिष्काले आमाले बोकेको डालोलाई भुईमा राखिन् र भनिन्, ‘आमा, म अहिले नौ वर्षकी भएँ । मलाई उहाँहरूसंग कुरा गर्न डर लाग्दैन भने हजुर त मेरी आमा पो किन डराउनुहुन्छ ?’

तिनको कुरा सुनेर आगन्तुकहरू सबै हाँस्न थाले । उनीहरू हाँसेको देखेर तिनी झन् लाजले भुतुक्कै भइन् । तिनले आफनो साडीको टुप्पाले मुख छोपिन् र पछाडि फर्किन् ।  

तिनले आफनी आमालाई समातेर अगाडि ल्याइन् र भनिन्, ‘आमा, किन लाज मान्नुभएको ? उहाँहरू पनि हामीजस्तै हो । उहाँहरू बाहिर काम गर्न जानुहुन्छ । हजुरले घरको काम गर्नुहुन्छ फरक यत्ति हो ।’

तिनले आगन्तुकहरूतिर हेर्दै भनिन्, ‘मलाई विद्यालय जान ढिलो हुन्छ ।  केही सोध्नु छ भने भन्नुस् । उनीहरूमध्ये एकजना पुरुषले भन्यो, ‘नानी त धेरै बाठी रहिछौं । कति कक्षामा पढ्छौं ?’

सुनिष्काले दुवै हात जोड्दै भनिन्, ‘हजुरहरू सबैमा मेरो नमस्ते । म यहींको सामुदायिक विद्यालयमा कक्षा चारमा पढ्छु ।’

हामीले गाउँमा रहेका परिवारहरूको स्वास्थ्य जीवन बिमा गर्नको लागि परिवारहरूको नामावली लेख्न हिंडेका हौं ।

त्यो सुनेर सुनिष्काले भनिन्, ‘ए हाम्रो शिक्षकहरूले पनि कक्षामा हामीलाई भन्नुभएको थियो ।’

तिमी आफैंले तिम्रो परिवारको सदस्यहरुको नाम भन भनेर बलराम सरले भन्नुभयो ।  

सुनिष्काले भनिन्, ‘त्यत्ति कुरा त मेरी आमाले भन्नसक्नुहुन्छ । सही पनि गराउनुपर्छ र ?’  

बलराम सरले नै भन्नुभयो, ‘पर्छ नानु !’

तिनले आफनी आमालाई झोलाबाट कलम निकालिन र भनिन्, ‘म हजुरको हात समातिदिन्छु । हजुरले आफनो नाम लेख्नुस् ।’

जुनेलीले त्यसरी नै छोरीको हातबाट आफनो नाम लेखिन् ।

तिनले आमालाई भनिन्, ‘अब म मेरी आमालाई धेरै कुरा लेख्न र पढ्न सिकाउँछु ।’

सुनिष्काको कुरा सुनेर आगन्तुकहरू सबैले एकैसाथ भने, ‘नानू, तिमी धेरै असल रहिछौं । तिमीले आफनी आमालाई पक्कै पनि पढ्न लेख्नमा सिपालु बनाउनेछौं भनेर हामीले विश्वास लिएका छौं ।’

एकजना आगन्तुकले भन्यो, ‘अब हामी अर्कोपटक आउँदा दिदीले आफैं सही गर्नुहुनेछ । अहिले हामी जान्छौं । उनीहरू फर्केर गए । सुनिष्काले आफनी आमालाई अंगाल्दै भनिन्, ‘म मेरी आमाको गुरु बन्छु ।’

आमा पनि मुसुक्क हाँसिन ।

        

प्रकाशित: १५ श्रावण २०७७ ११:५५ बिहीबार

जूनकीरी