खेमराज पोखरेल
नानीबाबुहरू,
आज म तिमीहरूलाई सगरमाथाको कथा सुनाउँछु । सगरमाथा हाम्रो हो । हाम्रो गौरव हो । तिमीहरूले सगरमाथाको नाम सुनेका होलाऊ । पक्का सुनेका छौ । तर, तिमीहरूमध्ये कतिलाई सगरमाथाको कथा थाहा नभएको पनि हुनसक्छ । सगरमाथा भनेको संसारको सबैभन्दा अग्लो चुचुरो हो । सगर भनेको आकाश हो र माथा भनेको टाउको हो । आकाशलाई टाउकाले छुन सक्ने अग्लो भन्ने अर्थमा सगरमाथा भनिएको हो । हामी नेपाली धेरै भाग्यमानी छौं । संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा नेपालमा नै छ । सगरमाथाको उचाइ ८८४८ मिटर छ । यो भनेको २९०२९ फिट भनिएको हो । सगरमाथा महालंगुर हिमश्रृङखलामा पर्दछ । श्रृङ्खला भनेको धेरै ठाउँ ओगटेको पहाडको नाम हो भने चुचुरो भनेको त्यो पहाडको खास अग्लो ठाउँ हो ।
नेपालले यो चुचुराको नाम सगरमाथा राख्नुभन्दा धेरै पहिलेदेखि नै तिब्बतीहरूले चोमोलोङमा वा झोमोलोङमा भनेर नाम राखेका थिए । तिब्बती भाषामा चोमोलोङमा भनेको संसारकी आमास्वरूपकी देवी भनिएको हो । तिब्बतीहरू आज पनि चोमोलोङमालाई आमा सम्झेर असाध्य माया र श्रद्धा गर्छन् ।
त्यो बेला यो सगरमाथा संसारको सबैभन्दा अग्लो पहाड हो भन्ने कुरा कसैलाई थाहा थिएन । तर सन् १८५२ मा बेलायतको ट्रिगोनोमेट्रिक सर्भेले सगरमाथालाई संसारको सबैभन्दा अग्लो पहाड भनेर पत्ता लगायो । पत्ता मात्र लगाएन घोषणा पनि गर्यो । यो कामका मुख्य मान्छे बेलायती नागरिक सर जर्ज एभरेस्ट थिए । उनी भारतमा रहेको इस्ट इन्डिया कम्पनीको सर्भे विभागमा काम गर्थे । उनी रिटायर्ड भएर बेलायत गए । अनि सन् १८६५मा उनको सम्मानमा उनकै नाममा सगरमाथालाई एभरेस्ट नामाकारण गरियो । जर्ज एभरेष्ट सन् १८६६ मा बेलायतमा बिते । एभरेस्ट नाम राखिनुभन्दा पहिले युरोप र अमेरिकामा हाम्रो सगरमाथाको नाम ‘पिक १५’ थियो । तर, जर्ज एभरेस्टको नाममा माउन्ट एभरेस्ट रहेपछि भने यो पहाड संसारभरि प्रसिद्ध भयो । अहिले पनि हाम्रो यो सगरमाथालाई संसारले माउन्ट एभरेस्ट भनेर चिन्दछ । हामी विदेश गयौं र माउन्ट एभरेस्टको देश भन्यो भने सबैले चिन्दछन् ।
नेपालले यो सबैभन्दा अग्लो माउन्ट एभरेष्ट वा झोमोलोङमा पहाडको नाम सगरमाथा भनेर राख्यो । तिमीहरूले सुनेका छौ कि छैनौ होला ! नेपालका एकजना निकै ठूला इतिहासकार इतिहास शिरोमणि बाबुराम आचार्यले माउन्ट एभरेस्टको नाम सगरमाथा राखेका हुन् । उनको जन्म सन् १८८८ र मृत्यु १९७१ मा भएको थियो । नेपालको सरकारले पनि त्यो नामलाई खूब मन परायो र मान्यता दियो । सरकारी कामकाजमा सगरमाथा लेखिन थाल्यो । यति मात्र होइन, चौध अञ्चल विभाजन हुँदा एउटा अञ्चलको नाम नै सगरमाथा राखिएको थियो । त्यसकारण सगरमाथा हामी सबै नेपालीको गौरव हो ।
नाम सगरमाथा होस् वा चोमोलोङमा वा एभरेस्ट जे भए पनि हाम्रो सगरमाथा चुचुराले संसारको सबैभन्दा अग्लो चुचुराको रूपमा मान्यता पाएपछि यसको महत्त्व ह्वात्तै बढ्यो । संसारभरिका मान्छेहरू यो चुुचुरामा पुग्न प्रयास गर्न थाले । तर सधैँ असफलका असफल हुन्थे । हाम्रो सगरमाथा संसारभरिका मान्छेका लागि सपना भयो ।
तर सपनाको कथा धेरै वर्षसम्म रहेन । सन् १९५३ मा नेपालका तेन्जिङ नोर्गे र न्युजिल्याण्डका नागरिक सर एडमण्ड हिलारीले सगरमाथाको सफल आरोहण गरिछाडे । यसरी विश्वको सबैभन्दा अग्लो चुचुरो नेपालमा भएको मात्र होइन, सगरमाथामा सबैभन्दा पहिले पुग्ने नेपाली नै भएर विश्व कीर्तिमान कायम राखे । तेञ्जिङ नोर्गेले नेपालको झण्डा सगरमाथामा गाडेर फहराए ।
सोलुखुम्बुका कामरिता शेर्पा २४ पल्ट सगरमाथा पुगेका छन् । अक्सिजन नलिई आङ्रिता शेर्पा दशपल्ट सगरमाथा पुगेका छन् । जापानकी जुन्को ताबेई महिला सगरमाथामा पुग्ने पहिलो महिला हुन् । नेपाली महिला पासाङ ल्हामोले पहिलोपल्ट २२ अप्रिल १९९३ मा सगरमाथा चढेको कुराले हामी नेपालीहरूको हृदय गद्गद् हुन्छ ।
सन् २०१८ को सिजनसम्म ९१५९ पल्ट सगरमाथामा मान्छे पुगेका छन् । एकपल्ट सगरमाथा चढ्न एकजनालाई विदेशी एजेन्सीबाट चढ्यो भने प्रतिव्यक्ति सरदर ४५ हजार डलर लाग्न सक्छ । तर नेपाली एजेन्सीबाट हो भने २५ हजारदेखि ४० हजारसम्म लाग्छ । सरकारले एकजनाबाट सगरमाथा चढेबापत रोयल्टी ११ एघार डलर लिन्छ ।
त्यसकारण हाम्रो सगरमाथा हाम्रो गौरव हो है नानीबाबुहरू हो । यस्तो गौरवको कुरो हामीले जान्नुपर्छ है ।
तिमीहरूलाई माया गर्ने
अमेरिकाको हजुरबा
प्रकाशित: १५ श्रावण २०७७ १०:५० बिहीबार