चन्द्रमा पौडेल
आऊ नानी चरीजस्तै गाउन सिकाइदिउँला
छिरिबिरी पुतलीका नाना मागिदिउँला।
बारुलाको राम्रो घर तिमीलाई देखाइदिउँला
भमराको भुँभुँ आवाज तिमीलाई सुनाइदिउँला।
आऊ हामी फूलबारीमा फूल हेर्न जाऔँ
बगैँचामा गई मीठा फलफूल टिपी खाऔँ।
घरबारीमा ठूलाठूला घोगा फले मकै
मकै पोली खाजा खाऔँ बस्नु हुन्न भोकै।
फेरि आज गाईगोठमा गाई हेर्नुपर्छ
घाँस काटी खोले दिई थला सार्नुपर्छ।
सानो बाच्छो बाँबाँ गर्छ छाडा छोड्नु हुन्न
माली गाईले माया गर्छ त्यसलाई कुट्नुहुन्न।
उता फेरि बाख्रा खोरमा मने पाठा नाच्छन्
छाडा छोडे उफ्रिएर फूलका विरुवा भाँच्छन्।
काली बाख्री कराउँदै छिन् म्याँम्याँ गरेर
घोडाले नि बोलाउँदैछ हिनहिनाएर।
घरमा फेरि बिरालो र कुकुर भोकै होलान्
कहिले फिर्छन घरमा भनी बाटो ढुक्दै होलान्।
घरपालुवा जन्तु सबलाई माया गर्नुपर्छ
यिनको सुख यिनको दुख आफ्नै ठान्नुपर्छ।
प्रकाशित: १५ श्रावण २०७७ ०९:४४ बिहीबार