कला

रूपान्तरण

कविता

सञ्जीव पौडेल

हिजो समय थियो  

तिमी सङ्कटमा थियौ  

सुरक्षित आश्रय खोजिरहेका

तिम्रा आँखाले

मेरै स्याउले झुप्रो  

सुरक्षित दरबार देख्यो  

तिमीलाई वैरीबाट जोगाउन

म तिम्री आमा बनेँ।  

 

आज पनि समय छ  

हिजोका तिम्रा तिनै वैरी  

आज तिमीलाई भरपर्दो सुरक्षा दिइरहेछन्

तिम्रा तिनै आँखाले  

हिजोको मेरो दरबारलाई गोठ देखिरहेछन्

तिमी आफ्ना सुरक्षाकर्मीलाई  

मेरो दरबार (झुप्रो)जलाएर  

आगो ताप्न आदेश दिइरहेछौ।

 

आहा!

यसरी हुँदो रहेछ  

राज्यको रूपान्तरण

सायद,  

यस्तै देखे भोगेर होला

मेरी आमा उहिल्यै भन्थिन्  

‘समय निकै बलवान् छ छोरी!’

प्रकाशित: १५ श्रावण २०७७ ०७:४४ बिहीबार

अक्षर कविता