कला

प्रकाश सपुतका भाइ भन्छन् : सिर्जना गर्दा दाइको उचाइले सताउँछ

कोभिड–१९ को डरले मन अशान्त थियो। हरक्षण मनमा कुरा खेलिरहन्थ्यो। बन्दाबन्दीले वातावरण उकुसमुकुस बनायो। त्यही उकुसमुकुस भावनालाई कलाकार देवेन्द्र बब्लुले सिर्जनात्मक स्वरुप दिए। बन्दाबन्दीकै समयमा उनले लेखेको गीत ‘मुसुक्कै हाँस’ अहिले चर्चामा छ।

यसमा उनकै स्वर, शब्द र संगीत छ। उनलाई गायिका मेलिना राईले साथ दिएकी छिन्। गीतको भिडियोमा उनैले अभिनय गरेका छन्।  

उनले गाउँमै छँदा यो गीत लेखेका हुन्। लकडाउन सुरु हुनु भन्दा अघि उनी चलचित्र ‘परदेशी–२’ को सुटिङमा व्यस्त थिए। पोखरामा धमाधम चलचित्रको सुटिङ हुँदै थियो। यस्तो अवस्थामा काठमाडौं आउने कुरा पनि भएन। उनी पोखराबाट घरतिर लागे। दाई प्रकाश सपुत सँगै बागलुङमा लकडाउन विताए।  ‘गाउँमा जाँदा चाड मनाउन गए जस्तो भयो। लामो समय पछि परिवारसँग बस्दा निकै आनन्द भयो’, उनी अनुभव सुनाउँछन्, ‘तर एकरदुई महिना वित्यो। अनेक तर्कनाहरू मनमा खेल्न थाले। जीवनमा के नपुगे जस्तो भयो। यसरी मात्रै हुँदैन केही त गर्ने पर्छ भनेर केही गीत लेखें।’  

गीतमा बागलुङको भाषालाई शब्दमा उतारेका छन् उनले। गीतले मायाप्रेमको विषय समेटेको छ। टिपिकल भाकाको यो गीत धेरैको ओठमा झुण्डिएको छ। आफ्नै भूगोलका भाषासंस्कृतिसँग अझ नजिक भएकाले  लकडाउनका बीचमा गीत लेखेको उनले बताए।  

उनले दाजू प्रकाशसँगको सहकार्यमा सामाजिक विषयवस्तुका केही भिडियो सन्देश पनि बनाए जसमा उनीहरूले गाउँका कथालाई सार्वजनिक गरेका छन्। जातीय विभेदका कारण हत्या भएका, वर्गिय विभेद भएका समाचार हेर्दा, सुन्दा र पढ्दा उनीहरूलाई छटपटि भयो। त्यसैले उनीहरू सन्देशमुलक भिडियो निर्माणमा जुटे।  

‘कलाकार भएपछि समाजका हरेक पाटोमा चासो राखिदो रहेछ। लकडाउनको बीचमा थुप्रै घटना भए। मलाई पनि समाजमा हुने जातीय विभेदका घटनाले निकै छोयो। मन विचलित बनायो’, उनले भने, ‘त्यसैले दाजुभाई मिलेर सन्देशमुलक भिडियो बनाएका हौं।’ 

लकडाउनको भरपुर सदुपयोग गरे उनीहरूले। दाजू प्रकाशले पनि केही गीत लेखे, भाई देवेन्द्रले पनि। गाउँ र सहरबीच दूरी बढिरहेका बेला महामारीले गाउँसँगको सामिप्यता बढाएको उनको अनुभव छ। गाउँमा उनी खेतीपातिमा सक्रिय भए। साथै सिर्जनाको खेती पनि जारी राखे।

बागलुङ जिल्लालाई संगीतको उर्वर भूमि मान्छन् उनी। सिर्जनाको संगम पनि ठान्छन्। त्यसैले पनि बन्दाबन्दीको समयमा थुप्रै सिर्जना गरे। ‘आफ्नो माटोसँग गाँसिएका कुराले सबैलाई छुन्छ’, उनले भने, ‘म मौलिकतामा जोड दिन्छु।’  

दाई प्रकाश सपुतले नेपाली मौलिकता, नेपाली कथालाई समेटेर गीत बनाए। देवेन्द्र पनि यस्तै परिवेशमा हुर्किए। त्यसैको प्रभावले पनि उनलाई मौलिकता छोडेन। उनका पनि केही गीत सार्बजनिक भैसकेका छन्।    

उनको बाल्यकाल बागलुङको धम्जामा वित्यो। सानैदेखि सांगीतिक माहोलमा हुर्किए उनी। दाई प्रकाश गाउँमै छँदा गीत लेख्थे। नाटक लेख्थे। अनि घरैमै आमा र भाईहरूलाई पनि गाउन लागाउँथे।  

देवेन्द्र पनि स्कुले जीवनदेखि नै कविता लेख्थे। कार्यक्रमहरूमा नाटक लेख्ने र प्रदर्शन पनि गर्ने गर्थे। साथै दाईसँगै विभिन्न कार्यक्रममा सहभागी भइरहन्थे। गाउँ सिर्जनाको मुहान हो। मेलापात, वनजंगल, चाडपर्व आदि सिर्जनात्मक प्लेटफर्म हुन्। त्यसमाथि परिवारको सांगीतिक माहौलले उनलाई छपक्कै छोप्यो।  

दाईले रेडियोमा काम लगाईदिए। गीत गाउन पनि सुझाए। दाई प्रकाशको ठूलो गुन छ उनमाथि। ‘पहिलेदेखि घरमा सांगीतिक माहोल बन्थ्यो। आमाले पनि गीत गाउनु हुन्थ्यो। भजनकिर्तनमा बुबाले पनि मादल बजाएर गीत गाउनु हुन्थ्यो। आमासँग घाँस काट्न म पनि जान्थेँ। आमा मीठो गीत गाउनु हुन्थ्यो’, देवेन्द्र सम्झन्छन्,‘मलाई पनि कताकता गाउन मन लाग्थ्यो।’  

देवेन्द्र उच्च शिक्षा अध्ययन गर्न काठमाडौं आए। त्यतिबेला दाई प्रकाश काठमाडौंमा स्थापित भैसकेका थिए। पत्रकारितामा रुचि  भएका उनलाई दाजूले पनि पत्रकारिता नै पढ्न सुझाए।  

पत्रकारिता अध्ययन गर्दा उनमा संगीतको रन्को लागिरहन्थ्यो। तर, संगीतलाई नै पेशा बनाउने योजना बनिसकेको थिएन। ‘मैले यो चाहीँ गर्छु भनेर कहिल्यै योजना बनाईन। संगीतमै लाग्छु भनेर पनि सोचिन’, उनले भने।  

पत्रकारिता पढेकाले उनले रेडियो सगरमाथामा काम गरे। त्यस बीचमा ठमेलको एक रेष्टुराँमा गीत गाउन थाले। रेडियोमा काम गरिरहेका बेलामा उनको भेट नवराज बुढाथोकीसँग भयो। बुढाथोकी शैली थिएटरका अध्यक्ष हुन्।  

देवेन्द्रलाई थिएटरमा कहिले पुगौं र अभिनय गरौं भन्ने भैसकेको थियो। नवराजलाई भेटे पछि मन फुरुङ्ग भयो। नवराजले थिएटरमा बोलाए। थिएटरमा उनको संगत बाक्लियो। अब उनको दैनिकी फेरियो। बिहान थिएटर, दिउँसो रेडियो र बेलुका ठमेलको रेष्टुरामा व्यस्त।  

नाटक रुचिको विधा भएकाले बिस्तारै यसमै समय दिए। त्यसपछि रेष्टुराँमा गाउन छाडे। रेडियोमा पनि साताको एउटा कार्यक्रम मात्र चलाउन थाले। थिएटरलाई बढी समय दिए।    

थिएटरमै रमाइरहेका थिए उनी। उनले ‘माटोको फूल’ नामक नाटकमा काम गर्ने मौका पाए। प्रायः उनी स्टेज पछाडि बसेर  काम गर्थे। उनलाई नाटकको संगीतको जिम्मा दिइन्थ्यो।  

उनले सोहि नाटकका लागि ‘कसरी कसरी’ गीत लेखेका थिए। नाटक प्रदर्शन पछि दर्शकले रुचाए। उनमा संगीत पनि गर्न सक्ने रहेछु भन्ने आत्मविश्वास बढ्यो। ‘मलाई संगीत पनि आउने रहेछ तरु आफैंले आफैंलाई प्रश्न गरेँ’, उनी भन्छ्न, ‘मेरो दिमाग शून्य नै थियो। गीत गाउँछु भन्ने लागेकै थिएन।’

नाटकका दर्शकले उनको गीतलाई मन पराए। उनलाई त्यही हौसलाले थप गीत लेख्न प्रेरित गर्‍यो। त्यस लगत्तै उनले  ‘कसरी कसरी’ बोलको गीत सार्वजनिक गरे। गीतमा संगीत आफैं भरे। भिडियो निर्देशन र अभिनय पनि गरे।  

‘सपना विहिन काठमाडौं आएको हुँ। तर गाउँका स्कुल र कार्यक्रमतिर कविता, गीत, नाटक लेख्थेँ, गाउँथेँ। यद्यपी दिमागमा कुनै पेशामा लाग्छु भन्ने योजना थिएन’, उनले सुनाए। समयको कसिमा खारिँदै गए उनी। उनी कलाको संगम बनेका छन्। उनी गीत लेख्छन्, गाउँछन्, अभिनय गर्छन्, म्युजिक भिडियो निर्देशन गर्छन्, थिएटरमा समेत अभिनय गर्छन्।  

परदेशी–२ चलचित्रका उनी सह–निर्देशक हुन्। उनले करिब आधा दर्जन गीत लेख्नुका साथै अभिनय तथा निर्देशन पनि गरेका छन्।  

उनले दाई प्रकाशसँग मिलेर थुप्रै सिर्जना गरेका छन्। चर्चित गीत ‘बोलमाया’ र ‘गलबन्दी’को सह निर्देशक उनै हुन्। उनी भन्छन्– ‘बोलमाया पनि देशको यर्थाथतालाई समेटेर बनाइएको गीत हो। त्यसमा भिडियोले नेपाली समाजको कथा भन्छ। बोलमाया आफ्नै गाउँमा गाइने गीत हो। जसलाई दर्शकले मन पराईदिनु भयो।’  

पछिल्लो सयम गाउँघरका हाट–बजारमा गीत गाईँदैन। अचेल वैदेशिक रोजगारीमा जानेको संख्या बढेको छ। युवा अधिकाशं विदेशकै सपना देखिरहेका छन्।  

टेलिभिजन, इन्टरनेट मात्र हुँदा मनोरञ्जनका साधन भनेकै हाट बजार थिए। टेलिफोन नहुँदा चिठीको चलन थियो। ‘हाट बजार गीत गाइँदैन। त्यो बेला त्यसले संस्कृति जोगिन्थ्यो। अझ समाजसँगको आत्मीयता बलियो हुन्थ्यो’, उनी नोस्टाल्जिक बन्छन्।    

अहिले घरमै बसेर सामाजिक सञ्जाल हेर्ने। टेलिभिजिन र्हेने इन्टरनेट चलाउने समय आएको छ। गाउँमा सांस्कृतिक कार्यक्रम कम हुन्छ। उनलाई मौलिकता हराउँछ भन्ने उनालाई चिन्ता छ।  

सिर्जनात्मक कामका लागि दाई प्रकाशसँग देवेन्द्र निकट छन्। केहि नयाँ काम गर्न लाग्यो भने दाईले भाईसँग सोध्छन् भाइले दाईसँग।  

‘दाईसँग काम गर्दा निकै खुल्छु। तर अरुबेला खुल्न सक्दिन। डर लाग्छ’, देवेन्द्र भन्छन्, ‘परिवारमा पनि त्यति खुलेर बोल्दिन। त्यसैले मलाई दाइले गुनासो गर्नु हुन्छ। मेरो आदत नै यस्तै हो। मैले चाहिरहेको हुन्छु। तर भन्नै सक्दिन।’

दाईको नामले कतिपय ठाउँमा सजिलो र अप्ठ्यारो बनाउँछ उनलाई। दाईको उचाइले उनलाई कुनै पनि सृजनामा घोत्लिन बाध्य बनाउँछ। ‘मैले यस्तो सिर्जना गरेँ भने भोली कसैले केही भन्ने होकि भन्नेमा घोत्लिन बाध्य हुन्छु।’  

उनको बुझाईमा कलाकारिता एउटा कृषक हो। कृषकले जसरी एउटै बारीमा विभिन्न थरिका तरकारी उत्पादन गर्छ। कलाकार कलाकारिता भित्रको समग्र काम गर्न सक्ने ठान्छन्। कलाकारिताको कुनै पनि दायरा नहुने उनी बताउँछन्। अन्य पेशाव्यावसाय भन्दा कलाकारितामा धेरै सम्भावना देख्छन् उनी।  

संघर्षकै मैदानमा छन् देवेन्द्र। कामप्रतिको निरन्तर लगाव र समर्पणले खारिँदै छन् उनी। उनी आफ्ना सृजनामा बारम्बार घोत्लिन्छन् परिमार्जन गर्छन् र  बल्ल सिर्जना परिपक्व बनाउँछन् उनी ।  

नाटक र संगीतमै रमाउँछन् देवेन्द्र। ‘संगीतमा आनन्द आउँछ।जीवनको अनन्तकाल सम्म संगीतमै रमाउँछु’, उनी भन्छन्, ‘अभिनय गर्न पनि मज्जा लाग्छ । नाटकलाई पनि सँगै लैजान्छु।’

प्रकाशित: १४ श्रावण २०७७ १०:३४ बुधबार

प्रकाश सपुत सताउँछ