अच्युत घिमिरे
बाबू प्रजावस्ती जाने बाटो यही हो
निधारमा हत्केला अड्याएँ एकछिन
हो बा , यही बाटो हो प्रजाबस्ती जाने
मैले उनको अनुहार हेरेर भनेँ
त्यो अनुहार यसअघि
मैले कहिल्यै देखेको थिइनँ
झन्डै सत्तरी वर्ष नाघेका
एउटा बूढो मान्छे मेरो अगाडि थिए
मैले निकैबेर हेरेँ
खण्डहर भैसकेको एउटा सपनाजस्तो
उनको आकृति
र सोधेँ
किन जानुहुन्छ बा प्रजाबस्ती ?
उनले भने
साहूको तमसुकमा वन्धकी भएको
घरबारी त्यही छ
मेरा पसिना त्यहाँको माटोमा पोखिएका थिए
अनेकौँ सपनाका पोकाहरु
मूल ढोकाको छेवैमा राखेको थिएँ
हेर्नुु छ मैले
जतनसाथ राखेका मेरा रहरहरुलाई
त्यही भएर जान आँटेको बाबू ।
तपाईको नाम के हो बा ?
मैले सोधेँ
राउत दाइ भन्थे मान्छेहरु
उनले भने
बाबाले भनिरहने कथाको एउटा पात्र
मैले आँखामा सजाइरहने बूढो बिम्ब
तिनको चाहुरिएको अनुहार
एउटा सुन्दर सपनाको खोजीमा हिँडिरहेको छ
अब त मान्छेले पनि बिर्सिसके होलान्
प्रजाबस्ती
र बाटोमाथि उभिएर
पुरानो ठेला सुम्सुम्याउने राउत दाइलाई
यी दुवै
बलिया मिथक भएर मेरा अगाडि उभिएका छन् अहिले
समय कति टाढा पुगिसकेछ अब
पुराना कुरा कथा बनिसकेका छन्
समयसँगै फेरिएका मान्छेका अनुहारहरु
फेरिएको यस गाउँको नाम
कृतिमताले ढाकिसकेको यो माटो
कुनै सौन्दर्य नबोकेका
पुड्का रुखबुट्यानहरु
चराका सड्.गीत धून सुनिन छोडेछन्
मुस्कान बोकेर फूलहरु हाँस्न छोडेछन्
खै केटाकेटीसँग जिस्कँदै हिँड्ने पुतलीहरु ?
गाउँ , गाउँजस्तो थिएन अब
राउत दाइ अझै त्यो पुरानो गाउँ खोज्दै हिँडिरहेका छन्
र सत्य भनिदिएँ मैले उनलाई
राउत दाइ
तपाईले खोज्नुभएको त्यो स्वर्ग
अब कहाँ पाउनु र यहाँ
तपाईका रहरहरु अब भेट्टाउन सक्नु हुन्न
सुन्दर सपना बोकेर अब हिँड्न सक्नुहुन्न
राउत दाइ
यो गाउँ तपाईले खोज्नुभएको गाउँ होइन ।
प्रकाशित: १३ श्रावण २०७७ १०:४७ मंगलबार