कला

मान्छेहरूका कथा

कविता

ललिता ‘दोषी’  

   

पूजारी हुँ कलमको म

सकूँ लेकबेंसी ब्युझाउँन  

प्रत्येक कुनाकन्दरामा

दिव्य ज्योति चम्काउन

 

नरोकुन् पाइतलाहरू मेरा

मरुभूमिमै पनि हिँडिरहूँ

गुराँस बनेर राष्ट्रको  

म सधैँ फुलिरहूँ

 

हिमाल हाँस्दाको खुसी अरकै

विधुवा रुँदाको पीडा पनि

लेखिरहोस् सधैं कलमले  

न अडियोस् यो कुनै घडी

 

हर्के दाइको मिलन लेखौं  

भुन्टीका खुसीका क्षणहरू पनि

वसन्तका उन्माद लेखौं

शिशिरका पलहरू पनि

 

लेख्दालेख्दै जलूँ चितामा  

मिलनबिछोडको गीत त्यो  

हाँसो रोदनमै अलमलिएका

मान्छेहरूका कथा यो ।  

प्रकाशित: १३ श्रावण २०७७ ०७:२६ मंगलबार

जूनकीरी