कला

सुन न झरी... !

बाललेख

अमित भण्डारी  

तिम्रा पनि त धेरै रूप छन नि हैन ? कसरी मन पराउनु तिमीलाई । तिमी नै भन न । तिमी नभई पनि म बाँच्न सक्दिनँ । तिमीले धेरै माया गरेर सुम्सुम्याउने गर्दा पनि म बाँच्न सक्दिनँ । किन थाहा छ ? तिम्रो रूप नै विचित्रको छ । कहिले म तिम्रो सम्मोहनमा लट्ठ हुन्छु कहिले तिम्रो उग्र लीलामा समाधिस्थलमा पुग्छु ।

प्रिय झरी, तिमी नभई पनि म बाँच्न सक्दिनँ । तिमी बर्सिरहदा पनि मलाई जोखिमताको डर छ । हुन त यहाँ तिम्रो शीतलतामा संसारकै सगुन छ है र ?.. तर तिम्रो अर्को रौद्र रूप पनि त छ । तिमी कतै बाढी भएर उर्लिन्छौ त कतै पहिरो भएर बगिदिन्छौ । तिमी नै सम्झन न झरी, जहाँ न त चामल छ न नून छ ।

म पुग्न चाहेर पनि त त्यहाँ झट्ट पुग्न सक्दिनँ । किन थाहा छ ? तिम्रो रौद्र रूपले मलाई सोरपटार पारिदिन सक्छ । त्यसैले म यता रमाइरहेछु एक्लोपनभित्र बसेर । यो एकांकीपनभित्र न बाहिरी दुनियाँको न कतै डर छ न जोखिमता उठाउनु नै पर्छ । उता फेरि बस्नुपर्ने छ कैयांै विचराहरूले एक्लै भएर । जहाँ न कसै को भर छ न बिचराहरूको घर छ ....।

उसका नि अनेक रूप थिए उसले पनि धोका दिएकै हो ! त्यही ईश्वरको कुरा गरेको हो मैले । जसले सुरुवातमा वसन्तका रंगीन सपनाहरू देखायो र अनायसै आफै बन्यो ती सपनाहरूको कातिल...। त्यसैगरी तिम्रा पनि त अनेक रूप छन् नि । पुग्यो अब मेरा आँसुहरू लुकाउन । ती नदीहरूलाई आफ्नै सुरमा बग्न देऊ, मेरा पहाडमा बस्ने भाइहरू त्रसित छन् तिम्रो अर्को रूपले ।  

तिमी तराईतिर घुमी आऊ यतिन्जेल गाउँमा रोपाइँ गर्छौ हामी । आमा बूढी भैसक्नुभो । सुक्खा खेत खन्न गाह्रो भइरहेको छ । तिमीले सजिलो गराइदिनु ! कुनै दिन म फेरि बोलाउने छु तिमीलाई । जुन दिन फेरि मेरो मुटुमा आगो लाग्ने छ । मेरा आँसुहरू तिम्ले लुकाउनुपर्ने छ । तर, अहिलेलाई मेरो बिन्ती मानिदेऊ न है ।  तिमीलाई अरू कसैले आरोप लाएको देख्नु नपरोस् । ती पत्रिकाहरूमा तिमी भोलि खुनी बनेर आउनु नपरोस् । यस्तो कुराले मन दुख्ला नि है तिम्रो पनि । बिन्ती छ झरी मेरै निम्ति भए पनि अहिले जाऊ । म सम्झिरहने छु मेरी झरी तिमीलाई, म अन्तस्करणदेखि नै सम्झिरहन्छु ।  

– उही तिम्रो अमित

प्रकाशित: १२ श्रावण २०७७ ०६:३५ सोमबार

जूनकीरी