कला

मुण्डन

कथा

सञ्जु बजगाईं ।

सञ्जु बजगाईं

‘फुलेको कपालबाट छुटकारा पाउने एउटै उपाय– हिमालयन हेयर कलर !’

कपाल रंगाउने रंगको यो व्यापारिक विज्ञापन घरको बरण्डाबाट हेर्दा केही परको दूरीमा देखिने होर्डिङ बोर्डमा झिलिकमिलिक गरको एक महिना हुनलाग्यो । हरेक साँझ नियोन बल्बको रंगीन उज्यालोमा चम्किने त्यस बोड भित्रझिलिक्क गर्दा एउटी आइमाई सेतै फुलेको जिङ्ग्रिङ्ग कपालमा देखिन्छे । फेरि मिलिक्क गर्दा त्यही आइमाई कालो, बाक्लो र चम्किलो कपालमा अत्यन्तै सुन्दर र तरुनी भएर देखिन्छे ।

‘बाफ रे ! कपाल फुलेपछि त घिनलाग्दै देखिने रहेछ ।’

धेरैदिनदेखि देखेर होला त्यो विज्ञापनमा देखिने कपाल फुलेकी आइमाईको आकृतिले आफैंलाई मानसिक रूपमा कमजोर बनाउन  खोजेको हो कि जस्तो लाग्न थालेको छ । पूँजीवादको पञ्जामा फसेर होर्डिङ बोर्डका सस्ता विज्ञापनहरू सहन थालेको मेरो समाजले आइमाईको फुलेको कपाललाई सधैं घृणाकै दृष्टिले हेर्न सक्ने संभाव्यतासँग सशंकित पनि हुन थालेकी छु म ।

म त्यही समाजकी आइमाई हुँ । अहिले मेरो शिरको कपाल फुलेर सेतै भएको छ । मलाई ‘क्यानिटीज’भएको होइन । ‘क्यानिटीज’ले युवा अवस्थामै कपाल फुलाएर धेरैलाई चिन्तित बनाइदिन्छ । म चिन्तित छैन । मलाई त्यो विज्ञापनमा देखिने लामो, कालो र बाक्लो कपाल भएकी तरुनीझैं देखिनु छैन । मान्छेको ढल्किएको उमेरसँगै हुर्किएको उसको परिपक्वताको विशिष्ट सूचक शिरभरि फुलेका सेता कपालभन्दा अरू केही हुँदैनन् भन्ने मलाई पूर्ण विश्वास छ । त्यसैले म विचलित हुन चाहन्न ।

‘यो समय त अनेकौं परीक्षण खेपेर यो विन्दुसम्म आइपुगेको मेरो जीवनलाई उत्सवमय बनाउने समय होइन र ?’

म होर्डिङ बोर्ड बिर्सन्छु र शिरका कपालका त्यान्द्रा सुम्सुम्याउँदै आध्यात्मिक हिसाबले विचार गर्छु । लाग्छ– मेरा शिरका सेता कपालका त्यान्द्राहरू शरीरको अन्तरत्वक कोषबाट उम्रिएका ‘प्रोटिन फिलामेन्ट’ मात्र होइनन् । यी त मैले आजसम्म सिकेका, देखेका, भोगेका, अनुभव गरेका अनेक कुराहरूका जीवन्त दस्तावेज हुन्। आरोह–अवरोहका श्रृङ्खला हुन् । पाउनु र गुमाउनुको सन्तुलनमा बाँच्न सिकाउने धैर्यका प्रतीक हुन् । वास्तवमा मेरा लागि त जीवनको पूर्णता नै यी सेता कपालका त्यान्द्रा हुन् ।

‘उसो भए म के यो जीवन र जगतलाई पहिलेभन्दा भिन्न गरी बुझ्न सक्ने भएकै हुँ त?’

सोचको गति हुन्छ भनेझैं म आध्यात्मिक विचार लगत्तै भौतिक विचरण गर्न पुग्छु। लाग्छ– मेरो शिरको कपाल फुल्नु भनेको मेरो शरीरका कोषिकाहरू थाक्दै आएका भन्ने पनि त हो । सेताम्य फुलेका कपालले अब मेरो शरीरको डिएनए बिस्तारै नष्ट हुँदै जाने तर्खरमा रहेको संकेत गरेको पनि हुनसक्छ ।

‘यदि त्यसो हो भने  डिएनए नष्ट हुँदै जाँदा मलाई क्यान्सर लाग्छ त? अब के म मृत्यु अर्थात् जीवनको अन्त्यतिर आइपुग्न लागेकी हुँ ?’ प्रश्नैप्रश्न थोपरिँदा यो भौतिक विचरण भने आफैंलाई चेतावनीमूलक लाग्छ।

मान्छेको जन्मसँगै मृत्य अपरिहार्य छ भन्ने ज्ञात हुँदाहुँदै म त्रसित भएर भौतिक विचरणबाट शाब्दिक अर्थ खोज्नतिर लाग्छु । लाग्छ– प्रकृतिले सृष्टि गरेका अनेकौं वनस्पतिहरूको फुल्ने प्रकृतिमा त स्वतन्त्रता भेटिन्छ । उत्साह भेटिन्छ । पत्रपत्र मिली मुस्कुराएर फुलेका अनगिन्ती थुँगाहरू भाइचाराको उत्कृष्ट उदाहरण देखिन्छ । एकमाथि अर्को पत्रले थिचिएका फूलका पत्रपत्रमा अनन्त सहनशीलता र मेलमिलाप भेटिन्छ ।

गमलामा फुलेका फूल, करेसामा फुलेका फूल अनि बगैँचामा फुलेका फूल ! डाँडापाखा, भीरपहरा, उद्यान, तालतलाउतिर फुलेका फूल !! जहाँसुकै फुलेका हुन् तर फुलेका फूलहरूले मान्छेलाई क्षणिक र दीर्घकालीन दुवै खुशी दिन्छन् । उत्साह र उमंग दिन्छन् । त्यसैले त यी सबैखाले फूलसँग मान्छेको मोह निरन्तर छ ।  

शाब्दिक अर्थमा भने फुल्नु शब्द आफैंमा विशिष्ट पाउँछु । न द्वेष न हानि ! मात्र सुन्दरता !!

म अन्तिम निष्कर्षमा पुग्नुअघि भौतिक, आत्मिक र शाब्दिक तिनै कोणलाई दाँजेर केहीबेर मनन गर्छु । लाग्छ –जन्म दिने प्रकृतिले मान्छेको बुढेसकाललाई जैविक यथार्थको एउटा अध्यायको रूपमा प्रस्तुत गरेको छ जसको शुरुवात गर्भबाट भई मृत्युमा पुगेर अन्त्य हुन्छ । कपाल फुल्नु त्यही जैविक यथार्थको एक खण्ड हो । यही नै प्रकृति हो, जो अकाट्य छ ।  

‘मैले प्रकृतिको विपरीत जान मिल्दैन । मैले फूलझैं हुनुपर्छ । सेतै भएर शिरभरि फुल्ने कपाललाई मैले फुल्न दिनुपर्छ ।’ अन्ततः म निर्णयमा पुगेँ र शिरमा फुलेका सेता कपालका त्यान्द्राहरूलाई सेतै छोड्ने अठोट गरेँ ।

‘म नै जीवन हुँ, जीवनको बाटो र यात्री हुँ ।’

मैले होर्डिङ बोर्ड बिर्सिएँ । म आफ्नो निर्णयमा दृढ रहेँ । मेरो व्यक्तित्वसँग जोडिने कुनै पक्षलाई फेरबदल गरिन । यसैबीच बजारबाट मेरो दृढतालाई तोड्ने उत्प्रेरक बनाएर हिमालयन हेयर कलरको झोला ल्याइयो । ड्रेसिङ टेबलमा राखेको त्यस झोलाभित्रको रङको बट्टा मेरो दृढताभन्दा धेरै अस्थिर देखिन्थ्यो । मैले भने जीवनको  उत्तरारद्धमा सेताम्मे फुलेर बाँच्नु नै मेरो धर्म हुने ठानेकाले त्यसलाई खोलेर हेर्ने सोचसम्म मैले बनाएकी थिइन् ।

आफ्नो धर्म थाम्न त्यस बट्टाले त खुल्नु थियो । रसायनिक घोलमा घुल्नु थियो । कसैका सेता कपालका त्यान्द्राहरूमाथि तरल भएर पोखिनु थियो र चम्किलो देखिनु थियो । चम्किनुमै त्यस निर्जीव वस्तुको उत्पादनको अर्थ र अस्तित्व दुवै समाहित थियो भन्नेमा कुनै सन्देह थिएन ।

‘तर, म के त्यो बट्टाझैं निर्जीव हुँ ? के मेरो अस्तित्व त्यसैको चम्काइसँग जोडिएको छ   त ?’

‘छैन । म चेत भएकी मान्छे हुँ । न निर्जीव हुनसक्छु न त मेरो अस्तित्व कुनै निर्जीव वस्तुसँग जोडिएको छ ।’

मलाई आफ्नै चेतनाले आफ्नै मन मन्थनसँग सहमत हुन दिएन।

म बजारका बट्टाबाट फुत्त निस्किएकी होइन । म रङझैं बजारका बट्टाहरूमा कैद छैन । मैले बट्टाभित्र कैद भएका निर्जीव वस्तुहरूलाई मेरो जीवनमा विभाजक हुने मौका दिन थालेँ भने आफ्नो महत्व त शून्य हुन जान्छ । म शून्यमा झर्न चाहन्न । मलाई प्रकृतिले सृजना गरेको हो । प्रकृतिको नियमसँग बाँधिनु नै मेरो कर्तव्य हो । यसर्थः मैले त्यो बट्टाको उपस्थितिलाई  पूर्णतया उपेक्षा गरिदिएँ ।  

निर्जीव वस्तुको उपस्थितिलाई उपेक्षा गर्न जति सहज हुन्छ उति सहज सजीव मान्छेको हठलाई उपेक्षा गर्नमा हुँदैन । यो कुरा मलाई राम्रोसँग थाहा थियो । मान्छे आफ्नो सोच, विचार, इच्छा, आकांशाका मामलामा एकदमै हठी हुन्छ । त्यस्ता हठहरूको घर्षणबाट निस्किएका असजिला परिस्थितिको अनुभव मनग्गे छन् मसँग । मसँग मात्र होइन, लज्जा नभएका पुरुष हातहरूबाट कैयौं पटक स्वयं तानिएका यी सेता कपालका त्यान्द्राहरूले पनि मेरा असजिला परिस्थितिहरू देखेका छन् ।

मेरो विगत जे थियो, त्यो बितिसकेको छ । मैले वर्तमानलाई स्वीकारेर अगाडि बढ्नुपर्छ । आफूले बाँचेका हरेक पलको साक्षी हुँदै यहाँसम्म आएका मेरा कपालका त्यान्द्राहरूको फुल्ने प्राकृतिक हक कसैको सन्तुष्टिका लागि खोस्न मिल्दैन । मैले आफ्नो उमेरअनुरूपको शारीरिक परिवर्तनका विषयमा कसैलाई बिज गणितीय सूत्रको प्रयोग गरेर मेरो ‘भ्यालु’ पत्ता लगाउने अवसर दिनु हुँदैन ।  

मेरो शिरमा सेताम्यै फुलेका कपालका त्यान्द्राहरू अभेद्य सत्य हुन् । सत्य ढुंगाजस्तो कडा र फूलका पत्रझैं कोमल पनि हुन्छ । जीवनको यस विन्दुमा म अपेक्षा गर्छु यो सत्यलाई फूलझैं कोमल मानियोस् र सम्मान गरियोस् । यही धारणाका साथ सम्झौताको सुन्दरतालाई स्वीकार्न सिकेको मेरो सीप फेरि एकपटक आफ्नै कपालका त्यान्द्राहरूलाई सेतै राख्नमा प्रयोग गर्ने भएँ ।

दोस्रो हप्ता पनि कपाल रंगाउने रङको बट्टा मेरो कोठाको ड्रेसिङ टेबलमाथि नै थियो । यसको स्थायित्वले मलाई चेतावनीका संकेतहरू दिन थालिसकेका थिए। यद्यपि ती चेतावनीले मलाई खासै असर गरेका थिएनन् । म फुलेका कपालका त्यान्द्राहरूलाई टाउकामा श्रीपेचझैं सजाएरै अफिस गइरहें । बजारमा किनमेल गर्न जान छोडिन । मन्दिरमा भगवानको दर्शन गर्न गइरहेँ । छिमेकीसँग बोलचाल गर्न छोडिन । कहिले कपाल बाँधेर त कहिले खुल्लै फिजाएर घरका कोठा–चोटा र तलमाथि गरिरहेँ । मलाई यसरी मेरा सेतै फुलेका कपालका त्यान्द्राहरूलाई आत्मसन्तुष्टिका साथ स्वीकारेर बाँच्दा आफैंमा सशक्तीकरण र प्रामाणिकताको आभास हुन थालेको थियो ।

यही क्रममा एकदिन मलाई ‘टाउकामा सेता कपाल फुलाएर कहिलेसम्म कुरूपताको प्रदर्शन गर्ने’ भनेर प्रश्न गरियो ।

यो प्रश्नसँगै मेरा आँखामा होर्डिङ बोर्डमा देखिएकी जिङ्ग्रिङ्ग कपाल फुलेकी घिनलाग्दी आइमाईको आकृति खेल्न थाल्यो । कुरूपताको सांकेतिक परिभाषाभित्र मैले त्यही आइमाईलाई भेटेँ र सोधिएको प्रश्नको उत्तर उसैमा खोज्न थालेँ ।  

‘भोलिसम्ममा त्यो बट्टाको रङले सेतो कपाल रंगाइसक्नु । दोहोरयाएर भन्नु नपरोस् ।’ मैले जवाफ दिन नभ्याउँदै यस्तो आदेश आइसकेको थियो ।

प्रश्नसम्म त  थियो तर आदेश भने पाच्य भएन मलाई। सायद फुलेर सेताम्ये भएको मेरो टाउको अब आदेश स्वीकार्न नसक्ने विन्दुमा पुगिसकेको थियो या भनौ, मेरा सेता कपालका त्यान्द्राहरूले मैभित्रबाट खोजेर आदेशको घृणा गर्ने एउटा अलग्गै मान्छेको विकास गरिसकेका थिए जो म जन्मिदा वंशानुगत रूपमा लिएर आएकी थिइन ।

नीतिगत हिसाबले सोचेँ । लाग्यो, एक मान्छेको नितान्त व्यक्तिगत विषयमा अर्को मान्छेले आदेश दिनु न्यायसंगत नै होइन । त्यसमाथि मेरो शिरका सेता कपालका त्यान्द्राहरूले न व्यक्ति, न सामाज, नत राष्ट्र, कसैलाई नोक्सानी पुरयाएको छैन । फेरि आदेश किन ?

‘बिच्छीको विषलाई सर्प मार्न छोडिदेउ !’ मलाई एकाएक अरबी उखानको स्मरण भयो ।

म अब बिच्छीको विषबाट मर्ने सर्प हुन चाहन्थे । त्यसैले पाएको आदेशको अवहेलना गर्दै शिर उँचो पारेर भने, ‘मेरो टाउकोका कपालहरूको फुलेर सेताम्मे हुने प्राकृतिक अधिकार म खोस्न सक्दिन । म मेरो शिर सेतै राख्न चाहन्छु । रंगको बट्टा जहाँबाट किनेर ल्याइएको त्यही लगेर पैसा फिर्ता लिइयोस् ।’  

म अर्थात् टाउकामा फुलेका कपालले घर बनाइसकेकी मान्छेको यस्तो आत्मविश्वाससहितको जवाफको अर्थबोध आदेश दिनेका लागि विद्रोहबाहेक केही थिएन । प्रतिकारस्वरूप मेरो सुन्दरताको नापतौल गर्दै मलाई धम्कीको भाषामा भनियो ‘कुरूपता छोडेर सुन्दरता खोज्न बाहिर जाने परिस्थिति नजन्मियोस् । लुकाउन नमिल्ने कुरूपतामा कसैको केही लाग्दैन तर त्यो टाउकोको सेतो कपालले दिएको कुरूपता लुकाउन मिल्छ ।’  

बाहिरै जानसक्ने संभाव्यता देखाउँदादेखाउँदै पनि मेरो निरन्तर मतान्तरले मानहानिको आँधी ल्याउने कुरा निश्चित थियो । त्यो आँधीको निश्चिततालाई स्वीकार्नु आफैंमा घातक थियो तर पनि यसपटक म रोकिन सकिन र निर्धक्क हुँदै प्रश्न गरें, ‘छल गरेर सुन्दर देखिनु आफ्नै आत्मसम्मानको बेइज्जत गर्नु होइन र ? अनि त्यस्तो झूटो सुन्दरताको पछि तानिनु आफ्नै विवेकको खिल्ली उडाउनु होइन र ? फेरि सेतो रंगलाई कुरुप भनेर कसले परिभाषित गर्यो ?’  

यी प्रश्नमा मात्र सीमित भइन म । जे गर्न मन छ त्यही गर्नुको आशय व्यक्त गर्दै मैले थपें, ‘त्यस्तो सुन्दरताको खोजीमा निस्कनेलाई रामराम मात्र भन्न सकिन्छ काँध थाप्न सकिन्न ।’

मेरो यो अभिब्यक्तिको फलस्वरूप मेरो व्यक्तित्वलाई लिएर अप्रिय शब्दहरू बोलिए । क्रूरतापूर्वक मेरा नाडी अँठ्याइए । रंगको बट्टामाथि मेरा दुवै हत्केलाहरू बजारिए । त्यतिले मात्र संतोष नमिलेर मेरो टाउकोका सेता कपालका त्यान्द्राहरू समेत निर्दयतापूर्वक तानिए । त्यस तनाइको छुटकारा पाउन प्रयत्नरत मेरो पूरै शरीर कोठाको कार्पेटमाथि घिसारियो । मलाई निरीह बनाएपछि मात्र बन्द कोठाभित्र चलेको मर्यादाहीन आँधी बाहिरियो ।

यसपटक मेरो हृदय रत्तिभर धरमराएन ।

मलाई झलक्क सन् अठारसय अन्ठानब्बेतिरकी कस्तुरी बाईको कथा स्मरण भो । ‘क्लार्क’ को काम दिएर घरमा राखेको एक इसाई धर्मालम्बी पुरुषको कोपरा सफा गर्नुपर्र्नेे गान्धीको आदेश नमानी प्रतिवाद गर्न खोज्ने आफ्नै श्रीमती कस्तुरी बाईलाई गान्धीले पाखुरामा समातेर घिर्सादै घर निकाला गर्न खोजेका हैनन् र ?‘महात्मा’उपाधि पाएको पुरुषले त्यसरी जग हालेको पूर्वीय समाजमा पुरुषको आदेश उल्लङ्घन गर्नु सहज विषय नै होइन ।  

धत्, मेरो समाजमा गान्धीको पुरुषत्वलाई निरन्तरता दिने पुरुषको कमी के हुन्थ्यो ! हुन त यस्ता पुरुषको पनि उत्पत्ति खोतल्दै जाने हो भने आधारभूत उपस्थिति त बाँदर हो । हनुमान हुने या बाँदरै रहने भन्नेचाहिँ उसकै वरणाधिकारले निर्धारण गर्दछ । मैले यसमा चित्त दुखाउन चाहिन ।  

‘केही पुरुषहरूले बाँदरभन्दा माथि उठेर सोच्न नसक्नु उसकै दुर्भाग्य !’

आफैलाई सान्त्वना दिदै त्यस दुःखद क्षणका लागि यिनै शब्दहरूभित्र मैले फेरि एकपटक सम्झौताको सौन्दर्य भेटेँ । यसपछि कपालका सेता त्यान्द्रा तानिनुमा शारीरिक पीडा भए पनि मनमा दुःख बिलकुलै लागेन ।

नढाँटी भनूँ त मलाई आजभोलि  मान्छेको इतिहासमा लेखिएका गान्धीभन्दा धार्मिक ग्रन्थमा देखाइएका पाण्डवहरू उत्तम लाग्न थालेका छन् । युधिष्ठिरले द्रौपदीलाई जुवामा हार्नुको परिणामबाट लज्जित भएका पाँच पाण्डवहरूले दुर्योधनको छातीको रगतले आफ्नो कपाल नधोएसम्म चुल्ठो नबाटी कपाल खुल्लै छोड्ने र विवाहको प्रतीक चूडामणि पनि  शिरमा नसजाउने भन्ने द्रौपदीको प्रतिज्ञालाई सम्मान मात्र गरेका थिएनन् । बरु उनको प्रतिज्ञापूर्ण गराउने बाचा समेत गरेका थिए ।

‘के पाण्डव पूर्वीय समाजका पुरुष पात्र थिएनन् ? द्रौपदीमाथिको आफ्नो हक र उपस्थितिको प्रतीक चूडामणि   नलगाउने कठोर प्रतिज्ञामा किन आफ्नो मानहानि देखेनन् ? के त्यस्ता पराक्रमी पुरुषहरू गान्धीले खनेको बाटामा हिंड्ने अहिलेका सामान्य पुरुषहरूभन्दा कमजोर थिए त ? के पाण्डवहरूले एक अवला द्रौपदीलाई जगल्ट्याउँदै खुला कपालको चुल्ठो बाँधेर चूडामणि लाउने आदेश दिन सक्दैनथे त ?’ आफैसँग प्रश्न गर्छु म ।

‘अवश्य सक्थे ।’ मेरो प्रश्नको उत्तरमैले मात्र होइन, सबैले सजिलै दिन सक्छन् । तर द्रौपदीलाई आदेश किन दिएनन् भनेर प्रश्न गर्न सिंगो समाज गाह्रो मान्छ ।  

मेरो वर्तमान समाजमा धर्म स्थापनार्थ पाण्डवहरू आउने छैनन् । कुनै देवदूत पनि आउने छैनन् । म  धन, शक्ति र विद्या माग्न मात्र देवीलाई पुज्ने स्वार्थी समाजमा जन्मिएकी हुँ । देवी त परै जावोस् ! यहाँ आफ्नो इच्छाअनुसार व्यक्ति मात्र भएर जीवनको गन्तव्यसम्म पुग्ने अधिकार मलाई दिइएको छैन । म आदेशको ओतमुनि बाँचिरहेकी छु ।

‘मैले त्यो ओतबाट निस्कने कष्ट गर्नुपर्छ ।’

म घिसारिएको कार्पेटबाट उठेँ । लामो श्वास फेरेँ । बाथरुममा गएर चिसो पानीले मुख धोएँ । पुरुषत्वको अंहकारी हातहरूबाट तानिएर लज्जित भएका मेरा कपालका सेता त्यान्द्राहरूलाई प्रेमपूर्वक समेटेँ र बलियो जुरो कसेँ । घर बस्दा जुन लुगा लगाएकी थिएँ तिनैलाई मिलाएँ र ड्रेसिङ टेबलमाथिको रङको बट्टा टिपेँ । त्यसैको छेवैमा भएको हाते ब्याग च्यापें र घरबाट निस्किएँ ।

सडकमा गाडीहरूको भीड थियो। सडक किनारामा मान्छेहरूको भीड गाडीकोभन्दा कयौं गुणा बढी थियो । एकातिर मान्छे, अर्कोतिर गाडी !एउटै सडकलाई बाँडेर आआफ्नो धर्म थामेर हिडिँरहेका मान्छे र गुडिरहेका गाडीको प्रकृति भने फरक देखेँ । मान्छे फ्याक्ट्रीमा बनेको गाडी जस्तो होइन, जो हरेक विषम परिस्थितिको समाधानार्थ हाते किताब र केही औजारहरू साथमै लिएर आउँछ । मान्छेले त विषम परिस्थितिमा आफ्नो अस्तित्वको रक्षा गर्न स्वयं ज्ञान र शक्तिको सञ्चय गर्नुपर्छ ।

हाते किताब भएका गाडीहरू देखेर ईष्र्याले आफैंभित्र खुम्चिदै सडक किनारैकिनार हिँडिरहेँ म ।  

‘जीवनको हाते किताबसँगै लिएर जन्मिन पाएकी भए म पनि यो झन्झटमै पर्ने थिइन  नि !’ यस्तै सोचेर हिँड्दाहिँड्दै बाटोको एक कुनामा फोहोर फाल्ने खिया लागेको फलामे टोकरी देखेँ अनि हातमा झुण्ड्याएको रङको बट्टालाई त्यही घिनलाग्दो टोकरीमा मिल्काएँ । हात हलौं दभो । सहज अनुभुति भो । भारी, अल्झाउने र बिझाउने कुराबाट छुटकारा पाउँदाको आनन्द अहिले बल्ल अनुभव गरेँ मैले ।

‘बिलास बार्बर’ करीब बाइस मिनेट हिँडेपछि खुइलिएर बूढो देखिएको साईनबोर्ड देखेँ । मेरो गन्तब्य त्यही थियो ।

बाह्र वर्ष पुग्न लागेछ यो बोर्डलाई नदेखेको । छोराछोरी दशबाह्र वर्षका हुँदासम्म यहीँ ल्याएर कपाल कटाउने गरेको संझना आयो । कपाल काटिसकेपछि लुगामा झरेका कपालका ससाना टुक्राले घोचेर कस्तो रिसाउँथे केटाकेटी ! फकाउँदै हतारहतार घर लगेर नुहाइदिएपछि भने ढुक्क हुन्थ्यो । ती दिनका दौडधूप संझिएँ ।

‘दिदी, नमस्ते । यति धेरै वर्ष नदेख्दा हामीलाई त बिर्सिहाल्नुभयो भनेको ।’

बिलास भैयाको आवाज सुन्दा छक्क लाग्यो । उस्तै रहेछ । आवाजमा उही मिठास । उही चटक्क पारेर कोरेको कपाल । उही हँसिलो अनुहार ।  शिरको कपाल फुलेको देखेँ ।

‘त्यति लामो सम्बन्ध कसरी बिर्सन्थेँ ।’ उसको फुलेको कपाल हेर्दै बोलेँ म ।

‘दिदी अरे, आज कसरी आउँनु भो ? ल यता बसिहाल्नुस् । तपाईंले पहिले बस्ने गरेको कुर्सी यही त हो ।’ बिलासले पुरानो कुर्सीतिर देखाउँदै बस्ने आग्रह गर्यो ।  

त्यही कुर्सी । त्यही कुनो । म कुर्सीमा बसेर केटाकेटीको पालैपालो कपाल काटेको हेर्थेँ । छोरी उसको अगाडिको ठूलो ऐनामा मलाई देखेर मुसुक्क हाँस्थी । बिलासको यो सैलुनले मेरा ती पुराना दिनहरूलाई ताजा गरिदियो । निकैबेर गफियौं बिलास र म । उसले मेरा सबै छोराछोरीका बारेका सोध्यो । उनीहरुको प्रगति सुनेर खुशी भयो । उसका छोराका बारेमा पनि सुनायो । समयको गति पत्याउन नसकेर क्षणभरका लागि अचम्म मानें ।  

‘आज तिम्रो साथ चाहिएर यहाँसम्म आएकी ।’ मैले उसले देखाएको कुर्सी छोडेर कपाल काट्दा बस्ने कुर्सीमा गएर बस्दै भने– ‘ल ! मेरो कपाल सबै मुण्डन गरिदेउ ।’

‘कपाल मुण्डन !’ बिलासले बोल्दाबोल्दै एक हातले मुख थुन्यो । मेरो आग्रह पत्याउन नसकेर उसका परेला उचालिए ।

‘हो । कपाल मुण्डन ।’ मैले दोहोर्याएँ ।

‘दिदी, तपाईं यो कपालमा यति सुन्दर देखिनुहुन्छ त । फेरि मुण्डन गर्ने किन भन्नुहुन्छ ?’ बिलासले मेरो निर्णय परिवर्तनको आशमा मेरो सुन्दरताको कुरा लगेर कपालसँग जोड्यो ।  

मैले सुन्दरतालाई कहिल्यै जानिन । आजसम्म पनि मलाई सुन्दरताको अर्थ थाहा छैन । यसको मापदण्ड पनि थाहा छैन । आफूलाई स्वीकार गरेको मान्छेबाट आघात र तिरस्कार मात्र मिलेपछि सुन्दरताको अर्थ खोज्ने प्रयास नै कहिल्यै गरिन मैले । एउटा सानो गल्लीको कोप्चे कोठामा कर्म गरेर खाने हजामले मेरो सेतै फुलेको कपालसँग मेरो सुन्दरतालाई जोडिदिएर मेरो जीवनमा केही फरक पर्ने थिएन । त्यसैले मैले विनम्र हुँदै भने, ‘पहिले मुण्डन त गरिदेऊ । त्यसपछि सुन्दरताको कुरा गरौंला ।’  

मेरो कारुणिक आग्रह सुनेर बिलासको अनुहारको चमक हरायो । उसले मेरा आँखामा हेर्न सकेन । मसँग पुराना कुराहरू जोड्न सकेन । सधैं फुर्तिलो गरी छुरा र कैचीं चलाउने उसका हातहरू ढिला हुँदै गए ।  

‘दिदी ! एकचोटि फेरि विचार गरिलिनुस् ।’ छुरा ठिक पारेर प्लाष्टिकको एर्पोन हातमा उठाउँदै भन्यो ।

‘सय चोटि विचार गरेर तिमीकहाँ आएकी । खै ! ल्याउ त्यो एर्पोन र छिटो गर ।’ बिलासको हातको एर्पोन तानेर घाँटीमा बेर्दै बोले म ।

बिलासले हिम्मत गरेर छुरा उठायो ।

छुराको पहिलो धारबाट झरेको कपालको गुजुल्टो खत्रक्क मेरो हातैमा खस्यो । त्यसको पाँच मिनेट नबित्दै मेरो टाउको रित्तो भैसकेको थियो । मुण्डन भएको टाउकोलाई ठूलो ऐनामा मजाले हेर्दै मैले बिलासलाई भुँईभरि झरेको सबै कपाल एउटा प्लाष्टिकको झोलामा हालिदिन आग्रह गरेँ ।

बिलासले जसो भनेको त्यसैअनुसार सानो झाडुले कपाल बटुलेर निलो रङको प्लाष्टिककको झोलामा हालेर मलाई दियो । कार्यसिद्ध गरेका बिसलासका हातहरू भने अझै थर्र काँपिरहेका थिए । मैले उसका काँप्तै गरेका हात तानेर पाँच सयको नोट थमाइदिदै भने, ‘मलाई सहयोग गरेकोमा तिमीलाई धेरैधेरै धन्यवाद ।’

यति भनेर बिलासको आँखामा स्नेहले हेर्दै बिदा भएँ। मलाई एकतमासको हलुङ्गो अनुभूति भो । साँझ परेकोले होला सडकमा दिउँसोको भन्दा बढी चहलपहल देखियो ।दिनको उज्यालोको महत्व भिन्नै भए पनि बिजुली बत्तीको रौनक आफ्नै खाले हुनेरहेछ । हिंड्दै गर्दा यस्तै लाग्यो मलाई ।  

बिजुली बत्तीले होर्डिङ बोर्डको संझना गरायो । मुन्टो उचालेर त्यसको दिशातर्फ हेरें । हिमालयन हेयर कलरलाई ‘आफ्नो निर्णय आफै लिन सहयोग गर्ने एक मात्र विश्वसनिय ठाउँ– सिद्धि परामर्श केन्द्र’ले पो विस्थापित गरिसकेको रहेछ ।

जेहोस् ! बिनासहयोग लिएको आफ्नो निर्णयमा कुनै खेद थिएन मलाई । म आफ्नै गतिमा हिँडिरहेँ । घर आईपुग्न केही मिनेटको बाटो अझै बाँकी नै थियो ।

प्रकाशित: १० श्रावण २०७७ ११:२२ शनिबार

अक्षर कथा