कला

के हो सर्प उद्धार ?

हिन्दुहरूको एक विशेष चाड नागपञ्चमीका दिन नाग अर्थात् सर्पको पूजा गरिन्छ। सर्पको पूजा गर्नुको धार्मिक महत्व बेग्लै चर्चाको विषय हो। यहाँ पछिल्लो समय चर्चा हुने गरेको सर्प उद्धार अर्थात् ‘स्नेक रेस्क्यु’बारे चर्चा गरिन्छ।

कुनै सर्प आफ्नो नियमित वासस्थानभन्दा पर मानिसको बस्तीमा पुगेका बेला पक्रेर नजिकैको जंगलमा सुरक्षित तरिकाले छाड््नु वा कहिलेकाहीँ आफ्नै वासस्थानमा कुनै कारणवश दुःख पाइरहेको (कुनै वस्तुमा अल्झिएको, बिरामी वा घाइते) सर्पलाई त्यस दुःखबाट मुक्त गर्नुलाई नै ‘स्नेक रेस्क्यु’ भनेर बुझिन्छ। धेरैजसो अवस्थामा सर्पलाई नछोइदिँदा वा नचलाइदिँदा पनि सर्पको उद्धार नै हुन पुग्छ।

घटनाको प्रकृति हेरीकन मात्रै सर्पको उद्धार आवश्यक छ या छैन भन्ने निर्णय गर्न सकिन्छ। यहाँ यस्तै केही घटनालाई पस्कने कोसिस गरिएको छ।  

केही समयअघि फेसबुक लगायत सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भएको थियो। उक्त भिडियोेमा जंगल नजिकैको बाटोमा एउटा अजिंगरले मृगलाई बेरेर खान लागेको हुन्छ। त्यतिबेला कुनै मान्छे पुगेर अजिंगरलाई धपाई मृगलाई उसको आहार हुनबाट बचाउँछ। यो भिडियोेमा आ–आफ्ना मत राख्नेको कमी थिएन। कसैले मानव संवेदनाका कारण ठीकै ग-यो भन्ने मत राखे भने कसैले आफैँ प्राकृतिक तरिकाले आहार गर्न खोजेको अजिंगरलाई धपाएर पारिस्थितिक पद्धति (इकोसिस्टम) लाई खलबल्याएको पनि भने।  

त्यस्तै, अर्को एउटा फोटोे पनि सामाजिक सञ्जालमा केही दिनअघि चर्चाको विषय बनेको थियो, जसमा एउटा अजिंगरको पेट निकै फुलिएको थियो। त्यसले करिब २० केजीको बाख्रा खाएको भनिएको थियो। फोटोे हेर्दा अजिंगर आफ्नै वासस्थानको वरिपरि जस्तै देखिन्थ्यो। यो घटना इलाम जिल्लाकोे हो। उक्त अजिंगरलाई बोरामा हालेर सामुदायिक वनले संरक्षण गरी राख्ने भन्दै भरपाई कागज समेत बनाएर फेसबुकमा फोटो राखिएको थियो। यसमा पनि स्थानीयमध्ये केहीले उक्त अजिंगर मार्नुपर्ने बताएका थिए भने, कतिले जंगलमै छोड्नुपर्ने सुझाव दिएका थिए। कसैले त तारबार लगाएर पालेर पर्यटक तान्ने माध्यम बनाउन समेत सल्लाह दिएका थिए। वन्यजन्तु संरक्षणकर्मीको भने यसमा फरक मत थियो। उनीहरूले उक्त अजिंगरको प्राकृतिक वासस्थान तथा रहनसहनमा बाधा गर्न नहुने बताएका थिए। यस्ता क्रियाकलापलाई तुरुन्तै निरुत्साहित गरिएन भने भोलिका दिनमा चोकचोकमा चिडियाखाना बन्ने र जंगलमा भन्दा बढी जनावर चिडियाखानामा देखिने उनीहरूको भनाइ थियो।  

अर्को भाइरल भिडियो छ, मोरङ जिल्लाको उर्लाबारी डुम्बेखोला नजिकैको जंगलमा भेटिएको अजिंगरको। भर्खरै मृग खाएर आराम गरिरहेको उक्त अजिंगरलाई उद्धार गर्ने नाममा उसले खाएको आहार समेत ओकल्न बाध्य पारियो र  अर्को वनमा लगेर छाडियो।

सर्पले आफ्नो प्राकृतिक वासस्थानमा सुरक्षित महसुस गर्छ र त्यहीँ उसलाई  नियमित जीवनयापनमा सहज हुन्छ। अप्ठेरोमा परेका सर्प वा अजिंगरलाई समातेर अनावश्यक दुःख दिनु उद्धार होइन।

त्यस्तै, केही समयअघि रुपन्देहीको भैरहवामा अजिंगर उद्धार गर्ने समूहलाई बोलाइयो, जसमा हामी पनि थियौँ। एकै ठाउँमा रहेका दुइटा अजिंगर उद्धार गर्न भनिएको थियो। हामीहरू त्यहाँ पुग्दा ती अजिंगर एक प्रकारको दलदलमा बसिराखेको थियो। त्यसैले तिनलाई  उद्धार गर्नुनपर्ने र त्यहाँभन्दा बाहिर आएमा मात्रै उद्धारको कदम चाल्नुपर्ने भनेर हामीले सम्झायौँ। स्थानीयले भने पहिलेपहिले कुखुरालाई आहारको रूपमा प्रयोग गरेर अजिंगरलाई बाहिर ल्याएको र यसपालि पनि त्यसरी नै बाहिर ल्याउने भन्दै कुखुरा समेत लिएर आएका रहेछन्। कहिलेकाहीँ उद्धार गर्ने क्रममा भीडभाड नियन्त्रण गर्न पनि एकदम चुनौती हुन्छ। हामी यो सब दृश्य हेरेर बस्न बाध्य भएका थियौँ र पछि हामीले उक्त अजिंगरलाई उद्धार गर्नुनपर्ने भनेर त्यहाँबाट निस्केका थियौँ।  

माथि प्रस्तुत गरिएका घटना प्रतिनिधि मात्रै हुन्। अजिंगरबाहेक अरु सर्पको सन्दर्भमा पनि हालत यस्तै छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, बबरमहल काठमाडौंले ‘बस्तीनजिक आएका समस्याग्रस्त वन्यजन्तुको उद्धार’ सम्बन्धमा २०७७ जेठ १९ मा सूचना प्रकाशित गरेको छ। जसमा त्यस्ता वन्यजन्तुको उद्धार गर्नुपर्ने भएमा सम्बन्धित विषयका विज्ञबाट सम्बन्धित सबै निकायसँगको समन्वयमा गर्नुपर्ने उल्लेख गरेको छ।  प्राकृतिक वासस्थानकै आसपासमा भेटिएका वन्यजन्तु अन्य ठाउँमा सार्दा हुर्कन र बाँच्न नसक्ने भएकाले सकारात्मक सोचेर नै उद्धार गर्दा पनि त्यसले उक्त वन्यजन्तुको दिगो संरक्षणमा नकारात्मक असर पर्ने हँुदा यस्ता क्रियाकलाप नगर्न र धेरै सोचविचार गरेर मात्रै उद्धारको कार्य गर्न अनुरोध समेत गरिएको छ।  

यसरी सूचना निकालिए पनि सबै मानिसमाझ यो सूचना पुग्न सकेको छैन। सूचना पाउनेले पनि यसलाई गम्भीर्तापूर्वक नलिन सक्छन्। चाखलाग्दो कुरा के छ भने, विश्व संरक्षण संघ (आइयुसिएन), रेड लिस्ट अफ थ्रेटेन्ड स्पेसिजको भल्नरेबल (अतिसंवेदनशील) प्राणीमा पर्छ, अजिंगर। त्यस्तै, संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि (साइटिस) को अनुसूची–२ मा र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ मा संरक्षित वन्यजन्तुको समूहमा सूचीकृत गरिएको छ, अजिंगरलाई। अर्थात् यसलाई सही समयमा व्यवस्थित किसिमले सुरक्षा गरी राख्न नसकेमा चाँडै नै संकटापन्न अवस्थामा पुग्न सक्ने विज्ञको भनाइ छ।

अर्को कुरा सर्प उद्धार गर्न हामीसँग तालिम प्राप्त उद्धारकर्मी र उद्धार सामग्री पनि पर्याप्त मात्रामा छैनन्। त्यसैले उद्धार गर्ने तरिका नमिल्दा मानिस र सर्प दुवैको ज्यान जोखिममा पर्ने सम्भावना हुन्छ। हामीकहाँ यस्ता घटना धेरै सुन्नमा आएका छैनन्, तर छिमेकी मुलुक भारतमा भने उद्धार गर्ने क्रममा तरिका नमिल्दा वा लापरवाहीका कारण मानिस मरेका घटना धेरै छन्।  

सही तरिकाले उद्धार गरे पनि त्यसपछि कहाँ वा कति पर छाड्ने भन्ने ज्ञान नहुन सक्छ। उद्धार गरिएको भन्दा धेरै टाढा लगेर छाड्दा सर्पको क्रियाकलाप र आनीबानीमा असर पर्न सक्छ। जस्तोः आहार खोज्न धेरै समय लाग्न सक्छ, सहवासमा असर पर्न सक्छ, उसले गँुड वा बस्ने दुलो बनाएको छ, वा अन्डा पारेको रहेछ भने त्यसलाई नभेटाउन सक्छ।

उद्धारका नाममा महिनौँसम्म घरमै डब्बामा हालेर राख्ने गरेको कतिपय फोटोे वा भिडियोे पनि सामाजिक सञ्जालमा देख्न पाइन्छ। त्यस्तै, उद्धारकै नाममा सर्पले खाइरहेको मुसा–भ्यागुता लगायत अन्य जीवजन्तुलाई  ओकल्न बाध्य पनि पारिन्छ। अझ कतिपय अवस्थामा सर्पलाई जबर्जस्ती आहार गर्न बाध्य बनाउन कृत्रिम रूपमा मुसा–भ्यागुता लगायत अन्य जीवजन्तु उसको अगाडि राखिन्छ। उद्धारकै नाममा घरबस्तीदेखि पर जमिनमा मुसा खोज्दै आएको अविषालु सर्पलाई समातेर अर्कै ठाउँमा लगेर छाडिन्छ। यस्ता गतिविधि उद्धार होइनन्।  

एक–दुईवटा अजिंगर वा कुनै अविषालु सर्प पहिले नै स्थापना भइसकेका उद्धार केन्द्र वा चिडियाखानामा विधि पु¥याएर राख्नु अलग कुरा हो, तर उद्धार गरिएका धेरै सर्पलाई लामो समयसम्म कतै राख्नु उचित होइन।  

सर्प पारिस्थितिक पद्धति (इकोसिस्टम) को एउटा अभिन्न अंग हो। यसले यस पृथ्वीमा अन्य जीवजन्तु जत्तिकै महत्व बोकेको हुन्छ। त्यसैले यसको उद्धार वन्यजन्तुसम्बन्धी नीति–नियमका साथै प्रकृतिको पनि नियममा बसेर गर्नुपर्छ। सर्पले आफ्नो प्राकृतिक वासस्थानमा सुरक्षित महसुस गर्छ र त्यहीँ उसलाई  नियमित जीवनयापनमा सहज हुन्छ। अप्ठेरोमा परेका सर्प वा अजिंगरलाई समातेर अनावश्यक दुःख दिनु उद्धार होइन। उसले प्राकृतिक नियममै रहेर आफ्नो आहार गर्छ। त्यसैले उसले खाएको आहार बान्ता गर्न बाध्य बनाउनु, उसको रुचि बिनै आहार दिनु प्राकृतिक न्याय होइन। सर्प वा अजिंगरलाई उद्धार गर्न त्यससम्बन्धी प्राविधिक ज्ञान रहेको विज्ञ चाहिन्छ। त्यस्तै, सम्बन्धित निकायले नै उद्धार गर्नुपर्छ। कुनै बेला तत्कालै उद्धार गर्नुपरेमा उद्धार गरिसकेपछि सम्बन्धित निकायलाई बुझाउनुपर्छ। अनि मात्र वास्तविक उद्धार हुन्छ।
(लेखक नेपाल टक्सिनोलोजी एसोसिएसनका संस्थापक सदस्य तथा विश्व संरक्षण संघको बोआ एन्ड पाइथोन विशेषज्ञ समूहका सदस्य हुन्।)  

प्रकाशित: १० श्रावण २०७७ ०६:४० शनिबार

अक्षर सर्प उद्धार