कला

प्रलय

निबन्ध

रामबाबु घिमिरे

आफ्नो बारेमा मात्र सोच्दासोच्दा मनको परिधि खुम्चिएको छ  । यस्तो बानीले आत्मकेन्द्रित भइँदो रहेछ । विगत सोचे पनि, वर्तमान सोचे पनि वा भविष्य सोचे पनि सबै आफ्नै । अँ, यस्तो बानीले दुनियाँको हालखबरबाट बेखबर बनाउँदो रहेछ । आफ्नै मुलुकमा स्वदेशी वा विदेशी कसको हालहुकुम चलिरहेछ, त्यति पनि थाहा नपाइँदो रहेछ । अझ आफू कुन जमानामा बाँचिरहेको छु भन्ने नै  अन्योल हुँदो रहेछ । त्यसैले दुनियाँको चासो राख्न बाध्य भएको छु । अब म आफ्नो होइन सिंगो  मानव सभ्यताको बारेमा सोच्नेछु । सार्वजनिक चासोको विषयमा सोच्नेछु । दुनियाँदारीको चिन्तन उन्मुख हुनेछु । सार्वजनिक चासोको विषयमा लेख्दा आफू पनि सार्वजनिक भइन्छ होला । सानातिना, झिनामसिना विषयमा लेख्दा खुद्रा लेखक भइँदो रहेछ । मलाई थाहा छ,  मैले लेख्न लागेको विषयको गहनता र मेरो क्षमतामा पटक्कै तालमेल छैन । म जुन विषयमा लेख्दै छु यो धर्मशास्त्र र खगोलशास्त्रको विषय हो । मेरो यो स्वीकारोक्तिबाट तपाईं मप्रति सहानुभूतिशील हुनुहुनेछ र सोच्नुहुनेछ कि विषय ज्ञान नभए पनि सार्वजनिक चासोको विषयमा लेख्ने हिम्मत गरेछ । निश्चय नै प्रलय भनेको सार्वजनिक चासोको विषय हो ।

म प्रलयको सम्बन्धमा चिन्ता र चासो व्यक्त गर्दै छु । यो कुनै नयाँ  विषय होइन । विश्वका हरेक धर्ममा प्रलयको बारेमा चिन्ता र चासो व्यक्त गरिएको छ । मलाई थाहा छ मेरो वर्तमान भौतिक संरचना धेरै समय टिक्ने सम्भावना छैन । हुन त मेरो शारीरिक अस्तित्व रहँदा वा नरहँदा दुनियाँमा कुनै अन्तर पर्ने छैन । तर, जहाँसम्म मेरो व्यक्तिगत मामला छ मेरो मृत्युको दिन नै  मेरा लागि प्रलय कै दिन हुने छ । म प्रलयको बारेमा किन चिन्तित छु भने म पृथ्वी र मानव जातिको अस्तित्वको अविछिन्नता चाहन्छु । तपाईंलाई ज्ञात नै छ, मानव जाति र पृथ्वीको संकट भनेको प्रलय नै हो । प्रलयबाट पृथ्वीको आंशिक वा पूर्ण क्षति हुन सक्छ । महाप्रलयबाट त पूरा सौरमण्डल नै समाप्त हुन सक्छ । पूरा सौरमण्डल नै क्षतिग्रस्त हुने प्रलयलाई महाप्रलय भनिएको छ ।

प्रलयबाट पृथ्वीमा मानवजातिको लोप हुनसक्छ भने पृथ्वीको संरचना परिवर्तित हुनसक्छ । प्रलयको कुरा धार्मिक चिन्तनको विषय मात्र होइन किनकि प्रलयको स्वरूप भौतिक हुन्छ । तसर्थ यो भौतिकी चिन्तनको विषय हो । धर्मले त प्रलयको परिकल्पित कारणको कुरा मात्र गर्छ । विगतको अध्ययनबाट थाहा हुन्छ कि पृथ्वीमा पटकपटक आंशिक प्रलय भएको छ जसको दुष्परिणाम मान्छेले व्यहोरेको छ । तपाईलाई थाहा नै छ, महादेशहरूको निर्माण पनि प्रलयबाट नै भएका हुन् । अनि हाम्रा हिमालहरू छन् नि तिनीहरूका निर्माण पनि । अहिले हिमाल ठडिएको ठाउँमा प्रलयपूर्व नदी थियो भन्दा अचम्म लाग्नसक्छ । अज्ञानताबाट ज्ञानमा आउँदा अचम्म लाग्दो रहेछ । अचम्म भनेकै अनौठा जानकारी वा रहस्य हुन् । 

भूगर्भशास्त्रीले महाभारत पर्वतश्रृंखला अस्ति भर्खर ५ लाख वर्षपूर्व निर्मित भएका हुन् भन्दा म अचम्भित भएको थिएँ र उसको मनोवस्थामाथि शंका उब्जेको थियो । भूगर्भशास्त्रीहरूले श्रीकृष्णले बसाएका भनिएको विलुप्त द्वारिका नगरको भग्नावेशष समुद्रतलमा फेला पारेका छन् । त्यो नगर जलप्रलयका कारण समुद्रको गर्भमा पुगेको मानिन्छ । आंशिक प्रलयले पृथ्वीको कुनै खास भूभाग र प्रभावित भूभागमा रहेका मानव जातिलाई क्षति पुरयाउँछ । सानातिना वा आंशिक प्रलय पृथ्वीमा प्रायः घटित भैरहन्छन् जसलाई चलनचल्तीको भाषामा प्राकृतिक प्रकोप भनिन्छ ।  

मान्छे प्रकृतिको उपज हो र प्रकृतिको अभिन्न अंग पनि । प्रकृतिको विनाश हुनु भनेको मानवजातिको पनि विनाश हुनु हो  । प्राकृतिक प्रकोपको अनुपातमा मानव जातिले क्षति व्यहोरेको छ र व्यहोर्नुपर्नेछ । जस्तो कि २०७२ सालको भूकम्पको हामीसँग ताजा अनुभव छ । त्यो भूकम्प त्योभन्दा केही बढी रेक्टरको हुँदो हो त क्षतिको भयावहता अझै बढ्ने थियो । प्रलय भनेको त्यति ठूलो प्राकृतिक प्रकोप हो कि जसबाट मानवजातिको अस्तित्व नै लोप हुनसक्छ र पृथ्वीको संरचनामा पनि आमूल परिवर्तन हुन सक्छ । अग्ला हिमशिखर समुद्री धरातल र समुद्री धरातल अग्ला हिमशिखर बन्न सक्छन्  । महादेश अझै टुक्रिन सक्छन् वा टुक्रिएका महादेश जोडिन सक्छन् । तपाईंलाई थाहै छ करोडौं वर्षपूर्व पृथ्वीमा डायनासोरको एकछत्र रजाइँ थियो तर एउटा पथभ्रष्ट उल्कापिण्ड पृथ्वीमा ठोक्किनाले डायनासोरको विनाश भयो । भूवैज्ञानिकहरूले डायनासोरको जिवाश्माबाट डायनासोरको आकार रूप र आनीबानीको विश्लेषण र डायनासोर युगको निर्धारण गरेका छन् । आज मान्छे पनि डायनासोर जस्तै ह्रिंस्रक बन्दै गएका छन् ।

प्रलयका कारण अनेकौं हुनसक्छन् जस्तो कि प्राकृतिक प्रकोप आदि । प्रलय भनेको नै प्राकृति प्रकोपको विकराल रूप हो । प्रलयलाई धर्मशास्त्रमा दैवीय लीलाको रूपमा लिइएको छ । दैव छन् भने प्रलयको कारक र निवारक हुनसक्छन् तर वस्तुतः प्रलय भनेको भौतिक कुरा हो ।हिन्दू धर्मले वर्तमान युगलाई कलियुग र यसको अन्त्य प्रलयबाट हुने परिकल्पना गरेको छ । दैवको अस्तित्वमाथि नै प्रश्न उठेको बेला म त्यतातिर लाग्दिन । अस्ति भर्खर एउटा छुद्र पिण्ड पृथ्वीको नजिकैबाट गएछ । कुनै धूमकेतु पथभ्रष्ट भई पृथ्वीसँग ठोक्किन आइपुग्ने सम्भावना सधैं रहन्छ । धूमकेतुको आकार र तीव्रताको आधारमा मानव जाति र पृथ्वीलाई क्षति पुग्छ । पृथ्वीजत्रै ग्रह पृथ्वीसँग ठोक्कियो भने पृथ्वी नै धुलधुसरित हुनसक्छ र वायुमण्डललाई हजारौं वर्ष धूलो र धूवाँले ढाक्न सक्छ । उल्कापिण्ड वा कुनै ग्रह पृथ्वीसँग ठोक्किंदा मात्र होइन पृथ्वीकै आन्तरिक संरचनामा परिवर्तित भयो भने पनि प्रलयको अवस्था आउनसक्छ । 

, सुनामी र ज्वालामुखी आदि पृथ्वीको आन्तरिक संरचनामा भएको परिवर्तनकै परिणाम हुन् । पृथ्वीको तापक्रम बढ्दै गएको कुरा सामान्य समाचार बनिसकेको छ । तपाइँलाई थाहा नै छ समुद्र किनारको जलस्तर बिस्तारै बढ्दै छ । तापक्रमको वृद्धि यही क्रममा हुँदै गयो भने हिमाल र हिमप्रदेश पग्लेर नदी र समुद्रको जलस्तर धेरै बढ्न सक्छ र कैयौं मानव वस्ती जल समाधिस्थ हुन सक्छन् ।

तपाईलाई ज्ञात नै छ हाम्रो वायुमण्डलमा अक्सिजनको मात्रा घटिरहेछ । विज्ञहरूले अक्सिजनको मात्रा सन्तुलनको लागि ३३ प्रतिशत वनजंगल हुनुपर्ने अनिवार्यप्रति सचेत गराएका छन् । अक्सिजनको मात्रा आवश्यकताभन्दा न्यून भयो भने भयावह अवस्था आउन सक्छ । हुन त मेरो यो जीवन कालमा त्यस्तो अवस्था आउने सम्भावना छैन । त्यो भनेको सयौं वर्षपछिको सम्भावना हो तर मैले यस विषयमा किन चिन्ता लिएँ भने म भावी पुस्ताप्रतिको दायित्वबाट पन्छन चाहन्न । प्राकृतिक प्रकोप त मान्छेको नियन्त्रणमा हुन्न भने प्रलयको त कुरै छाडौं । तर नरमाइलो त्यतिबेला लाग्छ जब मान्छे नै प्राकृतिक प्रकोपको आमन्त्रण गर्दै छ । अनजानमा होइन जानाजान मान्छे प्राकृतिक प्रकोपको आमन्त्रण गरिरहेछ । हरेक दिन पृथ्वीको कुनै न कुनै भूभागमा साना वा ठूला युद्ध भैरहेको हुन्छ । त्यस्तै सम्भावित तेस्रो विश्वयुद्धको खबर बेलाबेला सञ्चारित भैरहन्छ । पहिलो र दोस्रो विश्वयुद्धको विनाशलीला त तपाईंलाई थाहा नै छ । अहिलेको बेला त कैयौं गुणा विनाशकारी हतियार आविष्कृत भएका छन् । न्युक्लियर युद्धको सम्भावना नकार्न सकिन्न । विषादीयुक्त ग्याँस र रसायनको  प्रयोगले अबको युद्ध अति नै भयावह हुने छ र जैविक हतियारको प्रयोग झन् खतरनाक । प्रकृति विनाशले रोगका नयाँनयाँ कीटाणु     र जीवाणु उत्पन्न हुन थालेका छन् । त्यस्तो कुनै महामारी फैलन सक्छ जसले मानव जातिको समूल विनाश गर्नसक्छ । वर्तमान विश्वमा हतियारकै आधारमा मुलुकहरू आफूलाई शक्ति सम्पन्न ठान्छन् । त्यति मात्र होइन विश्व व्यापारमा हतियारको व्यापारको सूचकांक सबैभन्दा बढी छ । क्षमता र आर्थिक हैशियत हुने हो भने धेरै मुलुक परमाणु सम्पन्न हुन चाहन्छन् । तर हामी नेपाललाई त एक गौतम बुद्ध नै काफी छन् । बुद्धको शान्ति सन्देश हजारौं परमाणु बमभन्दा शक्तिशाली छ । तर केही वर्षयता हामी नेपाली पनि एकापसमा सानासाना  हतियार  प्रयोगमा रमाउन थालेका छौं ।

अँ, धर्म पनि मानव जातिको विनाशको कारण बन्न सक्छ । इतिहासको अध्ययनले देखाउँछ विश्वमा धर्मको नाममा  जति युद्ध भए त्यति अन्य कुनै कारणले भएको छैन । महाभारतको युद्धलाई  धर्मयुद्धको संज्ञा दिइएको छ । त्यसो त अन्यायको विरुद्ध लडिएका र लडिने सबै युद्ध धर्मयुद्ध नै हुन् । अहिले विश्वमा भैरहेका उग्रवादी हिंसाको आधार धर्मको अपव्याख्यालाई बनाइएको छ । भौगोलिक दूरीभन्दा पनि धार्मिक दूरीले मान्छेलाई एकापसबाट टाढा पुरयाएको छ । धार्मिक मान्यतामा आधारित विचारहरु क्रमशः रुढ बन्दै जान्छन् र जसलाई युगानुरूप परिष्कार गरिएन भने त्यो अग्रगामी मानव सभ्यताको लागि बाधक हुन्छ ।

अब रह्यो कुरा विश्व राजनीतिको ।  भन्ने गरिन्छ नि राजनीति सबै नीतिको मूल नीति हो तर व्यवहारमा त्यसको सिद्धता चाहिं विवेचनाकै विषय बनेको छ । किनकि राजनीति निर्विवादित हुँदैन र विवादित विषयलाई मूल नीति बनाउँदा धेरै कुरा विवादमा पर्छन् । अहिले हामी त्यसैको अनुभव गर्दै छौं ।  राजनीतिमा पनि रुढ सिद्धान्त र विचार हुन्छन् जसले समाजको अग्रगतिमा बाधा पुरयाउँछन् । अहिलेको विश्व राजनीतिमा हठवादी र शैन्यवादीको वर्चस्व बढेको छ । समन्वयवादी र पञ्चशीलका कुरा गर्नेहरूको अभाव छ । विश्वका कैयौं मुलुकहरूको नेतृत्वमा सहअस्तित्ववादीभन्दा हिंस्रक र उदण्ड व्यक्तिहरू पुगेका छन् । निर्वाचनबाट नै हिंस्रक र उदण्ड व्यक्ति सत्तामा पुग्नुले आम मान्छेमा हिंसात्मक प्रवृत्ति बढिरहेको छ जस्तै लाग्छ । सर्वत्र कोलाहल हुनाले शान्तिप्रेमीहरुको आवाज दबिएको छ । शान्ति र सहअस्तित्वको भावलाई कमकजोरीको रूपमा  लिन थालिएको छ । संयुक्त राष्ट्र संघ नै विश्व राजनीतिमा यस्तो संरचना हो जुन मानव जातिको अक्षुण्ण अस्तित्वका लागि कार्यरत छ ।

मैले अलि बढी नै नकारात्मक कुरा गरें । शीर्षक नै भयावह भएपछि नकारात्मकतातर्फ उन्मुख हुनु मेरो विवशता नै रह्यो । सकारात्मक बाटो अबलम्बन गर्न नकारात्मक कुराहरूको चर्चा गर्नै परयो । तर आआफ्नो विश्वासको कुरा हो र त्यसैले वनैभरि फुलेका लालीगुराँस, विहानको कलिलो घामले स्पर्स गरेको हिमशिखरहरू, पूर्णिमाको चन्द्रमा र सस्यश्यामला पृथ्वीको मनोरमता र अविरल बगिरहेका नदीहरू हेर्दा लाग्छ मानव जाति र पृथ्वीको अस्तित्व अनन्तकालसम्म रहने छ । जहाँसम्म मेरो सवाल छ म कुनै दिन प्रकृतिमा विलीन हुनेछु । मेरा लागि प्रकृति नै परमात्मा हुन् । हाम्रा पूर्वजले प्रकृतिमा नै देवत्व आरोपित गरेका छन् । अँ, जुन दिन मेरो मृत्यु हुनेछ त्यो दिन मेरा लागि प्रलयको दिन हुनेछ । 

प्रकाशित: १० श्रावण २०७७ ०६:०८ शनिबार

अक्षर