कला

जीवन गीत

कविता

गुनगुनाउँदै जीवन गीत
आफ्नै समयको धूनसँग
संगीतबद्ध छन्
लयहीन आरोपका आवाजहरू !

बरफ जमेको शिशिरको समयजस्तो
चिसो मनलाई पगालेर
तृप्ति लिने सान्निध्यको तृष्णाले
पटकपटक भौँतारिए पनि
बारम्बार रोपिएका बाणलाई
उखेल्दै फाल्दै गरेको आहत स्मृतिले
उक्काउँछन् खाटा परेका  
दीर्घ चोटहरू।

असारे आलीमा बज्रेको कोदालीको प्रहारजस्तो
आरोपको महायात्राले
खन्दाखन्दै कुँदेको जीवनको लय
अति सुमधुर लागिरहेछ
आफैँमा बजेको आत्मविश्वासी धून।

बानी लागेको छ
पीडामा लगाउने मलमजस्तै
भोगाइको जीवन्त यात्रामा यी आरोपहरूको।

र त
बनिरहेछन्
अर्थपूर्ण गाथाहरू
नभए यी कथाहरू
नभए यी अर्घेल्याइँहरू
नभए यी अनन्त भुक्तमानहरू
कसरी कोरिदिनु मैले
आगामी पिँढीलाई
आफ्नो अस्तित्वको महाचित्र !?

आज हिँड्दाहिँड्दै
तिनै डोबहरू खोजेर
सापटी माग्दै जूनको किरण
खोजीखोजी रोपिदिनु छ  
ती आरोपी संगीन हृदयहरूमा
र सँगाल्नु छ
तिनबाट खसेको मुलायम शीत
अनि
पखाल्नु छ जडताले जरो गाडेको
यो समाजको अहम्लाई।

प्रकाशित: १० श्रावण २०७७ ०४:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App