कला

विद्यालय तहमा बालसाहित्य

अभिमत

रामविक्रम थापा

भनिन्छ– बालबालिका काँचो माटो हुन् । जसरी काँचो माटोबाट विभिन्न आकार र प्रकारका भाँडाहरू बनाउन सकिन्छ त्यसरी नै बालबालिकालाई चाहेअनुसारको मान्छे बनाउन सकिन्छ । यो बनाउने व्यक्ति भनेको घरमा अभिभावक र विद्यालयमा शिक्षक हो । अभिभावकको भन्दा पनि यसमा महत्वपूर्ण भूमिका भनेको शिक्षककै हुन्छ । बालबालिकामा शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकास गराउने दायित्व भनेको शिक्षककै हो । हरेक व्यक्तिमा विशेष किसिमको आन्तरिक प्रतिभा अन्तरनिहित  हुन्छ । यस्तो अन्तरनिहित  प्रतिभा प्रष्फुटन गराउन उचित वातावरण दिदै सर्वाङ्गीण विकास गराउनु नै सिकाइ क्रियाकलापमा शिक्षक सफल बन्नु हो । मानसिक विकासअन्तर्गत साहित्य, कला र संगीत पर्दछन् । भाषा र साहित्य सिकाउन विद्यालय तहमा नेपाली विषयको व्यवस्था गरिएको छ । यही नेपाली विषयको माध्यमबाट नेपाली शिक्षकले बालबालिकालाई साहित्यमा उत्प्रेरित गर्दै रुचि जगाएर सिर्जनात्मक कलामा उतार्न सक्छन् ।

अतिरिक्त क्रियाकलापअन्तर्गत साहित्य पनि पर्ने भएकोले विद्यालयमा साप्ताहिक तथा पाक्षिक रुपमा कविता, कथा, निबन्ध जस्ता विभिन्न विधाका प्रतियोगिताहरू सञ्चालन गरेर बालबालिकालाई साहित्यप्रति उत्प्रेरित गर्न सकिन्छ । यस्ता प्रतियोगितामा उत्कृष्ट भएका रचनाहरूलाई सङ्कलन गरेर वार्षिक रूपमा विद्यालयको मुखपत्र निकाली यसमा स्थान दिन सकिन्छ । यसो गर्दा बालबालिकामा थप ऊर्जा प्रदान भएर अझ सशक्त प्रतिभाको जन्म हुन सक्छ । यति मात्र होइन यस्ता अतिरिक्त क्रियाकलापका प्रतियोगिताहरुको छनौटमा परेका राम्रा रचनाहरुलाई राष्ट्रिय स्तरबाट प्रकाशित हुने मुना, कोपिला, जुनकिरी, अङ्कुर जस्ता बाल पत्रिकाहरूमा पठाएर प्रकाशित गर्दा अझ बढी प्रोत्साहन हुन सक्दछ । यस्ता कार्यको संयोजनकारी भूमिका सम्बन्धित नेपाली शिक्षक र प्रधानाध्यापकबाट हुनु नितान्त जरुरी छ ।

बालसाहित्यको विकास र वृद्धिका लागि विद्यालयमा बालपुस्तकालयको महत्वपूर्ण भूमिका रहन्छ । अतः हरेक विद्यालयमा एउटा बालपुस्तकालय स्थापना गरेर बालसाहित्यका महत्वपूर्ण पुस्तक र पत्रपत्रिकाहरुको व्यवस्था गर्नुपर्ने हुन्छ । पुस्तकालय बालबालिकाको पहुँचमा पुग्नुपर्ने अर्काे महत्वपूर्ण पक्ष हो । पुस्तकालय स्थापना भयो र त्यहाँ बालसाहित्यका महत्वपूर्ण पुस्तक र पत्रपत्रिकाहरू पनि छन्  तर ती पुस्तक र पत्रपत्रिकाहरू विद्यार्थीका हातमा पुगेनन् र पुगेर पनि पठन संस्कृतिको विकास भएन अथवा उचित संरक्षण र व्यवस्थापन भएन भने सार्थक हुदैन । अतः पुस्तकालय चलायमान र संरक्षित हुनुपर्छ ।

नेपाली शिक्षकले पाठ्यपुस्तकको मात्र भर नपरी सन्दर्भ सामग्रीअन्तर्गत अन्य पाठ्यसामग्रीहरु पनि कक्षाकोठामा प्रयोग गर्नुपर्ने हुन्छ । यस्ता सन्दर्भ सामग्रीको चयनमा विद्यार्थीहररूको स्तर,  रुचि र उमेरलाई ध्यान दिनुपर्ने हुन्छ । नेपाली पाठ्यपुस्तकका पाठहरूको शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्दा पनि नेपाली शिक्षकले प्रश्नहरूको उत्तर घोकाउनेभन्दा फरक सिर्जनात्मक चिन्तनको विकास गराउने विधिले प्रस्तुतीकरण गर्नुपर्छ । सहभागीमूलक र विद्यार्थी केन्द्रित विधिको नेपाली सिकाइ प्रभावकारी र सार्थक हुने गर्छ । विद्युतीय माध्यमका विभिन्न सामग्रीले अहिलेका बालबालिकाहरूको ध्यान केन्द्रित गरेर मनोरञ्जनका साधन बनिरहेको वर्तमान सन्दर्भले सकारात्मकभन्दा नकारात्मक सन्देश दिइरहेको अवस्था छ । यो अवस्थालाई मोडिफाई गरेर आजका बालबालिकालाई साहित्यतिर ध्यानाकृष्ट गरी साहित्यलाई नै मनोरञ्जनको साधन बनाउनु आजको अपरिहार्य आवश्यकता हो ।

भाषा, साहित्य, कला र संस्कृतिको विकासमा स्थानीय सरकारले पनि आवश्यक आर्थिक लगानी र व्यवस्थापनको उचित भूमिका निर्वाह गर्नुपर्छ । संघिय राजधानीमा रहेका बालसाहित्यका क्षेत्रमा कार्यरत संस्थाहरूले पनि विकेन्द्रित भएर जिल्ला र गाउँगाउँमा पुगेर बालसाहित्यका कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । नेपाल बालसाहित्य समाजको पच्चीसौ राष्ट्रिय बालसाहित्य सम्मेलन खोटाङको दिक्तेलमा २०७४ साल फाल्गुण २५–२७ मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा भव्य रूपमा सम्पन्न भएको थियो । साहित्यको विभिन्न विधागत लेखन कार्यशाला बालबालिकाहरूलाई निकै प्रभावकारी भएको थियो । विद्यालय तहका बालबालिकालाई यस्ता प्रकारका बालसाहित्य सम्मेलनहरू पनि निकै उपयोगी र उत्प्रेरक हुने अनुभूति भयो ।

प्रकाशित: ९ श्रावण २०७७ ११:०५ शुक्रबार

जूनकीरी