कला

रिब्दुङमा ऐतिहासिक किरात संग्रहालय बन्दै

महेश्वरी रिब्दुङमा निर्माणाधिन किरात संग्रहालय । तस्बिर : नागरिक

खोटाङको ऐसेलुखर्क–५ महेश्वरी रिब्दुङमा निर्माण सुरु गरिएको किरात संग्रहालयको पहिलो तला ढलान गरिएको छ । किरात जातीको लोपोन्मुख अवस्थामा पुगेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सामग्री, भेषभुषा, गरगहना लगायतका बहुमुल्या सम्पदालाई संकलन गर्दै संरक्षण गर्ने लक्ष्यकासाथ निर्माण सुरु गरिएको संग्रहालयको एक तला ढलान गरिएको हो । आर्थिक वर्ष २०७६/०७७ मा ऐसेलुखर्क गाउँपालिकाले विनियोजन गरेको १५ लाख र प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईमार्फत विनियोजन भएको स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको १० लाखमा पहिलो तला ढलान गरिएको संग्रहालय निर्माण समितिका संयोजक खुक्सङ खम्बुले बताए ।  

किरात समुदायको ऐतिहासिक थलो मानिने महेश्वरीका स्थानीयले अनुदान तथा चन्दा उठाएरै २०७४ सालदेखि धिनडाँडास्थित ज्योति प्रावि नजिक चुच्चो डाँडोमा तीन तले पक्की संग्रहालय निर्माण सुरु गरेका हुन् । तत्कालिन गाबिस, वडा कार्यालय, गाउँपालिका लगायत चन्दादाताबाट हालसम्म कुल ५० लाखको हाराहारीमा खर्च भइसकेको संग्रहालय निर्माण समितिले जनाएको छ । संग्रहालयको भवन निर्माणदेखि सामाग्रीहरु राख्ने दराज र आल्मारी निर्माण, संग्रहालयमा राख्ने सामानहरुको खरिद तथा नयाँ सामान निर्माण लगायतका कामका लागि देशविदेशबाट सहयोग रकम जुट्नेक्रम जारी छ । व्यक्तिबाट समेत १७ लाख सहयोग प्राप्त भएको जनाइएको छ ।  

हजारौँ वर्ष पूरानो इतिहास र सभ्यता भएको किरातीसँग सम्बन्धित संग्रहालय कम भएका कारण किरात राई यायोक्खा रिब्दुङ महेश्वरीको पहलमा किरात संग्रहालय निर्माण सुरु गरिएको हो । किरात अध्यायन केन्द्रको रुपमा स्थापित गर्दै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्‍याउने गरी दश किरातको प्रतीक स्वरुप ‘दश भुजा र दश कोण’ भएको संग्रहालय निर्माण गर्न लागिएको निर्माण समितिका संयोजक खम्बुले बताए । भवनको भुईँ तलामा सामूहिक चुल्हो घर तथा माथिल्लो तलालाई संग्रहालय बनाउने निर्माण समितिको तयारी छ ।  

संग्रहालयमा राई, लिम्बू, सुनुवार, याख्खा लगायतका जातिसँग सम्बन्धित तान, ढिकी, जाँतो, धनुष बाण, गुलेली, ढ्यांग्रो, भाला, हँसिया, चर्खा, डालो, थुन्से, कठुवा, हलो, जुवा, ढाकी, घडी लठ्ठी, ढाकर, घैंला, छपनी, ओख्ली, धिब्री, लोटा, फोसी, रासी, साँचो, भोटे ताल्चा, काठको आरी, भुने, काठको डाडु लगातका मौलिक गरगहना, कला, सीप, साहित्य झल्काउने बहुमूल्य सामग्रीलाई संकलन गरेर सजाएर राख्ने तयारी गरिएको छ । बास्तुकलाले सजाइने संग्रहालयको गजुर चिण्डोको बनाइने संयोजक खम्बुले बताए । ‘किराती सभ्यता, इतिहास, संस्कार, संस्कृति, सीप, सामाग्री देशकै अमुल्य सम्पत्ती हुन्,’ खम्बूले भने, ‘यी सम्पत्तीहरुलाई बचाउने दायित्व हाम्रै भएकाले किरात संग्रहालय बनाउन थालेका हौँ । यस ठाउँको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरेका छौँ ।’  

संग्रहालयका लागि स्थानीय शम्सेरजंग राई, मानबहादुर राई र पूर्णबहादुर राईले ८ रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् । संग्रहालयका लागि करिब ५० रोपनी जग्गा जुटाउने तयारी गरिएको समितिले जनाएको छ ।

प्रकाशित: ९ श्रावण २०७७ १०:४० शुक्रबार

रिब्दुङ ऐतिहासिक किरात संग्रहालय