कला

फुँयालको उपन्यास ‘गौरिका’ प्रकाशित

रोचक उपन्यास

चन्द्र कुमार फुँयालको पहिलो कृति ‘गौरिका’ ।

काठमाडौं–विभिन्न पत्रपत्रिकामा सामाजिक विषयमा कलम चलाउँदै आएका लेखक चन्द्र कुमार फुँयालको पहिलो कृति ‘गौरिका’ प्रकाशित भएको छ। अँग्रेजी भाषामा लेखिएको उनको यस उपन्यासलाई हिमालयन म्याप हाउस, काठमाडौंले प्रकाशन गरेको हो।  

फुँयालले उपन्यासमा वैदेशिक रोजगारीले पारेको प्रभाव चिरफार गर्दै क्रान्तिकारी विचारलाई अघि बढाएका छन्। सरल अनि कलात्मक भाषामा लेखिएको उपन्यासले पाठकको मन जित्नेमा उपन्यासकार ढुक्क छन्।  

उपन्यासको कथा रोचक छ। उपन्यासका एक प्रमुख पात्र गौरब नेपालको विकट गाउँमा जन्मे÷हुर्केका हुन्छन्। हिलोको बीचमा पनि कमल फूले झैं गरिब परिवारमा जन्मेका गौरब पनि अभाव, आडम्बर, अन्धविश्वास र भेदभावबाट ग्रसित समाजमा क्रान्तिकारी विचार बाहकका रुपमा उभिन्छन्।  

उपन्यासमा उसको विचारलाई परिणाममुखि बनाउन उनकी श्रीमति गौरिकाको निर्णायक भूमिका देखिन्छ। पवित्र प्रेमको सधैं जित हुन्छ र प्रेमका बिरुद्ध उठेका ज्वारभाटाहरू स्वतः समाप्त भएर जान्छन् भन्ने उपन्यासले देखाएको छ।  

यसमा ग्रामीण संस्कृति, जीवनशैली र परम्पराको चित्रण गरिएको छ। जीवनका चरम दुःख, सुख, हाँसो, आँसु, सफलता, असफलता, मिलन, बिछोड र रोमान्सलाई ज्यादै रोचक र मार्मिक ढंगले प्रस्तुत गरिएको छ।  

उपन्यासले रोजगारको खोजिमा विदेशिने क्रममा नेपाली युवाले भोग्नु परेका दुःख, तिनका परिवारले व्यर्होनुपर्ने मानसिक तनाव र तिनका जवान श्रीमतीलाई गाउँमा यौन पिपासुहरूले कसरी आफ्नो चंगुलमा फसाउँछन् भन्ने राम्रोसँग चित्रण गरेको छ।  

फुँयालले गौरिका पात्र मार्फत विद्रोही सन्देश दिएका छन्। एक पटक इज्जत गुमाईसकेकी महिलालाई सधैं तिरस्कार गर्ने नेपाली समाजका बिरुद्ध धाबा बोलेर उपन्यासकारले गौरिकालाई समाज सुधार अभियन्ताका रुपमा स्थापित गराएका छन्।  

उपन्यासमा एक सय छत्तीस पृष्ठ छ। यसको मूल्य २७५ रुपैयाँ राखिएको छ।  

प्रकाशित: ९ श्रावण २०७७ ०७:५६ शुक्रबार

अक्षर गौरिका उपन्यास