कला

बालअधिकार

खेमराज पोखरेल

नानीबाबुहरू,

आज म तिमीहरूलाई बालअधिकारको बारेमा केही भन्छु है । बालअधिकार भनेको तिमीहरू साना नानीबाबुहरूको अधिकार हो । तिमीहरूलाई बालअधिकार केके हुन् थाहा छ ? पक्का थाहा छैन होला । ल पढेर बुझ है ।

संसारमा १८ वर्षमुनिकालाई बालबालिका भनिन्छ । बालबालिकाका विशेष अधिकारहरू हुन्छन् । बालबालिकाका केके अधिकारहरू हुन्छन् भन्ने कुरा तिमीहरूले बुझ्नुपर्छ । बालअधिकारको व्यवस्था सबैभन्दा पहिले सन् १९८९ मा संयुक्त राष्ट्र संघले गरेको हो । संयुक्त राष्ट्र संघ भनेको थाहा छ ? थाहा छैन होला । संसारमा झन्डै दुई सयभन्दा धेरै देशहरू छन् । तीमध्ये अहिलेसम्म १९३ देशहरू मिलेर एउटा अन्तर्राष्ट्रिय संस्था बनाएका छन् । त्यसको नाम संयुक्त राष्ट्र संघ हो । नेपाल यो संयुक्त राष्ट्र संघको एउटा सदस्य हो । नेपाल र नेपालीले संयुक्त राष्ट्र संघले भनेको मान्नुपर्छ । हो यो संयुक्त राष्ट्र संघले भनेको छ कि बालबालिकाको अधिकार हनन गर्नु अपराध हो । अब म तिमीहरूलाई बालबालिकाका अधिकारहरू भन्छु है त ।

बालबालिकाको महत्त्वपूर्ण अधिकार बाँच्न पाउने अधिकार हो । जन्मेपछि बालबालिकाले बाँच्न पाउनुपर्छ । बालबालिकालाई बाँच्न चाहिने सबै कुरामा पहिलो र विशेष प्राथमिकता दिनुपर्छ । बाँच्नका लागि चाहिने सम्पूर्ण कुराको व्यवस्था गरिनुपर्छ । बालबालिकाहरूमा गरीबीको बोझ हाल्न पाइँदैन । भोकै राख्न पनि पाइँदैन । किनभने नखाईकन कुनै पनि बालबालिका बाँच्न सक्दैनन् । त्यसकारण पौष्टिक आहार खान पाउनु बालबालिकाको अधिकार हो । बालबालिकाले बाँचेर मात्र हुँदैन । उनीहरूको कुशल र राम्रोसँग हुर्कन पाउने अधिकार पनि हुन्छ । बच्चालाई टेन्सन दिएर राख्न पाइँदैन । डर देखाएर तह लाउन पाइन्न । गाली गरेर पनि नानीबाबुहरूको दिमागमा असर पार्न हुँदैन । कुशल र राम्रोसँग हुर्कन चाहिने सबै कुराको व्यवस्था गरिनुपर्छ ।

यसपछि आउँछ बालबालिकाको स्वास्थ्यको अधिकार । बालबालिका स्वास्थ्यका हिसाबमा पनि कमजोर हुन्छन् । बेलाबेलामा विभिन्न खाले खोपहरू दिइरहनुपर्छ । औषधि पनि गराइरहनुपर्छ । उनीहरूलाई औषधिमा पनि पहिलो प्राथमिकता दिनुपर्छ ।

बालबालिकाको बोल्न पाउने पनि अधिकार हुन्छ । मन लागेका कुराहरू विनाहिचकिचाहट बोल्न पाउने अधिकार हुन्छ । बाबुआमा वा शिक्षकले बालबालिकालाई हप्काएर वा कुटेर बोल्न नदिने गर्न पाउँदैनन् ।

बालबालिकामा विभेदविरुद्धको अधिकार पनि हुन्छ । छोराछोरी नभनीकन विनाभेदभाव बालकले सबै अधिकारको प्रयोग गर्न पाउनुपर्छ । सानो भनेर सहुलियत, खानपिन वा अन्य हेरचाहमा विभेद गर्न पाइन्न । अहिलेका बच्चालाई राम्रोसँग हुर्काउन सके मात्र भोलिको संसार रमाइलो विकसित र सुरक्षित हुन्छ ।

यसैगरी बालबालिकाको अर्को अधिकार भनेको समान शिक्षाको अधिकार हो । पढ्न स्कुल जान पाउने अधिकार हो । हाम्रो देशका नानीबाबुहरूले मात्र होइन संसारका सबै नानीबाबुहरूले पनि स्कुल जान पाउनुपर्छ । यो बाबुआमा, परिवार तथा राज्यको दायित्व हो ।

यसरी नै कुटाइविरुद्धको अधिकार अर्को महत्त्वपूर्ण अधिकार हो । केही वर्ष पहिलेसम्म स्कुलमा केटाकेटीलाई शिक्षकले कुट्थे । अहिले तिमीहरूलाई थाहा छ, अचेल नानीबाबुहरूलाई कुट्न पाइन्न । यो स्कुलको कुटाइबाट बच्न पाउने अधिकार छ तिमीहरूको । घरमा पनि बाबुआमा वा आफन्त कसैले तिमीहरूलाई कुट्न पाउँदैनन् । कुटे भने तिमीहरू सोझै विरोध गर्न सक्छौ । किनभने तिमीहरू भोलि देशको असल नागरिक बन्नुपर्छ । अहिलेको जमानामा देशको मात्र असल नागरिक भएर पुग्दैन, संसारकै असल नागरिक बन्नुपर्छ । राम्रो शिक्षा पाएको र संसार बुझेको योग्य नागरिक बन्नुपर्छ ।

तिमीहरूको ज्यादै महत्त्वपूर्ण अधिकार भनेको शोषणविरुद्धको अधिकार पनि हो । किनभने बालबालिकालाई अभिभावक तथा शिक्षकले जबर्जस्ती काममा लगाएर, खान नदिएर र हकारेर शोषण गरिरहेका हुन्छन् । यसबाहेक बालबालिकामा यौनशोषण पनि भएको देखिन्छ । यस्ता खाले शोषणहरूबाट जोगिनु तिमीहरूको अधिकार हो । यस्ता कुनै खाले शोषण पनि गर्न पाइँदैन ।

नानीबाबुहरू, तिमीहरूलाई घरमा वा स्कुलमा वा समाजमा यी मैले भनेका बालअधिकारहरूको हनन हुनसक्छ । तिमीहरूले स्कुलमा शिक्षकलाई यसो नगर्न भन्न सक्छौ । घरमा बाबुआमा वा परिवारका अन्य सदस्यले पनि तिमीहरूका अधिकारलाई हनन गरेको हुनसक्छ है । तिमीहरूले आफ्ना अधिकारका बारेमा बाबुआमा वा आफन्तलाई निर्धक्क भन्न सक्छौ । किनभने आफ्ना घरमा वा स्कुलमा बालबालिकाको चाहनालाई पहिलो प्राथमिकता दिनुपर्छ ।

बच्चाले जे कुरा पनि सहने होइन, यसका विरुद्ध बोल्न पाउने अधिकार हुन्छ तिमीहरूको । संसारका केटाकेटीजस्तै तिमीहरूको पनि स्वतन्त्रता, समानता आदि अधिकारहरू भएको कुरा अब त थाहा पायौ होला । बालकले आफूलाई मन लागेको कुरा गर्न पाउनुपर्छ । साना नानीबाबुहरूलाई सम्झाउनुपर्छ । फुल्याउनुपर्छ । कुराकानीको माध्यमबाट बालबालिकालाई बुझाउनुपर्छ ।

अब त बालबालिकाका अधिकारका बारेमा धेरै कुरा बुझ्यौ होला । कसैले तिमीहरूका यी अधिकारहरूलाई मानेनन् भने उनीहरूलाई सम्झाउनु । यति गर्दा पनि मानेनन् भने तिमीहरूले पुलिसमा उजुर गरिदिनु है ।  

अहिलेलाई यत्ति ।

तिमीहरूलाई सदैव माया गर्ने  

अमेरिकाको हजुरबा ।

प्रकाशित: ६ श्रावण २०७७ ०६:३५ मंगलबार

जुनकिरी