कला

सबिता बरालका १० मुक्तक

मुक्तक

सबिता बराल

लुटिरह्यो समयले, लुटाइरहें  नबोलेरै,

अनगिन्ती ब्यथाहरू छुपाईरहें नबोलेरै।

अघाएर आउँदा ऊ, तिर्खाउँथे म सधैं,

प्यास खपेर भित्रभित्रै लुकाइरहें नबोलेरै।  

०००

जसले कसैको केही बिगारेको हुँदैन,

उसैको शिर भगवानले कहिल्यै छुँदैन।

त्यस्तैलाई मात्र आँसु कति दिन्छौ भगवान?

जो भिडमा आँसु देखाएर कहिल्यै रुँदैन।

०००

म पनि त तिम्रो दिवानी भएछु,

तिम्रो प्रेमकथाको कहानी भएछु।

गल्ति भो मबाट देऊ अब सजायँ,

त्यो मुटु भित्रको निशानी भएछु।

०००

तिमी मात्र मेरै हुन्थ्यौ भने कस्तो हुन्थ्यो,  

ती हातले मलाई नै छुन्थ्यौ भने कस्तो हुन्थ्यो।  

हृदयदेखि मन खोलेर ब्यथा साझा सम्झी,  

मैसँग दिल खोलेर रुन्थ्यौ, भने कस्तो हुन्थ्यो।

०००

मेरै मुटुलाई बनायौ निशानी,

तिम्रै यादले भिजेको हो सिरानी।  

लाखौं कोसिस गर्नेले सकेनन्,  

तिमीलाई रोजें नबनाऊ है बिरानी।  

०००

न तड्पाउ भो वियोगमा ढलाएर जाऊ,  

ढलाई सकेपछि लास जलाएर जाऊ।  

खरानी भै सक्नेछु हेर्दाहेर्दै तिम्रै सामु,  

त्यै खरानी तिनै हातले चलाएर जाऊ।

०००

यो दिलको हाल सायद उसले बुझ्ने भए,  

मेरो जस्तै उसका पनि मुटु दुख्ने भए।  

यी आँखाले आँसु होइन, सपना बोक्थ्यो होला,  

मैले जस्तै उसले पनि मलाई पूज्ने भए।  

०००

नलगाउनु माया लाएँ गल्ती मेरै भयो,

परिस्थितिको सामना जति सबै मेरै भयो।

मुटु झिकेर उपहार दिएकै थिएँ तिमीलाई,

महान तिमी भयौ तर खती मेरै भयो।  

०००

आँखामा सपना मनमा प्यार छ,  

जिन्दगीमा मात्र तिम्रै इन्तजार छ,  

अनुकुल समयको पर्खाइमा छु प्रिय,  

जिउने कला दुनियाँलाई देखाउन हतार छ।

०००

नमिठो अतितलाई भुलेर हेर,

जो आज छ उसलाई अपनाएर हेर।            

आउने समय आफैं सुधारिने छ,  

एउटा सानो प्रयास गरेर हेर।

प्रकाशित: ६ श्रावण २०७७ ०१:५६ मंगलबार

अक्षर मुक्तक