आचार्य प्रभा
‘सुष्मा आज बुवालाई के भएछ ? बोल्दा पनि बोल्नु हुन्न। मुखै निन्याउँरो छ।’ रविनले श्रीमतीलाई सोध्यो ।
सुष्माले रूखो स्वरमा भनी, ‘ के जानु, सासू भए पो सोध्नु ।’
– होइन सासु न ससुरा, के फरक पर्छ र । बिरामी हुनु भा होकि केही चाहिएको हो । त्यति सोध्न त सकिन्छ नि ।
‘म सक्दिन जहिल्यै अस्नाईत गर्न। केही भन्नु छ भने उहाँले पनि भन्दा त हुन्छ नि।’ फेरि सन्की सुष्मा।
रविन मौन बन्छ र सोंच्छ, ‘हो हुन त सासू भए सुष्मालाई पनि सोध्न सजिलो पर्थ्यो। लोग्ने मान्छेलाई बुहारीले सोध्न पनि अप्ठ्यारो नै पर्छ।’
यति सोचेर रविन बाको कोठामा पस्छ। बा आँखा बन्द गरेर ढकिरहेका हुन्छन्। उसले बालाई सोध्छ, ‘बुवा, हजुरलाई सन्चो छैन कि क्या हो ?’
बुवाले आँखा खोल्छन् र छोरालाई हेर्दै भन्छन् , ‘शरीर सन्चै छ तर मन बिसन्चो छ।’
रविनले आग्रह गर्छ, ‘किन के भो मलाई भन्नु न ।’
‘के भो भन्नु बाबू, तँ पनि घरमा बस्न पाउँदैनस्। किन हो कुन्नि बुहारी मेरो छेउमै पर्न धक मान्छिन्। छोरी र बुहारीमा फरक हुन्न जस्तो लाग्थ्यो तर मेरो सोच गलत रैछ। आज मेरो अप्रेसन गरेको ठाउँ निक्कै दुख्यो। औषधि निर्क्यौल गरेर खान सकिनँ। बुहारीलाई कति पटक बोलाएँ। सुने नसुने जस्ती गरिन्। अनि घाउभन्दा मनै झन् दुख्यो।’
बुवाको कुरा सुनेर रविनलाई नमीठो लाग्यो। बुवाको कोठाबाट निस्कियो र कोठामा गएर सुष्मालाई भन्यो, ‘सुष्मा, बुवाले बोलाउँदा तिमीले किन नसुनेकी । बुवालाई अप्रेशन गरेको ठाउँ दुखेको रहेछ। सोध्न त सक्थ्यौ।’
सुष्मालाई भाउन्न छुट्यो र मुख पड्काई, ‘के मैले बुवाको अप्रेशन गरेको ठाउँमा हेरूँ त ।’
रविनले भन्यो, ‘तिमीले सोधेर औषधि दिन सक्थ्यौ नि ।’
सुष्मा फत्फताउन थाली, ‘यही त अप्ठ्यारो बरु एक्लै परेकी सासू पाल्न सजिलो। स्वास्नी नभाका ससुरासँग बस्नै अप्ठ्यारो।’
रविन जंगियो, ‘सुष्मा तिमी मनपरी नबोल । मेरो बुवाले तिमीलाई त्यस्तो के गर्नु भो ?’
कोठाबाट बुवाले छोरा र बुहारीको तर्क सुनेपछि भित्तामा टाँगिएको पत्नीको तस्वीर हेर्दै तरर आँसु बगाउँदै भने, ‘लक्ष्मी, बरु म अघि गएको भए तिम्ले त यस्तो वचन सुन्नु नपर्ने रहेछ।’
प्रकाशित: ४ श्रावण २०७७ ०८:२० आइतबार