कला

महिला लेखनका कुरा

सिकारु अवस्थामा साहित्य लेखन रहरको विषय होला। लेख्दै गएपछि आफ्नो लेखनले कसैलाई छुन्छ, त्यसपछि भने त्यो लेखन जिम्मेवारीबोध बन्ने गर्छ। महिलाहरू पछिल्लो समय साहित्य र समसामयिक लेखनमा तीव्रताका साथ अघि बढिरहेका छन्। साहित्यका कुनै पनि विधामा वाग्वैदग्ध्यको क्षमता प्रदर्शन गरिरहेका छन्। संख्यात्मक र गुणात्मक बढी घटीको कुरा आफ्नो ठाउँमा होला। यो व्यक्ति विशेषको मूल्यांकनमा फरक पर्ने कुरा पनि हो। समग्रमा, लेख्ने उत्साही मनहरूको निब धारिलो बन्दै गइरहेको छ। गर्व गर्ने विषय यहाँनेर छ। यो अवस्थालाई महिला स्रष्टाले जोगाइराख्न चुनौतीपूर्ण छँदै छ।  

आफ्ना लेखनमा केही कमजोरी रहे पनि लघुताभासको अनुभूति नगरी निरन्तर साधनामा जुट्नु असल लेखनको कर्म हो। लेख्दालेख्दै लेख्न जानिन्छ। निरन्तरको लेखनले आत्मविश्वास बढाउँदै लान्छ। लेखन सीप झ्यांगिदै जान्छ। कसैले सुन्दर प्रतिक्रिया दिऊन् कि नदिऊन्, त्यसको अपेक्षा नगरी निरन्तर आफ्ना विचार पोख्न पछि हट्नु हँुदैन भन्ने मलाई लाग्छ। अपेक्षा, उपेक्षा आफ्नो ठाउँमा होला। लेखकले आफ्नो लेखकीय धर्म निर्वाह गर्न चुक्नु हुन्न भन्ने लाग्छ।

केही समय अघि आफ्ना लेखन अनुभव सुनाउन साहित्यिक समूह, ‘आह्वान’ ले एउटा कार्यक्रम संयोजन गरेको थियो। २०७६ मंसिर २० गते १७ महिला लेखक बूढानीलकण्ठको एउटा रिसोर्टमा भेला भएका थियौँ। घरको जिम्मेवारी एक दिन भए पनि अरुलाई सुम्पेर रिसोर्टको साहित्यिक बहसमा यति धेरै महिला जुटेको पहिलोपटक नै थियो होला सायद।  

‘अबको हाम्रो लेखन कस्तो हुनुपर्छ ?’  
‘लेखन क्षेत्रमा लागेर भोगेका अनुभव के के छन् ?’
‘महिला लेखकले लेखन तथा प्रकाशनमा के कस्तो समस्या भोगिरहेका छौँ ?’
‘आफ्ना लेखनबारे कस्ता खालका प्रतिक्रिया पाइएको छ ?’ भन्ने प्रश्नमा छलफल केन्द्रित भएको थियो।

पालैपालो त्यहाँ उपस्थित साथीहरूका अनुभव सुनेका थियौँ।

आह्वान समूहका परिकल्पनाकार डा. अर्चना थापा, उपन्यासकार उमा सुवेदी, निबन्धकार कुमारी लामाले विभिन्न प्रश्नमा हामी सहभागीलाई उत्साहित गराइरहे। डा. गीता त्रिपाठी, विमला तुम्खेवा, ज्ञानु अधिकारी, हरिमाया भेटवाल, गीता रेग्मी, अनुपम रोशी, सविता विमली, बिना थिङ, ज्योति जंगल, रञ्जना निरौला, दीप्स शाह, शान्तिमाया गिरी र लक्ष्मी रुम्बाका अनुभव मनभरि गुन्जिरहे।  

शुक्रबारको साँझ रिसोर्र्टमा भेला भएर शनिबार बिहानसम्म विविध विषयमा छलफल गरियो।    

साहित्य सर्जकभित्रकै एकथरी वर्ग एउटै विषयलाई पनि शैली र शिल्प परिवर्तन गरी–गरी लेखिरहेका छन्। चिया पसलमा होस् वा कुनै पनि ठाउँमा उनीहरू आफ्नो लेखनको अन्तक्र्रिया गर्छन्। प्रकाशन गर्नुपूर्व थुप्रै सर्जक तथा पाठकलाई देखाउन भ्याउँछन्। परिमार्जनका लागि प्रशस्त समय खर्च गर्छन्। तर, हामी हत्तपत्त कसैलाई देखाउँदैनौ, अन्तक्र्रिया गर्दैनौँ। आफ्नो साथी सर्कलमा देखाउने, अन्तक्र्रिया गर्ने समय जुटाउन सक्दैनौँ।

हामीहरूका अनेक भूमिकाले उसै पनि समयबाट वञ्चित छौँ। यसको प्रत्यक्ष असर हाम्रो लेखनीमा पर्छ नै। यसो भन्दै गर्दा, हाम्रा लेखन सतही हुन्छन् भन्ने होइन। अलि–अलि माझिन, कसी लगाउन बाँकी होलान्। जति धेरै समय खर्चियो लेखन उत्ति नै सशक्त बन्छ। लेखनको अन्तर्वस्तु, त्यसले दिने सन्देश, त्यसको भाव पक्ष, भोगाइ आदि विषय गौण हुन सक्दैनन्।  

विडम्बना, हाम्रा एकथरी साहित्यिक मित्रहरूले ‘यसले के लेखेकी होली र ? न केही साधना छ, न विषयवस्तुको ज्ञान नै छ’ भन्ने हेय भावले होच्याउँछन्। हाम्रा लेख–रचना पढ्न खोज्दैनन् । पढिहाले पनि नपढेझैँ गरिन्छन्। कमेन्ट दिन गाह्रो मान्छन्। हाम्रो लेखकीय क्षमतामाथि प्रश्न गर्छन्। पारिवारिक गन्थन र भात–भान्सा मात्र लेखी भनेर उडाउँछन्। हाम्रो अध्ययनको विविध पाटोलाई नजरअन्दाज गर्छन्। एउटा सर्जकले अर्को सर्जकको अस्तित्व स्वीकार गर्न किन यति धेरै कठिन होला ? रुचि र धैर्यता भएपछि जसले पनि लेखकीय गहिराई छिचोल्न सक्छ भन्ने किन बुझ्न खोजिँदैन वा बुझपचाइन्छ ?  

हाम्रा यी मन्थन गुनासाजस्ता सुनिए पनि गहन प्रश्न थिए। किनभने, हामी यी प्रश्नले वर्षौंदेखि प्रताडित भएका थियौँ। यिनको उत्तर खोज्न सजिलो पक्कै थिएन। महिलाको इच्छाशक्ति, जाँगर र धैर्यता मात्रले पनि यो प्रश्नको उत्तर भेटिन्नथ्यो। महिला सर्जकलाई हेर्ने नजरमै सुधार गर्नुपथ्र्यो। हामीलाई हेर्ने चस्माको लेन्स नै फेर्नुपथ्र्यो।  

हुन पनि लिंग, वर्ग, वाद र गुटभन्दा माथि रहेर एकले अर्काको रचना पढिदिने, परिष्कार गरेर सुझाव दिने हो भने महिला लेखनको स्तर पनि कति परिष्कृत हुँदै जाने थियो। यो यथार्थमा हुन सकेन। अब यो जिम्मेवारी हामी आफैँमा आएको महसुस गरियो। अरूको मुख ताक्नुभन्दा हामी आफैँले यो काम किन नगर्ने ? हामी सबैका आँखाले कमी–कमजोरी छिचोल्न नसक्ने त्यस्तो कुन विधा होला र ! अबदेखि हामी महिला लेखकले एक–अर्काको रचना पढेर कमी–कमजोरी केलाइदिने र लेखनमा पनि सघाउ पु¥याउने कुरामा जोड दिइयो।  

खुसीको कुरा, ‘आह्वान समूह’ले महिला लेखकको पुस्तक अन्तत्र्रिmया लगायत महिलाका क्षमता विकासलाई नै जोड दिएर विभिन्न कार्यक्रम गर्दै आइरहेको छ। २०७२ सालदेखि स्थापना भएको यो समूहले हालसम्म ३०औँ शृंखला पार गरिसकेको छ। व्यक्तिगत स्तरबाट साहित्यका क्षेत्रमा यस्तो कार्य गरिनु पक्कै पनि यो उल्लेखनीय कार्य हो। यो सराहनीय कार्यको प्रशंसा जति नै गरे पनि कम हुन्छ।  

भविष्यमा अझै के कसरी अघि बढ्न सकिन्छ भन्नेबारे समूहप्रतिको गुनासो र सुझावमा पनि हामीले छलफल गरेका थियौँ। यस्ता छलफलले महिला लेखनको सीप विकास गर्न र पठन संस्कृतिमा विकास हुनेमा दुई मत छैन। निकै फलदायी लागेको थियो, हामीलाई उक्त भेला।  

लकडाउनका कारण हामी घर बस्न थालेको चार महिना बितिसकेको छ। घर बस्दा–बस्दा निराश र बेचैन भएका स्रष्टामाझ उत्साहको लहर छर्ने अर्को महत्वपूर्ण काम ‘बुकाहोलिक्स’ साहित्यिक समूहले गरेको छ। समयको अत्यन्त राम्रो सदुपयोग गरेर वरिष्ठदेखि कनिष्ठ स्रष्टालाई एउटै मञ्चमा यसले बाँध्दै आइरहेको छ। यो समूहले ‘बुकाहोलिक्स’को पेजमार्फत दर्जनौँ साहित्यकार निम्त्याएर उनीहरूका लेखन अनुभवलाई सेयर गरिरहेको छ। कैयौँ महिलाले आफ्नो लेखन अनुभूति हामीबीच बाँडिसकेका छन्। यो काम अत्यन्त सुन्दर र पृथक् लागिरहेको छ। यसका लागि सगुना शाह धन्यवादको पात्र बनेकी छन्। यसले पनि हाम्रो लेखनीमा सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।

यसै क्रममा गएको साता बुकाहोलिक्सको पेजमा प्रसिद्ध लेखक, समालोचक प्रा.डा. गोविन्दराज भट्टराई आएका थिए। उनको प्रस्तुति अन्य साहित्यकारको भन्दा बिल्कुलै भिन्न र रोचक लागेको थियो। उनले दर्शकका हरेक प्रश्नलाई सम्बोधन गरेर उत्तर दिएका थिए। त्यसै क्रममा मैले उनलाई सोधेकी थिएँ, ‘नेपाली साहित्यमा हाल महिला लेखनको अवस्था कस्तो छ ?’  

उनले भने, ‘हाल महिला लेखन उदारतातिर उन्मुख छ। च्यालेन्ज गर्न सक्ने महिला लेखक आएका छन्। हामी कहाँ सप्रेस र कहाँ डिप्रेस थियौँ।  हामीलाई महाआख्यानले कहाँ किचेर राखेको थियो भन्ने बुझ्ने भएका छौँ। अग्रगामी महिलाले यो बुझिसकेका छन्। बुझेर मात्र भएन अब, कलात्मक तरिकाले लेख्न सक्नुप¥यो। एकोहोरो काँचो विरोध गरेर मात्र भएन, परिपक्व ढंगले विरोध गर्न सक्नुप¥यो। हाम्रो पालामा देखिएजस्तो सुस्तता अहिले छैन। प्रायः एक्टिभिस्ट, आर्टिस्ट, नयाँ कला–चिन्तन, विश्व–चिन्तन गर्ने महिला आएका छन्।’  

कला–चिन्तन र विश्व–चिन्तनको अनुभव समेत महिला लेखनमा देखिन थालेको र त्यसको दायरा बढाउनुपर्ने उनको आशय थियो। महिला लेखनप्रति सन्तोष गर्न सकिने अवस्था विकास भइरहेकोप्रति उनको उत्तर केन्द्रित थियो। यसबाट पनि हामीले महिला लेखनको अवस्थाबारे चिन्तन गर्न सक्छौँ। निश्चय नै महिला लेखकले विश्व साहित्यको अध्ययन गर्न जरुरी छ। लेखनमा कलात्मकता र परिपक्वता देखाउन साधना चाहिन्छ। कृति निकाल्न र निखार नआएको रचना सामाजिक सञ्जालमा पोस्ट गर्न  हामीले हतार गर्न हुँदैन।  

केही समयअघि मैले अनलाइनमा एक महिलाको लेख पढेकी थिएँ। विदेशमा बस्ने उनी साहित्यमा भर्खरै प्रवेश गरेको उनको लेखले झल्काउँथ्यो। उनको लेखमा वाक्य संरचना मिलेको थिएन। भाषा पनि मीठो थिएन। हतारको प्रकाशन पनि अलग्गै बुझिन्थ्यो। तर, पुछारमा लेखिएका प्रतिक्रिया भने बडो अजीवका थिए। लेख र प्रतिक्रियाको तादात्म्यता मिलेझैँ लाग्दैनथ्यो। ती प्रतिक्रिया सबै प्रशंसाले भरिएका थिए। अतिशयोक्तिपूर्ण फूलबट्टाले सजिएका थिए।  

मानिसले पढ्दै नपढी प्रतिक्रिया लेखेका थिए। शीषर्ककै भरमा कमेन्टको वर्षा भएको थियो। यो देखेपछि म पनि सोचमग्न भएँ। ‘अहो ! मानिसहरूले त पढ्दै नपढी लेखिदिँदा रहेछन्। कतै मेरो लेखमा पनि यस्तै भइरहेको त छैन ? कतै म पनि यतिन्जेल भ्रममा त छैन ?’ भर्चुअल वल्र्डका साथीको कमेन्ट पनि भर्चुअल नै पो छ कि भनेर झस्किएँ। आफ्नो रचनाबारे कसैले प्रशंसाको भारी बोकाइदिएको छ भने आत्मरतिमा प्रफुल्ल हुन छाडेँ।  

लेखनमा भएको कमजोरी औँल्याइदिने, जे छ त्यही भनिदिने हो भने लेखनमा सुधार हुने थियो। कसैलाई मक्ख पार्न राम्रो मात्र भनिदिँदा त्यो लेखकप्रति अन्याय भएको कुरा कसले बुझ्ने ? लेखक भएपछि प्रशंसा मात्र खोज्नु हुन्न। गल्ती–कमजोरी औँल्याइदिनेप्रति पनि उत्तिकै सहानुभूति राख्नुपर्छ। अनुग्रहित बन्न सक्नुपर्छ।

हुन त यही कुरालाई सकारात्मक ढंगबाट लिने हो भने उनलाई लेखनमा थप ऊर्जा मिल्ला भन्न सकिन्छ। तर, गुण–दोष बराबर औँल्याइदिए लेखनमा अघि बढ्न चाहनेलाई न्याय हुन्थ्यो कि भन्ने मलाई लाग्छ।  

एक त लेख्नै गाह्रो, अर्को छाप्न झनै गाह्रो, अझ छापिएको सामग्री पढेर पाठक वा अग्रजबाट सही प्रतिक्रिया पाउन गाह्रो। आज एउटी महिला लेखक यस्ता थुप्रै चुनौतीबीच साहित्य बजारमा उभिनुपरेको छ।  

अस्ति भर्खर मलाई जर्मनीमा रहेकी एउटी साथीको म्यासेज आयो, ‘मैले एउटा कविता संग्रह तयार गरेकी छु। त्यसलाई प्रकाशकसम्म पु-याउन सहयोग गर्नुप-यो।’  

उसै त धेरै लेखिने र कम पढिने विधामा पर्छ कविता। त्यसमा पनि नयाँ मान्छेको कविता संग्रह यो कोरोना कहरमा छाप्न कुन प्रकाशक राजी होला ? मैले उनलाई कसरी कुरा बुझाउनु ? निरुत्साहित गर्न पनि भएन। साहित्यमा रुचि जागेर कलम चलाउन हिम्मत गरेकी साथीको भावनामा ठेस पु-याउन म चाहिनँ। सिधै सहयोग गर्न इन्कार गरेजस्तो ठहरिने भएकोले मलाई म्यासेजको उत्तर दिन साह्रै गाह्रो भयो।  

उनी आफैँ लगानी गरेर छाप्न पनि ‘सक्दिनँ’ भन्थिन्। मैले उनलाई एउटा आइडिया दिएँ। ती सबै कविताको विषयलाई कथामा ढाल। कतिपय कविता कथाभित्र पनि समेट। गद्य लेखनमा मिठास पनि थपिन्छ। युरोपियन जीवनजगत्का भोगाइलाई सकेसम्म कलात्मक तरिकाले लेख। कथा छाप्न प्रकाशक राजी हुन सक्छन् भनेपछि उनले चित्त बुझाइन्। आफूले लेखेको कुरालाई जनमानसमा ल्याउन नपाउँदाको छटपटीले उनी उस्तै विरक्तिएकी थिइन्। यस्ता दिदीबहिनीको इच्छालाई प्रवद्र्धन गरेर साहित्यमा लगाउन सके महिला लेखनमा केही इँटा थपिने जस्तो लाग्छ। संख्यात्मक लेखनबाटै गुणात्मक लेखनको विकास हुने भएकाले अलिकति चासो देखाउने महिलालाई उत्प्रेरणा आवश्यक छ। गुणात्मक लेखन एकैपटक सम्भव हुने होइन। महिला लेखकलाई थप उत्साहित कसरी गर्ने भन्ने विषयमा बहस चलाउन सकिन्छ। संसारभरका महिला लेखकले के कसरी लेखेका छन् ? उनीहरूको लेखन कहाँ छ, हाम्रो लेखन कहाँ छ, बुझ्न जरुरी छ। उनीहरूको लेखनका विषय के कस्ता छन् ? हामीले फराकिलो भएर सोच्नुपर्छ। विश्व साहित्य धेरैभन्दा धेरै पढ्नुपर्छ। यसले हामीलाई थप उत्साहित बनाउनेछ।    

साहित्यमा उचाइ कायम गरिसकेका अग्रज दिदीहरूको माया र स्नेह हामीले पर्याप्त पाएको महसुस मलाई भएको छ। उनीहरुको हौसला र प्रेरणा हाम्रा लागि मार्गनिर्देश बनेको छ। केही सोध्दा उनीहरूले दिने उत्तरबाट पनि हामीले धेरै शिक्षा लिन सक्छौँ। उनीहरूबाट पाएको मायालाई आत्मसात् गरी कुनै व्यक्तिगत रिसराग, घमण्ड र अभिमान प्रदर्शन नगरी हामी महिला स्रष्टा एक–अर्काको सहयोगी बन्न सक्यौँ भने पक्कै पनि महिला लेखनको क्षेत्र अझ विस्तृत र फराकिलो भएर जानेछ। अनि हामी हाम्रो लेखनमा गर्व गर्ने ठाउँ अवश्य बन्नेछ।

प्रकाशित: ३ श्रावण २०७७ ०३:०२ शनिबार

महिला लेखन