कला

अलामो किल्लामा दुई घन्टा

नियात्रा

क्याप्शन

खेमराज पोखरेल  

सुरुकै कुरो के हो भने म अचेल अमेरिकाको टेक्सस राज्यको सान एन्टोनियो शहरमा बसेको छु । यो कुरा गर्वबोध होइन, परिवेशीय सूचना मात्र हो । यो बसाइ स्थायी पनि होइन, अस्थायी पनि होइन । अस्थायी जीवन बोकेका हामी, के स्थायी – के अस्थायी ? परिवेशीय झोकाले उडाएको नियति त हो रहेछ –स्थायी र अस्थायी पनि । यही स्थायी र अस्थायी सोचभित्र घुम्दो रहेछ जिजीविषा । अहिले यत्ति बुझौं ।

टेक्सस राज्यको सदरमुकाम अस्टिनबाट सान एन्टोनियो पुग्न एकडेढ घण्टा जति लाग्छ । दूरी करीब १५० किमी होला । यो समय भनेको आफ्नो निजी कारमा हो । एकदिन म मेरा भिनाजु शिवजी उपाध्यायलाई भेट्न अस्टिन गएको थिएँ । कुरैकुराको सिलसिलामा उहाँले भन्नुभएथ्यो, ‘कृष्ण, अलामो गयौ ?’

यहाँहरूलाई भनूँ कि मेरो घरायसी नाम कृष्ण हो । र आफन्तमा यही नामले पुकारिन्छु ।  

त्यो बेलामैले ‘गएको छैन’ भन्ने अर्थमा मुन्टो हल्लाएँथेँ ।  

अनि फेरि भन्नु भएथ्यो, ‘अरे तिमी हिस्ट्रीको प्रोफेसर, अनि आएको ६ महिनासम्म पनि सान एन्टोनियोमै बसेर अलामो नगएको !’

भिनाजुका कुराले त घच्चिकै तनाव दिएथ्यो मलाई । मनले उचालिएर अलामो पुगिहाल्ने हतार त गरेथ्यो बिचरा । तर समय न हो । अमेरिका पुगेका मान्छेले बुझ्छन् कि समय मिलान अमेरिकामा निकै चुनौतीको कुरा हो । नेपालमा भए फुर्सदैफुर्सद । अलिकति पैसाको जोहो गरेर टिकट काट्यो – पुगिहालिन्थ्यो । भाषा आफ्नो हुन्थ्यो । पब्लिक साधनमा पहुँच र अपनत्व हुन्थ्यो । तर के गर्ने नेपालको आफ्नो लुर अमेरिका आएपछि लल्याकलुलुक भइहाल्दो रहेछ । नेपालमा ‘सर’ भनेर नमस्ते खान अभ्यस्त भएका म जस्ता बूढा प्रोफेसरको पाइन निकालिहाल्छ अमेरिकामा । हो त्यस्तै भयो मलाई पनि । आफ्नो लुर नभएपछि घुरयान पनि टाढा भनेझैं भएथ्यो ।

जिजीविषा सबैको त कहाँ पूरा हुन्छन् र ! यो अलामो पनि एउटा रहर न रहेछ । जुन हजारौं रहरका रहमा हराउन पनि सक्थो । किनकि हजारौं रहरहरू त यसै पनि हराएकै छन्, उसै पनि हराएकै छन् । तर अहँ, मेरो सवालमा यो अलामो किल्ला त्यो जिन्दगीको भासे रहमा हराएन । समयले एकदिन अनुमति दियो र म श्रीमती तथा छोरी–ज्वाइँसँग अलामो जाने परें । यतिञ्जेल मलाई थाहा भइसकेको थियो कि संसारका कोही पनि मान्छे अमेरिकाको टेक्सस राज्य घुम्न पुगेको छ भने ऊ निसन्देह अलामो किल्ला पुग्छ नै । अलामो किल्ला अमेरिकाका टेक्सनहरूको वीरताको इतिहास हो रहेछ । अलामो चर्च किल्ला टेक्सनहरूको स्वतन्त्रताको प्रतीक हो रहेछ ।

मैले सोचिरहेको थिएँ कि अलामो किल्ला भनेपछि त्यो कहीँ दूरदराजमा होला । ठूलो क्षेत्रफलमा समेटिएको होला । तर अलामो किल्ला त सान एन्टोनियोको डाउन टाउनको मध्य भागमै रहेछ । किल्लाको गेटमै मान्छे भित्र जाने र बाहिर आउने बराम थिए । खचाखच थिए । सभ्य लाइन थियो । होहल्ला थिएन । कोलाहल थिएन । म वल्लो डाँडाबाट पल्लो डाँडामा उन्मुक्त रूपले ‘ए ...काइँला’ भनेर एक बिहानको बाटोमा कराएर सन्देश प्रवाह गर्ने संस्कृति अनुकूलको मान्छे, तर यहाँ त लाग्दथ्यो मान्छे छैनन् । बाहिर फोटो खिचिरहेथे । भित्र खिच्न नपाइँदो रहेछ । गाइड चाहिने भए पैसा लाग्ने रहेछ । नत्र फ्रि । तपाईँ नेपाली हुनुहुन्छ भने बुझिहाल्नुभयो होला, हामीले गाइड लिएनौं ।

लाइन निकै लामो थियो । लाइन छिटोछिटो सरिरहेको थियो । लाइनमा उभिएका एकले नचिनेका अर्कालाई छुँदैनथे । यही बेला मैले राजविराजको राज सिनेमा हलमा टिकट काट्दा भिडले थिचेर झन्डै मारेको र टिकट काट्ने दूलोमा हात अड्किएर पञ्जाको छाला खुइलिएको संस्मरण ताजा भएर आयो । त्यसो त कुनै जोडी अँगालो मारेर किस पनि गरिरहेका थिए नि । भित्र पस्दै गरेका र बाहिर निस्कँदै गरेका मान्छेहरूका पहिरन विविध थिए । किनकि पहिरन भनेको त्यो व्यक्तिको स्वतन्त्रता भन्ने कुरो बुझेको देश भएकाले नेपालमा जस्तो क्वार्र परेर कसैले हेर्दैनथे । त्यो एउटा स्वाभाविक प्रक्रिया मानिन्थ्यो । नेपालमा भए त्यो पहिरनबाट देखिएको दृश्यलाई दिमागका अव्यक्त कुण्ठामा कविले काव्य लेखेर वाहवाही पाउने थिए ।

सामुन्नेमा खण्डहर देखिने एउटा घर थियो । त्यसको अगाडिपट्टि अलामो किल्लामा सहादत प्राप्त गर्ने वीरहरूको नामावली सङ्गमरमरमा लेखिएको थियो । ईँटाले छापिएको चौडा आँगन थियो  र हामी त्यही बाटो भएर मूल घरतिर पसेका थियौं । पस्तापस्तै एउटा ठूलो बैठकजस्तो कोठा थियो । त्यसमा अलामो युद्धमा प्रयोग भएका हतियारको प्रदर्शनी राखिएको थियो । अलामो किल्लाको र त्यहाँको युद्धको डमी बनाएर राखिएको थियो । भित्र मान्छे कुँडुलो परेर आइरहेथे । गइरहेथे । गाइड लिएर भित्रिएकाहरू भने अलामोको डमीनजिकै गाइडको छडीले देखाएको विन्दुमा अलामोको इतिहास खोज्दै थिए । त्योबाट जोडिएरै एउटा क्युरियोको दोकान थियो  र  त्यसमा अलामोसँग सम्बन्धित काइदाकाइदाका चिनोहरू थिए । मोलमोलका थिए । थरिथरिका थिए । त्यो कोठाबाट बाहिरिँदा ठूलो चौर थियो जहाँ अलामोका कमाण्डर  शहीदहरूका सालिकहरू थिए । उनीहरूको योगदान लेखिएको थियो । त्यसको पूर्वपट्टि एउटा टिनको छाप्राको एकाछेउमा रेस्टरुम, त्यसको छेउमा रेस्टुरेन्ट, त्यसको छेउमा फेरि अलामोको चिनोको दोकान थियो । यसैको बीचमा एउटा निकै ठूलो टिभीले अलामो किल्लाको डोकुमेन्ट्री देखाउँथ्यो । त्यो डोकुमेन्ट्री पटकपटक देखाएको देखाएै गरिन्थ्यो । मान्छेहरू आइरहेथे । डोकुमेन्ट्री हेरिरहेथे । हामी पनि त्यहाँ खाली भएका कुर्सीमा बसेर, कोही उभिएर त्यो डकुमेन्ट्री हेर्न थाल्यौँ ।

संयोग थियो हामी पुगेपछि पुन डकुमेन्ट्री सुरु भयो । स्क्रिनमा अलामोको नक्सा देखाइयो । यसको हालको क्षेत्रफल ५ एकड रहेछ (२१७८०० वर्ग फिट)।स्क्रिनमा तल सम्बत देखियो सन १७१६ । स्पेनका रोमन क्याथोलिक मिसिनरीहरूले त्यो क्षेत्रमा प्रवेश गरे । सोही सालदेखि रोमन क्याथोलिक चर्च बनाउन सुरु गरे । हेर्दाहेर्दै एउटा चर्चको निर्माण भयो । सन् १७१८ मा भवन पूरा भयो । टिभीको स्क्रिनमा एउटा मान्छे बुझिने अङ्ग्रेजीमा विस्तारैविस्तारै अथ्र्याई  पनि रहेको थियो । यो चर्च स्प्यानिस रोमन क्याथोलिकहरूको चर्च थियो, किल्ला पनि थियो । दृश्यमा यो चर्चमा रोमन क्याथोलिकहरूले क्रिस्चियन धर्म लिएका अमेरिकी इन्डियनलाई प्रशिक्षण दिँदै गरेको देखियो । सायद यो रोमन क्याथोलिक ब्राण्डको इसाईकरणको अभ्यास थियो टेक्ससमा  र पछि बन्दूक अनि शासन गर्ने प्रपञ्च थियो । यो बेला नेपालका त्यही समयका राजा पृथ्वीनारायण शाहले आफ्ना दिव्योपदेशमा भनेका कुरा सम्झिएँ । र इसाईलाई निकाला गरेको पनि सम्झना आयो ।

टिभी स्क्रिनमा भएका घटनाको वर्णन टिभीकै एउटा स्वरले गर्दै थियो  –

“स्प्यानिस रोमन क्याथोलिक मिसनरीले सन १७४४ सम्म यो चर्चको माध्यमबाट ३ सयभन्दा बढी अमेरिकन इन्डियनहरूलाई क्रिस्चियन बनाइसकेका थिए । र यही बेला यो चर्चलाई मोटो पर्खाल लगाएर किल्लाको रूप दिए । स्प्यानिसहरूको यो गतिविधिबाट टेक्सस सरकार सशंकित भयो । र सन १७९३ मा स्प्यानिस मिसिनरीलाई ब्याण्ड गरियो । त्यसपछि यो किल्लाको नाम स्प्यानिस भाषामा कपासको बोट भन्ने अर्थमा अलामो राखियो ।’

हामी स्क्रिन हेर्दै थियौं कि अलामो किल्लामा टेक्सन र मेक्सिको सेना बीच युद्ध हुनथाल्यो । यो युद्ध भइरहन्थ्यो रे । अलामो किल्ला पटकपटक युद्धस्थल भएको थियो रे । यसै बेला स्क्रिनमा सन् १८३५ देखायो । मेक्सिकन सेनासँग टेक्ससका सेनाले वीरतापूर्वक लडिरहेका थिए । रगतका आहालहरू देखिन्थे । हाहाकार र ठूलो होहल्ला भइरहेथ्यो । सैनिकहरू पुर्लुकपुर्लुक ढलिरहेथे ।

टिभीको स्वर शालीन शब्दमा अथ्याउँदै  थियो –

– सन १८३५ मा मेक्सिकन सेनाले टेक्सन सेनासँग पराजित भएर आत्मसमर्पण गरेकाले अलामो किल्लामा टेक्सन सेना बस्न थाले ।मेक्सिकन सेना फिर्ता भएपछि टेक्सनले अब युद्ध सकियो भन्ने ठानेका थिए । त्यसकारण थोरै सेना मात्र अलामो किल्लामा थिए । तर १८३५ कै फेबु्रअरी महिनामा शान्ता अन्नाको नेतृत्वमा मेक्सिकन फौजले अलामो किलामा आक्रमण गर्यो । यो युद्ध १३ दिनसम्म भयो ।

यता स्क्रिनमा देखाइँदै थियो । अचानोमा राखेर मेक्सिकन सेनाले टेक्सन सेनालाई काट्दै थियो । आहाल बगेको थियो । हेर्दा बीभत्स देखिन्थ्यो । त्यहाँ हेर्न बसेका मानिसहरूको अनुहार दुःखी र मलिन थियो । एकजना टेक्सन हेनरी बर्नेल मात्र भाग्न सफल भए । बाँकी सबैलाई त्यही किल्लामा स्वाहा पारियो । किल्लालाई मेक्सिकन सेनाले पूरै घेरेका थिए । स्क्रिन हेर्ने सबैको मन स्तब्ध भएको थियो ।

फेरि त्यो टिभीको स्वर स्क्रिनमा भन्दै थियो –

– यसपछि टेक्सन सेनाले मेक्सिकोको सेनालाई अलामोबाट भगाउन ठूलो तयारी गरे । यो किल्ला टेक्सनहरूको लागि जीवनमरणको सवाल थियो । टेक्सन सेनाको नेतृत्व स्याम ह्वीस्टनले गरेका थिए । फलस्वरूप सन् १८३६ को अप्रिल २१ मा टेक्सन सेनाले मेक्सिकन सेनालाई परास्त गरी सेनापति शान्ता अन्नालाई कैद गरयो । यसपछि मेक्सिकोबाट टेक्सस सधैंकका लागि स्वतन्त्र भयो र रिपब्लिक अफ टेक्सस हुन पुग्यो । सन् १८४९ मा टेक्सस संयुक्त राज्य अमेरिकामा गाभियो ।  

मान्छेहरू खुइय गर्दै थिए । मैले यो क्रुर युद्धलाई संसारका क्रूर युद्धसँग कल्पना गर्दै थिएँ । इतिहासका निरङ्कुसताहरू कस्ता डर लाग्दा र बीभत्स हुने होला । म नेपालको इतिहासका क्रूर घटना सम्झँदै थिएँ । कोतको पटाङ्गिनीमा नेपालका भारदारहरू काटिँदा कस्तो भएथ्यो होला । के गर्ने नेपालको कोत, भण्डारखाल जस्ता घटनाहरू भएको ठाउँको बारेमा पनि नेपालीलाई नै जानकारी छैन । अमेरिकामा आइपुगेर भए पनि एउटा बीभत्स तर टेक्सनका लािग वीरताको इतिहास बोकेको यो अलामोको भ्रमण गर्दा मन भने नेपालकै हत्या काण्डहरूमा पुगिरहेको थियो । भारतको क्रूर कालकोठरीको घटना पनि दिमागमा आइरहेको थियो । मान्छेले मान्छेलाई सभ्यता निर्माण गर्ने, अधिकार स्थापना गर्ने र शासन चलाउने यात्रामा बलिदान दिएका संसारभरका योद्धाहरूको संस्मरण भयो  र नमन गरें ।  

यता टिभीको स्वर सन् १८३६ को भीषण युद्ध र टेक्सनहरूको वीरताको बयान गर्दै थियो र त्यो अलामो किल्लाको इतिहास बताउँदै थियो –

– टेक्सस अमेरिकामा गाभिएपछि अलामो क्षेत्र बेवारिसे हुन थाल्यो । निजी मान्छेलाई बेच्न थालियो । तर सन् १८९५ मा अदिना इमिला दे जभाला र क्लारा द्रिसकोल नामका दुई बहिनीहरूले अलामो बचाऊ अभियान सुरु गरे । टेक्सनको वीरताको र जीतको इतिहास बोकेको अलामो किल्लाको संरक्षण  गर्न सरकारसामु चौतर्फी दबाब दिन थाले । फलस्वरूप सन् १९०५ मा टेक्ससको व्यवस्थापिकाले विधेयक पास गरेर अलामोका बाँकी अवशेष लियो । फलस्वरूप सन जुलाई २०१५ मा रिभर वाकसहित यो अलामो युनेस्को विश्वसम्पदामा सूचीकृत भयो । उनै दुई बहिनीलाई ‘डटर अफ टेक्सस’ भनी इतिहासले उनीहरूको सम्मान गर्यो ।

म भने अमेरिकाको त्यो युगमा सरकारी जग्गा बेच्ने जग्गा दलालले ढौँटरी मारेको युग रहेछ भन्ने ठान्दै थिएँ । अहिले हाम्रो नेपालमा ठ्याक्कै त्यही उपक्रम भइरहेकोप्रति साह्रै चिन्ता लाग्यो । बालुवाटार सुरक्षित नभएको आफ्नै आँखाले देख्नुपर्दै छ । जग्गा दलाल सल्बलाएको युगमा बाँचिरहेछ नेपाल । नेपालले ‘डटर अफ टेक्सस’ जस्तै वीराङ्गनाहरू खोजिरहेछ । नेपालीहरूले खुकुरीको धारमा ज्यान राखेर जोगाएका यस्ता ऐतिहासिक किल्लाहरू, नेपाली इतिहास बोकेका गढ र गढीहरू अलपत्र परेका छन् । नेपालीलाई नै ती किल्ला, गढको पत्तो छैन भने विदेशीलाई त्यस्ता किल्लामा भ्रमण गराएर सुको कमाउने योजना आउन त शताब्दी नै कुर्नुपर्ने होला ।

उफ, म एकोहोरिएँछु । किनकिन मन नेपालै पुग्छ यो बेला । कुनै कुरा राम्रो देख्दा ‘यो कुरा नेपालमा भए हुने’ भन्ने सोच आइहाल्छ । तर यही बेला स्क्रिनको स्वर भन्दै थियो  – 

–यो अलामो किल्लामा प्रतिवर्ष ३ मिलियन मान्छेले भ्रमण गर्छन् ।

डोकुमेन्ट्री सकिएको थियो । टेक्सन नागरिक त रुँदै थिए । मान्छे फेरि आएका थिए । डोकुमेन्ट्री फेरि सुरु भएथ्यो । हामी त्यहाँबाट बाहिर निस्किएका थियौँ । अलामो किल्लाको युद्धपछि जस्तो रूप भएको थियो, त्यस्तै संरक्षण गरिएको थियो । उनै भत्किएका पर्खाल, गोलीले प्वाल पारेका भित्ताहरू, उही झ्याल, उही ढोका । भित्र हेर्दा लाग्दथ्यो यो त्यही युगको खण्डहर हो । इतिहास सुरक्षाको त्यो चेत कसले दियो होला अमेरिकनलाई । हाम्रो नेपालमा मात्र नभएर दक्षिण एसियामा नै पुराना कुरा भत्काएर नयाँ बनाउने लहड नै चलेको हुन्छ । हाम्रो धरहरा जतिपल्ट भत्क्यो, त्यतिपल्ट नयाँ बन्यो । पुरानो इतिहास मारियो । यहाँ एकछिन उभिएर कल्पिएँ, इतिहास जोगाउन खप्पीस छन् पश्चिमा ।  इतिहास मार्न खप्पीस छन् नेपाली । पुराना सालिक भत्काउँदै नयाँ मान्छेका सालिक बनाएर क्रान्तिकारी हुने देशमा म के भनूँ ?

गेटबाट बाहिर निस्किएका थियौँ । मन अमिलो भएको थियो । नजिकैको कोलम्बियन डार्क रोस्ट कफी एकएक प्याला लिएर घर फर्केथ्यौँ ।  

प्रकाशित: २ श्रावण २०७७ १०:२७ शुक्रबार

घुमफिर अक्षर