कला

जंगलका मान्छे

बाल्यकालीन सम्झना

अच्युत घिमिरे

त्यसबेला हामी त्यस्तै १२ , १३ वर्षका हुँदा हौं । बुबासँगै हामी पनि तामा खोज्न जान्थ्यौं । खेतीपाती नहुने, गरीब घरका मान्छेका लागि बर्खामासमा तामा भरपर्दो तरकारी हुन्थ्यो । त्यसलाई अमिल्याएर हिउँदमा पनि तरकारी बनाएर खान सकिन्थ्यो । दोमुखाको बाटो हुँदै हाम्रो यात्रा अगाडि बढ्थ्यो । घरबाट देखिने झन्डी डाँडो कहाँ होला ? चुली नाघ्दै गर्दा मनले सोच्थ्यो । हामी बुबालाई सोध्थ्यौं, ‘तामा कहाँ पाइन्छ बुबा ? ’

बुबा भन्नुहुन्थ्यो, ‘पूर्वी झोडा, अझै धेरै हिंड्नुपर्छ, हिंड ।’

पहाड नै हो तर चुली भन्थ्यौं हामी । कहिले नाक ठोक्किने डाँडो छिचोल्दै, कहिले दिउँसै अँध्यारो देखिने खोच हुँदै, खुट्टा लर्बराउँदै खोल्साखोल्सी तरेर हामी हिँड्दै गरेका हुन्थ्यौं । तामा खोज्ने काम त्यति सजिलो छँदै थिएन ।

‘पूर्वी झोडा आयो । यतै तामा भेटिन्छ ।’ बुबाको आवाज सुनेर हामी ढुक्क हुन्थ्यौं । तीनचार घण्टा हिंडेर पुगेको ठाउँ, हामीलाई ठूलै युद्ध जितेजस्तो लाग्थ्यो । बुबा भन्नुहुन्थ्यो, ‘होसियारी हुनु है । बाँस झ्याङमा भालु पनि हुन सक्छ ।’

भालुको नाम सुन्नासाथ डरले सातोपुत्लो उड्थ्यो । भालुलाई मन पर्ने खाना नै बाँसको कलिलो मुना रहेछ । केटाकेटी न हौं, तामा भनेको हामीलाई के थाहा ? बुबाले भनेपछि थाहा पायौं, बाँसको भर्खर टुसाउँदै गरेको मुना नै तामा रहेछ । त्यो बेलासम्म हामीलाई तामा जंगलमा मात्र पाइने वस्तु हो भन्ने थाहा थियो । बुबा भन्नुहुन्थ्यो, ‘जंगलको तामा साह्रै मीठो हुन्छ ।’

कुनै कृत्रिमताले नछोएको, जंगलका जडीबुटी, जरुवा पानी खाएर हुर्केका तामा मीठो नहुने कुरै थिएन ।

यही भएर भालु बाँसका झ्याङमा झुम्मिएका होलान् । हामी परैबाट भालु बाँसको झ्यााङबाट निस्केको देख्थ्यौं । हाम्रा गोडा डरले लगलग काम्थे । हामी बाँसको झ्याङसम्म पुग्ने आँट गर्दैनथ्यौं । बुबो ताल परयो भने भालुसँगै युद्ध गर्नेजस्तो निक्कै आँटी हुनुहुन्थ्यो ।

बुबा भन्नुहुन्थ्यो, ‘भालुले मान्छेलाई आक्रमण गरिहाल्दैन । चलाएन भने त्यो आफ्नो बाटो हिंड्छ ।’

बाँसको झ्याङभित्र पसेर तामा भाँच्ने काम बुबाको हुन्थ्यो । हामीलाई पुग्ने तामाको भारी बुबाले नै पुरयाइदिनुहुन्थ्यो ।

बाँसझ्याङै बाँस झ्याङ निस्पट्ट अँध्यारो जस्तो, अलि परको आकृति ठम्याउन बल गर्नुपरथ्यो । वरपर खस्याङखुसुङ भयो भने आङ जिरिङ्ङ हुन्थ्यो । हामी केटाकेटीलाई तामाको भारी बोकेर हिंड्न हतारो लाग्थ्यो । हिंड्दै गर्दा तिर्खाले लागे भीरमा उम्रेको कञ्चन र सफा पानी पिउथ्यौं । हामी खोल्सैखोल्सा बाटो खोज्दै हिंड्थ्यौं । बुबा लटरम्म फलेका फल टिपेर नेवारो खाओ भन्दै दिनुहुन्थ्यो ।

अहो कति गुलियो ! हामी नेवारो टिप्दै खान्थ्यौं । नेवारो जातका सानाठूला दाना भएका दुई किसिमका फल थिए । साना जातको फल खन्यू रहेछ । त्यसको स्वाद त झन् बयान नै गर्न नसकिने थियो । कति रसिलो, बेग्लै मीठोपन । संगै गएका मेरै उमेरका सहयात्रीले के सम्झँदा हुन् । मलाई भने कहिलेकाहीँ त्यो विगतको मीठो याद आउँछ । आज पनि ती फलको स्वाद मेरो जिब्रोमा झुन्डिएको छ । यस्तो लाग्छ, पूर्वी झोडा गइहालूँ र ती स्वादिला फल खाऊँ तर मेरा ती केटाकेटी दिन फर्केर आउँदैनन् । त्यहाँ पुग्न खोज्नु भनेको मात्र कल्पना गर्नु हो ।

खोल्सा नाघेपछि हामी जंगलको गोरेटो बाटो पछ्याउँदै हिड्थ्यौं । झ्याउँकिरीका झ्याउँझ्याउँ आवाज सुनिरहूँ लाग्थ्यो । संगीतको मीठो धूनजस्तो, त्यो एकान्तस्थल बयानै गर्न नसकिने खुसी थियो त्यहाँ ।  

बुबा भन्नुहुन्थ्यो, ‘गल्यौ भने एकछिन थकाइ मार ।’  

बुबाको आवाज सुन्नासाथ आज्ञाकारी विद्यार्थीझैं हामी रूखको ठूलो छहारीमा बस्थ्यौं । मेरा भाइहरू देवीप्रसाद पोखरेल, राजमणि सुवेदी र दाइ महेन्द्र ढकाल बुबाको खूब प्रशंसा गरिहेका हुन्थे । सम्भवतः त्यो अविस्मरणीय यात्राको अवसरले उनीहरू खुसी थिए । सानैदेखि मलाई प्रकृति खूब मन पर्ने । म परपरसम्म रूखका हाँगा हेर्दै हुन्थें । हाँगामा बडो आकर्षक विरालोजत्रै जन्तु खेलेको देख्थें ।

म बुबालाई सोेध्थें ,  ‘के हुन ती ?’

बुबाले भन्नुहुन्थ्यो, ‘पाण्डा !’

म हेरिरहन्थें ती रमाइला दृश्य । अहिले कल्पना गर्छुृ, ‘अहो त्यो स्वर्ग कहाँ पाउनु ।’ एकछिनको थकाइपछि फरि हाम्रो यात्रा सुरु हुन्थ्यो ।

आमाले पकाएको चाम्रे र साँदेको गुन्दु्रकको अचार रमाईरमाई अघि नै खोल्सामा बसेर खाइसकेका थियौं । भोक र तिर्खाले फेरि सताउँथ्यो । खप्नै नसकेर बुबालाई भन्थ्यौं, ‘भोक लाग्यो बुबा ।’

केटाकेटी हुनु पनि कति सजिलो रहेछ । अर्काको पछि हिंड्नुपर्ने, अरूकै आसमा बाँच्नुपर्ने । यो चाहियो भनेर भन्यो भइहाल्यो, पुरयाउनेलाई कति गाह्रो हुन्छ, कुनै मतलब नहुने । 

बुबा हामीलाई जंगलको बीचमा भएको एउटा घरमा पुरयाउनुहुन्थ्यो । हामी छक्क  परथ्यौं । जंगलका बीचमा कहाँबाट घर आयो । टारबारी छ । फलेका हरिया मकैका घोगा छन् । घरमा नौदश  वर्षका दुईतीन जना केटाकेटी छन् । पोलेका मकै खाएपछि हाम्रो भोक शान्त हुन्थ्यो । त्यसबेला म अहिलेभन्दा अलि बढी नै बोल्थें । ती केटाकेटीलाई तिनको नाम, थर सोधेको थिएँ मैले । अहँ, तिनीहरू बोल्दै बोल्दैनथे ।

बुबा भन्नुहुन्थ्यो,‘यिनीहरूलाई नेपाली आउँदैन ।’

मेरो बालमस्तिष्क, म गहिरो सोचाइमा डुब्थें, न समाज छ, पाठशाला, अस्पतालको अनुहार नदेखेका यी जंगलका मान्छेहरू । यिनलाई देशको नाम पनि थाहा रहेनछ ।

प्रकाशित: ३१ असार २०७७ ०६:०६ बुधबार

जूनकीरी घुमफिर