कला

विश्व बाल कविता महोत्सवमा प्रथम भइन् बर्दियाकी प्रश्ना

शैली थिएटरको आयोजनामा गत बैशाखबाट संचालन गरिएको विश्व बाल कविता महोत्सवको नतिजा प्रकाशित भएको छ । विश्व भरिबाट बालबालिकाको कविता आह्वान गरि पहिलो पटक भर्चुअल कविता महोत्सव आयोजना गरेको शैलीले झण्डै तीन महिनामा नतिजा प्रकाशन गरेक हो । कबिहरु महेश पौड्याल, निलम कार्की निहारिका र शकुन्तला जोशीको निर्णायक समुहले कवितालाई मुल्यांकन गरेका थिए।

‘निष्कर्ष मेरो प्रयोगशालाको’ शिर्षकमा कविता लेखेकी बर्दिया गुलरिया कि प्रश्ना सुवेदी प्रथम भएकी छन् । उनी श्री बंगलामुखी राधाकृष्ण थारु मा.वि. कक्षा आठमा अध्ययनरत छात्रा हुन् ।

त्यस्तै बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयकी छात्रा पल्पसा काफ्लेको ‘गाउँ गाउँ जस्तै देखिनेछ’ कविताले द्वतीय पुरस्कार प्राप्त गरेको छ । रोल्पा लिवाङस्थित अर्चित बाबू मर्सिफुलको ‘वसन्त’ कविताले तृतीय पुरस्कार पाउन सफल भएको छ भने नेपाल प्रहरी विद्यालय सांगा काभ्रेका छात्र चिराग तिमल्सिनाको कविता ‘हामी को हौ?’ र नुवाकोट पञ्चकन्याका मनोहर भण्डारीको ‘मैनाचरी’ कविताले क्रमशः चौथो र पाँचौ पुरस्कार पाउन सफल भएको छ ।

आयोजकका अनुसार प्रथम पुरस्कारको नगद राशी १० हजार, द्वतीय ८ हजार, तृतीय ६ हजार , चौथो र पाँचौ क्रमशः ४ हजार र ३ हजार सहित प्रमाणपत्र प्रदान गरिनेछ । कविता महोत्सवमा सहभागी सम्पुर्ण प्रतियोगीलाई सम्मान र सम्झना स्वरुप प्रमाणपत्र प्रदान गरिने आयोजकको भनाई छ ।

महोत्सवकी संयोजक सरस्वती अधिकारी भन्छिन्, ‘हामीलाई नतिजा प्रकाशित गर्न केही समय लाग्यो नै हामीले झट्ट हेर्दा ढिला देखिएको हुन सक्छ, तर हाम्रो प्रक्रियागत हिसाबले हेर्दा त्यति ढिला पनि भएको होइन ।’

शैली थिएटर नियमित नाटक मञ्चन गर्दै आएको एउटा सक्रिय नाट्य संस्था हो । लकडाउन र कोरोना प्रकोपको कारण आफ्ना नियमित कामबाट टाढा भएता पनि बालबालिकामा केन्द्रित रहेर सृजनात्मक कार्य थिएटरले गरिरहेको छ । नेपाल वातावरण पत्रकार समुहको सहकार्यमा अहिले पनि शैलीले ‘नेपालमा मिडिया साक्षरता’ सम्बन्धमा राष्ट्रिय निबन्ध प्रतियोगिता आयोजना गरेको छ ।

प्रकाशित: ३० असार २०७७ १३:३३ मंगलबार

विश्व बाल कविता महोत्सव शैली थिएटर