कला

सत्प्रेम

लघुकथा

लता केसी

पसीना बगाए नि आफ्नै देशमा बगाउनुपर्छ । ढिंडो र गुन्द्रुक खाएर पनि पाखाबारी सजाउन पर्छ भनेर विद्यार्थी अवस्थामा कुर्लिएको जस्तो सजिलो कहाँ हुँदो रैछ र जीवन । सोचमग्न अवस्थामा हराइरहेको थियो, रमेश । उफ , लामो सास फेरयो । केके न गरौँला भनेको त यसरी एक्लै थलिनु पो परयो ।

यो बिरानो देशमा तीन वर्ष बिताइयो । खोई केही त नापिएन । सुन नै टिप्न पाइने भयो भनेर हामफालियो । नफालेर नि के गर्नु ? बुवाको स्वर्गेपछि एक्ली आमाले के गरून् ।  आफैं नि क्यान्सरले पीडित भइन् । भर्खरै भित्र्याइएकी मेरी मुनाको रहर , खोलेफाँडो गरेर घरै बसेको भए अहिले २ वर्षको सन्तान त काखमा हुन्थ्यो । पछुतोको भावमा ऊ एक्लै कल्पिरहेको थियो । के गरुँ,  के नगरुँ दोधारमा परयो, ‘आ बरु फर्किन्छु आफ्नै घर । ’

 केही दिनपछि ऊ घर फर्कियो । सबै खुशी भए । उसले पनि आफ्नो सबै व्यथा बिर्सियो । राति श्रीमती घरधन्दा सकेर कोठामा पसिन् । ऊ अलि सम्भालियो ।

लामो समयपछि लोग्ने नजिक पाउँदा उनी अलि रोमान्टिक पारामा प्रस्तुत भइन् । ऊ अलि पर सर्यो ।खिन्न मनले सोधिन् ,  ‘ के भयो ?’ 

 –  मेरो छेउ नआऊ मुना ।  म तिम्रो योग्य छुँइन । 

‘ अब किन के भयो र तिमीलाई ? ’  आश्चर्य भावमा सोधिन् ।

ऊ अलि अनकनायो । भनूँ कि नभनूँ । कुरा मोडदै भन्यो, ‘मलाई कामबाट निकाल्यो अनि म घर आएँ । बरु तिमी अर्को बिहे गर ल ।  मायालु स्वरमा भन्यो ।

 –  के भनेको  ?  उनी झन् नजिक गइन् ।

 –  म तिमीलाई जीवनमा साथ दिन नसक्ने भएँ । मलाई  ...!

गला अवरुद्ध भए , बोल्न सकेन  ऊ ।

लोग्नेको अनुहार पढिन् र भनिन् ,  ‘तिमी त मेरो सिन्दूर हौ प्रिय , तिमीलाई कुनै घातक नै रोग लागेको भए पनि म त जीवनभर तिमीलाई साथ दिएर तिम्रो सेवा गरेर बस्नेछु ।’     

प्रकाशित: ३० असार २०७७ ११:१६ मंगलबार

अक्षर लघुकथा