कला

लोकमा चतुर देखिन्छन् भानुभक्त

भाग्यशाली अधिकारी

भर जन्म घाँस् तिर मन् दिइ धन कमायो

नाम् क्यै रहेस् पछि भनेर कुवा खनायो

घाँसी दरद्रि घरको तर बुद्धि कस्तो

मो भानुभक्त धनि भैकन अज यस्तो

उपर्युक्त हरफहरूका बारेमा हाम्रो समाजमा कताकति टिप्पणी गर्न थालेका छन् । यो कुरा कतिलाई ज्ञात पनि हुनुपर्छ । कुनै भन्छन् त्यो जमानामा तनहुँ जस्तो ठाँउमा घाँस काटेर बेच्ने चलन कहाँ थियो होला र ! काठमाडौंमा नै भनेको भए पनि बरु हो कि त भन्ने हुन्थ्यो होला यो हुनै नसक्ने कुरा हो ।

यो घाँसीले घाँस काटेर बेचेर धन कमाएर कुवा खनायो भन्ने कुरा अल्लि अपत्यारिलै भयो भन्छन् ।

अर्को अन्त कतै उनले “मो” भन्ने शब्द प्रयोग गरेका छैनन् । यहाँ मात्रै उनले “मो” भानुभक्त धनी भैकन आज यस्तो भनेका छन् । त्यसकारण यो भानुभक्तले लेखेका नभएर यो मोतिराम भट्टले लेखेर थपिदिएका हुन भन्छन् । समाज एउटा गतानुगतिको लोक हो भन्ने चलन छन् । हुन पनि हो काम गर्ने एउटा हुन्छ अरू सबै त्यसैको पछि लाग्ने हुन्छन् । कतिले यो पत्याउन पनि सक्दछन् ।

यो कुरा जहिलेदेखि आयो हाम्रो जनमानसमा त्यतिबेलै यसको समाधान हुनुपर्ने थियो ।  भएन जेसुकै होस् भनेर छोडिदिए । कविको कुरा कविले नै बुझ्छन् भन्छन् । के यो कुरा कविले पनि नबुझेको होला र !

गद्य कविता लेख्दा त कविहरूले प्रतिकात्मक रूपमा लेखिएको हुन्छ । अनुसारले अर्थ लगाउनुपर्छ । यो त छन्दवद्ध कविता हो । यसमा सबै विवरण जस्ताको तस्तो अर्थ लाग्ने कहाँ हुन्छ । लक्षणा , व्यञ्जना वृत्तिबाट बुझनुपर्ने हुन्छ । तर यो त अभिधा वृत्तिबाटै बुझिने छ भन्ने लाग्छ । 

यसको आशय हो घाँसी जीवनभर घाँस काटेर हिँड्ने गर्दथ्यो । यस्तो सधै घाँस काटेर हिंड्ने गरीब मान्छे घाँसीले पनि धन कमायो र मरेपछि पनि मेरो एउटा कुनै कीर्ति रहोस् भनेर उसले कुवा खनायो तर म यस्तो धनी भानुभक्त भएर मैले केही गर्न सकिन । केही गरेको छैन भनेका हुन् । घाँसीले घाँस काटेर बेचेर धन कमायो भनेका हैनन् । अर्थको अनर्थ बुझनु एउटा विडम्वना हो ।

अब आयो “मो” को कुरा म हुनुपर्ने ठाँउमा “मो” किन लेखे उनले त्यहाँ दीर्घअक्षर लेख्नुपर्ने हुन्छ म लेखून् त रस्व भयो । “मो” लेखे पनि मानिसहरूले म नै बुझछन् भनेर “मो” लेखेका हुन अरू अनावश्यक टिप्पणी गर्नु बेकारै हो ।

कुनै यो त मोतिराम भट्टले लेखेका हुन भन्ने पनि छन् । हामी आफै पनि सोचौ कि आफूले लेखेर अरूले लेखेको भन्नुपर्ने किन आवश्यक परयो । आफूले  लेखेपछि आफैले लेखेको भनिहालिन्छ नि । हैन र !

र भानुभक्तले रामायणबाहेक १, भक्तमाला २, प्रश्नोत्तर ३ वधूशिक्षा ४ फुटकर कविता गरी चार प्रकारका कविता लेखेका छन् । एउटा उनलाई मान्नुपर्ने कुरा यो पनि छ कि त्यस्तो त्यो नेपाली शब्द शुद्ध र प्रष्ट नभैराखेको बेलामा पनि त्यति मिठासपूर्ण तरीकाले अहिले पनि हामीलाई मोहित पार्ने खाले जुन जीवन्त अजरामर रामायण लेखेर छोडे यो ठूलो कुरा हो ।

त्यसमा पनि अझ स्वतन्त्र  आफ्ना विचार प्रवाह गरेर नितान्त वैयक्तिक सोचविचारबाट जुन चार किसिमका कविता लेखेका छन् । त्यसले पनि उनलाई अझ माथि उठाउने काम गरेको छ । त्यतिबेला उनले फुटकर कवितामा भनेका छन् –  

चपल अवलाहरु एकसुरमा ।

गुन केशरिको फुल ली शिरमा

भानुभक्त काठमाडौ आउँदा उनले सानासाना नेवारी बालबालिकाहरू सिंगारपटार गरी फुरुक्क पारेर टाउकामा फूल सिउरयाएर निकालेको देखेको हुनुपर्छ । अझ नेवारी पोसाकमा कम्ता राम्रा देखिदैनन् बालबालिकाहरू यस्तो कान्तिपुरी नगरी भनेर बयान गरेका छन् ।

अति शूर र वीर भरी नगरी

छ त कुन सरि कान्तिपुरी नगरी

उनी काठमाडौं घुम्न दशै वरिपरि आएको हुनुपर्छ । त्यो बेला खुला मञ्चमा फुलपाते बडाइँ लाएको देखेर चपला अवला पनि उनले त्यतिबेलै देखेका हुन, किन नेवारी चहलपहल पनि त्यतिबेला अल्लि बढी नै भएको हुन्छ । यसर्थ बयान गरेका हुन ।फुलपाते बडाइँमा साँच्चै हाम्रो  टुँडिखेल मात्र नभनौँ काठमाडौं उपत्यका नै बेग्लै एउटा रंगमञ्च जस्तो भएर सिँगारिएको हुन्छ र गुर्जुका पल्टनले खुकुरी भिररे बन्दूक बोकेर बेन वाजा बजाएर हिँड्दा साँच्चैको यो एउटा वीरभूमि नै हो कि क्या हो भन्ने मान्छेलाई भान पर्छ र उनले बयान गरेका हुन् ।

अब  वालाज्मूका कुरा आयो उनी भन्छन्

यति दिनपछि मैले आज बाला जि देख्याँ

पृथिवि तल भरीमा स्वर्ग हो जानि लेख्याँ

त्यतिबेला बालाज्यू साँच्चैको स्वर्ग जस्तै थियो भन्न सकिन्छ । चारैतिर हरिया लहराहरू पल्लवित ढकमक्क फूलैफूलले सोभायमान वरिपरि हरिया वातावरण बाइस धाराको कलकल ध्वनि चारैतिर तरु लतिकामा चराहरूको चिरविर आवाज यस्तो ठाउँमा बसेर कविता लेख्न पाए त्योभन्दा ठूलो आनन्द अरू कहाँ गएर प्राप्त होला र । त्यसैमाथि असल सुन्दर युवती नचाउन पाए त झन् आहा इन्द्रले पनि त्योभन्दा ठूलो आनन्द के प्राप्त गरेका होलान र भनेर बयान गरेको पाइन्छ र भनेका छन् –

गजाधर सोतीकी घरबुढि अलक्षिन् कि रहिछन्

नरक जानलाई सबसित विदावादि भइछन्

अहिलेसम्म पनि हाम्रो समाजमा मातृदेवो भव दितृदेवो भव अतिथिदेवो भव भन्ने चलन छन् ।  परापूर्वकालदेखि चल्दै आएको कुरा हो त्यो बेला समाजमा झन् व्यप्त थिए । त्यो दिन भानुभक्तलाई वास बस्नुपर्ने अवस्था आइपरयो । घर पुग्न सकेनन् । बास खोज्दै गजाधर सोतीको घर पुगे श्रीमानले त बस्न दिएका थिए साँझ परिसकेको थियो । पिँढीमा बसेका थिए श्रीमती आएर को हो के हो यहाँ वास बस्न पाइँदैन । अन्तै गए हुन्छ भनेर साँझैमा उठाएर पठाइन् । त्यो बेला अतिथिलाई बास बस्न नदिनु भनेको ठूलो पाप गर्नु होे । अब त्यो आइमाई नरक जान्छे भनेर लेखिदिए ।

फुटकर कवितामा नै अर्को एउटा कविता यस्तो छ ।

पाँचतोला घिउ गाईको र खसिको वोसो समानै लिनु  

चिउरीको घिउ सोहि भाग करुवा तेल भाग सोही दिनु  

सोड् भाग् कागति रस् मइन् सब समान् तूथो र गन्धक अनि  

फुस्र्रो सिन्दुर गेरू औषध इचार पाँच पाँच मासा पनि ।  

यी सबै मिसाएर एकदम पिनेर धूलो बनाएर लगाएको खण्डमा घाउखटिरा  पनि सञ्चो हुने एउटा अचूक औषधि भएको कुरा लेखेका छन् ।

त्यस्तै भक्तमालामा यस्तो बताइएको छ .

प्रतिज्ञा मैले यो यमसित गरयाँ जन्मि अब ता

सिताराम् भज्न्या छु विषयहरूमा छाडि ममता

प्रतिज्ञा सो विर्सिकन जनधनै खोजि डुलियो

सिताराम् भजन्या हो शिव शिव उसै आज भूलियो

एउटा भनाइ छ जब हामी गर्भमा हुन्छौं  त्यतिबेला सदार्सवदा ए भगवान् ! कुनै पापकर्म गर्ने छैन । मलाई यहाँबाट जसरी पनि बाहिर निकालिदिनुस् भनेर पुकार गर्दछौं । अनेकौं  अनुनयविनय गर्छौं जब त्यहाँबाट बाहिर निस्किन्छौं अनि त्यो सारा बिर्सिएर धनसम्पत्ति कमाउनतिर र पापकर्म गर्न  पो लाग्छौ भनेर प्रष्ट पारिएको छ ।

प्रश्नोत्तरमा उनी भन्छन् ।

अपार संसार समुद्र महाँ  

डुब्याँ शरण् कुन छ मलाइ यहाँ,  

चाँडो कृपाले अहिले बताऊ

श्री रामको पाउ छ मुख्य नाऊ,

उपर्युक्त श्लोकमा आफैले प्रश्न खडा गराइएको छ र आफैले त्यसको उत्तर पनि कडा बनाएर दिइएको छ प्रश्न त्यतिकै गौण र त्यसको चित्तबुझदो जवाफ बनाएर दिइएको छ । न प्रश्नमा कसैले खोट लगाउने कुरा छन् न उत्तरमा कसैले खोट लगाउन  सक्छन् । त्यो समयमा यति उच्च कोटिकोे साहित्य रचना गर्नु के चानचुन कुरा हो र !

त्यसपछि वधूशिक्षामा उनी लेख्छन्

एकथोक भन्छु नमान्नु दुख मनमा हे मित्र तारापति

तिम्रा ई जतिछन जहानहरुता जुझ्न्या रहयाछन् अति

त्यो दिन वास्तवमा भानुभक्तको एउटा इतिहास रच्ने दिन रहेछ भन्ने लाग्छ । गजाघर सोतीको घर बास बस्न गए । बास बसिसकेको मान्छे पनि उनकी श्रीमतीले बस्न दिइनन्   । साँझैमा त्यो घरबाट निस्किएर हिँड्न परयो । त्यतिबेला उनलाई कस्तो भयो होला सब कुरा विचार गर्नोस् त अनि उनले यो श्लोक लेखिदिए  

गजाघर सोतीकि घर बुढि अलक्षिनकि रहिछन्

नरक जानालाइ सबसित बिदाबादि भइछन्

उक्त हरफले त्यो बेलामा एउटा तहल्का मच्चायो भन्न सकिन्छ ।  गोठालाखेताला सबले गाए । यसले पनि उनलाई अग्रस्थानमा पुरयाउन मद्दत गरयो ।

अर्को उनी दोस्रोे घरमा गएर बास बसेका थिए । त्यहाँ पनि उनलाई घरपरिवारको भन्दा पनि लेखाइअनुसार सासूबुहारीको दन्तबझानले रातभर निदाउन पाएनन्  । धनदौलतले सम्पन्न छन्  । कुनै कुराको कमी छैनन तर घरमा रातभरि यस्तो दन्तबझान रडाको छन् ।  यसले घरलाई राम्रो गर्दैन । यसले त घरमा अनिष्ट निम्त्याउँछ जसले गर्दा मलाई वधू शिक्षा लेख्न मन लाग्यो र वधू शिक्षा लेखिदिएँ । वधूशिक्षाअनुसार बुहारी पत्नी छोरीहरूलाई तालीम दियौ भने घरमा यस्तो रडाको पर्ने छैन र घरमा शान्ति मिल्छ भनेका छन् । जसले गर्दा कुनै घरका बुहारीहरू खुशी भए । कुनै घरका सासूहरू खुशी भए  । कुनै घरका ससुराहरू खुशी भए । यो समसामयिक कविताले उनलाई माथि उठाउने काम गरयो ।

अहिले आएर भानुभक्तले महिलालाई घोच्याउने काम गरे भनिन्छ  । त्यो होइन त्यतिबेलाको समाजै त्यस्तै थियो । सबैले त्यस्तै चाहेका थिएर लेखेका हुन ।

कविसाहित्यकार भनेका समाजका दर्पण हुन भनेर भनेकै छ र उनले त्यतिबेलाको हाम्रो समाजको स्थिति लेखेका हुन र अहिले आएर हामीले पनि त्यो वेलाको हाम्रो समाज यस्तो रहेछ भन्ने कुरा थाहा भयो नि । त्यसैले गर्दा नै भानुभक्तले त्यतिबेला वाहवाह पाए । वास्तवमा यस्ता समसामयिक कुरा लेख्न भानुभक्त निकै चतुर देखिएका छन् । त्यतिबेला भानुभक्तले यस्तो लेखेका छन् अरे भने  । गोठालाखेताला सबले गाएर हिंडे  । वाहवाह गरे । रामायणले भन्दा पनि त्यतिबेला भानुभक्तलाई समसामयिक कविताले नै लोकप्रिय बनाएको भन्न सकिन्छ ।

प्रकाशित: ३० असार २०७७ १०:२२ मंगलबार

जूनकीरी भानुभक्त आचार्य