कला

मूल्यांकन

लघुकथा

श्रीराम राई

नित्या भन्दै थिइन् ,‘यी हेर्नुस् न नानीले दूध टोकेर हैरान पारिन् । गेडागुडी, हरियोपरियो र फलफूल खान पाए पो दूध आउँछ । नानीले न राति सुत्न दिन्छिन् न दिउँसो काम गर्नै दिन्छिन् । एकछिन यताउति डुलाउनुस् न । एकछिन भए पनि आँखाको बिख मार्नु परयो।’

रामनन्द गनगनाए, ‘केको हल्ला हो यो ? कसैले नपाएको छोरी तैंले मात्रै पाकी छेस् । जहिल्यै डिस्ट्रब गरेको छछ । पश्चिमबाट घाम झुल्किए पनि झुल्किओस् । कहिलेकाहीँ त आनन्दले सुत्न पाऊँ न ।’

एकाबिहानै रामनन्द नित्याले बनाएको स्वादिलो दूधे चिया खाँदै थिए । उनले चियाको स्वादमा फूर्ति बोले, ‘ए नित्या, बालबालिकाको क्षेत्रमा काम गरेबापत आज मलाई सम्मान गरिँदै छ । त्यसैले बेलैमा खान तयार गर है ।’

‘अहिले नधोए बाबूको लुगा सुक्दैन । लुगा नसुके भोलि के लाएर जान्छ स्कुल ? अफिसबाट फर्किँदा ड्राइफर ल्याउनुस् न भन्छु । तर, तपाईं जहिल्यै बिर्से मात्रै भन्नुहुन्छ । एकछिनएकछिनमा सु गरेर एकैछिनमा उरुङ थुप्रिन्छ लुगा । यत्ति धोएर खान पकाइहाल्छु ।’ नित्याले बाध्यता बोलिन् । त्यसपछि कठ्याङ्ग्रिदो माघे ठिहीमा लुगा धुन थालिन् ।

रामनन्द गनगनाउँदै थिए, ‘न घाम लाग्छ न नानी सुत्छिन् । यस्तो जाडोमा बिहानभरि सुत्नु नि । के खानु एकाबिहानै उठ्नु परेको होला । यसो ढुक्कसँग काम गर्न पनि दिँदिन ।’

छोराले कौतुहल पोख्यो, ‘बाबा, गम्लङ्ङ सिरक ओढेर ल्यापटप चलाउँदा त पनि कति सिउसिउ गर्नुहुन्छ  । हेर्नुस् न , यस्तो जाडोमा पनि लुगा धुँदै हुनुहुन्छ आमा ।’

‘ए फुच्चे, आज तेरो बाबालाई सम्मान गर्दै छ । त्यसैले आज केके बोल्ने भनेर म तयार गर्दै छु ।’ रामनन्दले भने।

छोराले सोध्यो, ‘सम्मान के भनेको के हो बाबा ?’

‘राम्रो काम गरेर पुरस्कार पाउनु सम्मान हो । विद्यार्थीले परीक्षामा धेरै अंक लिए पुरस्कार पाउँछन् नि । हो त्यस्तै हो, सम्मान भनेको पनि !’ बाबाले जवाफ फर्काए ।

छोराले छक्क पर्दै सोध्यो, ‘बाबा, आमा यस्तो जाडोमा लुगा धुँदै हुनुहुन्छ । मलाई स्कुल जाने सबै कुरा तयार गरिदिनुहुन्छ । उहाँले चाहिँ कोबाट पाउनु हुन्छ हँ सम्मान ?’

प्रकाशित: २७ असार २०७७ १०:३१ शनिबार

अक्षर लघुकथा