कला

बजेटको बेहाल

लघुकथा

रामकुमार पण्डित क्षत्री

रामकुमार पण्डित क्षत्री

जनावरहरूले जंगलमा मान्छेको सिको गरेर बजेट कार्यान्वयनको खेल खेल्दै थिए । यस्तैमा खरायोले भन्यो, ‘माननीय स्यालज्यू , असार लागिसक्यो । हजुरको सांसद सुविधाको बजेट खेर जान लाइसक्यो । बरु मैले पुरानो ठाउँ छोडेर नयाँ ठाउँमा घर बनाउन ला’को छु । त्यहाँ बाटो र बत्तीको व्यवस्था गरिदिनु परयो ।’  

त्यसपछि स्यालले जवाफ दियो, ‘ओहो, कति बाठो तँ खरायो ! घरघरमा बाटो बनाइदिने काम मेरो होइन, बुझिस् !’  

‘माननीयज्यू, हजुरलाई पनि फाइदा, मलाई पनि फाइदा । बाटो बनाउन लाग्ने आधा खर्च मै व्यहोर्ने भएँ । बिलभौचर मिलाएर अर्को चुनावलाई रकमको जोहो गर्नुस् ।’

खरायोको पछिल्लो प्रस्ताव स्याललाई उचित लाग्यो । काम त्यसै गरयो । काम सकिनासाथ फ्याउरोले भ्रष्टाचार भयो भनेर उफ्रियो । स्यालले जवाफ लायो, ‘तँ फ्याउराले दुइटा बाख्रा पालेर कृषि अनुदान भनी दुई लाख खाएको च्याउ ?’ यसपछि फ्याउराको मुखै बन्द भयो ।

केही समयपछि जंगल प्रमुख सिंहले गर्जिएर बोल्यो, ‘हामीसँगको अरबौँ बजेट कार्यान्वयन हुन सकेको छैन । अब यो जंगलमा नाचगान, रमाइलो गर्नका लागि ठूलो हल बनाउनु पर्ला ।’

सिंहको प्रस्तावलाई इमानदार जनावरहरूले मन पराएनन् । आपसमा भन्न थाले, ‘फँडानी हुँदै गएको जंगल संरक्षण नगरेर उल्टै हल बनाउने रे । कमाउनु परया छ सिंहलाई पनि ।’

त्यसपछि साँढेको पालो आयो । उसले सिंहसामु वेदना पोख्यो, ‘मालिक, म शिवको बहान हुँ । मेरो प्रभु शिव भगवान् बस्ने पशुपति मन्दिर जीर्ण भइसक्यो । त्यसको उद्घार गरिदिनुपरयो ।’

सिंहले साँढेलाई ढाडस दिदैं भन्यो, ‘पीर नगर साँढे ! तेरो पशुपति मन्दिर छिमेकी जंगलका राजाले बनाइदिने भनेका छन् । आफ्नो थैलीको पैसा किन खर्च गर्नु, अरूले हालिदिने भनेपछि ।’

यस्तो कुरा सुनेपछि अरू इमानदार जनावरहरू छक्कै परे । यति भनेर उनीहरूले खेल टुंग्याए, ‘आफैसँग रकम भईभई अर्काको आश गर्ने कस्तो खाते रहेछ ! चाहिने ठाउँमा खर्च गर्दैन । नचाहिने ठाउँमा चाहिँ खस्खस्खस् गरिरहन्छ ।’

प्रकाशित: २७ असार २०७७ ०९:२२ शनिबार

अक्षर लघुकथा