कला

सागर उदासका तीन गीत

गीत

सागर उदास

जीवनमा आँसु कति पिउँ?  

के हो जीवन घामपानी, बादल होकि झरी

दुख्छ जीवन दुःख पर्दा हाँस्ता खुसीभरी।  

 

मनको बह छल्किएर आँसु पनि खस्छ  

दिलको फाँटैभरि कहिले पहिरो पनि झर्छ।  

रोकिदिऊँझै लाग्छ सास आशा बिर्सिदिऊँ  

जिउनलाई जीवनमा आँसु कति पिऊँ?

 

मन उड्छ सिमलको भुवा उडेसरी  

साँझबिहान विरहले पोल्छ छातीभरि  

लागेकै छु अझै पनि जीवन सफल पार्न

तिम्ले जित्नु सधैंभरि म तयार छु हार्न।

 

के हो जीवन घामपानी,  बादल होकि झरी

दुख्छ जीवन दुःख पर्दा हाँस्ता खुसी भरी।  

 

मसानघाटमा पनि माया

साँध लगाउनु पर्दैन भो मायामा साँध हुन्न  

पिरतीमा रमाई सक्नुपर्छ सधैं चन्द्र छुन।  

 

वसन्तको जीवनलाई भन्छौ बगर हो  

देव सम्झी दानवको पूजा नगर भो।  

मनभित्र दुखे पनि बाहिर रुनु हुन्न  

सागर हौ तिमी कहिले पनि सुक्न हुन्न।  

 

चर्को घाम भएदेखि छायाँ रोज्नुपर्छ  

मसानघाटमा पनि मीठो माया खोज्नुपर्छ  

मनभित्र बाढी चल्दा मनकै वाँध लाउनु  

इन्द्रेनीको सातै रङमा सधैंसधैैं रमाउनु।  

 

साँध लगाउनु पर्दैन भो मायामा साँध हुन्न  

पिरतीमा रमाई सक्नुपर्छ सधैं चन्द्र छुन।  

 

कोरोनालाई हराउन  

संसारभरै आतङ्क गराउन आयो कोरोना  

मानव मनलाई डराउन आयो कोरोना।  

 

डरैडर छ हरेक मनमा सत्य कुरा सुन्दा  

सक्रमित बढेका छन् आज, हिजोभन्दा।  

मान्छेहरूकै मन चहराउन आयो कोरोना

मानव मनलाई डराउन आयो कोरोना।  

 

साँझबिहान दिउँसो पनि हात धुनुपर्छ  

कोरोनालाई जित्न हामी एकजुट हुनपर्छ  

सचेत भए सक्दैन यसले क्षति गराउन  

उच्च मनले लागौं हामी कोरोना हराउन।  

 

संसारभरै आतङक गराउन आयो कोरोना  

मानव मनलाई डराउन आयो कोरोना।  

प्रकाशित: २७ असार २०७७ ०४:३७ शनिबार

अक्षर कविता