कला

कोरोना हाई–हाई

बालकथा

सोइना दाहाल

कक्षा : ५

मञ्जरी सेकेन्डरी स्कुल

गल्फुटार, काठमाडौँ

सोइना दाहाल

एक दिन हाम्रा गाउँमा एउटा राक्षस आयो । त्यो डरलाग्दो थियो । त्यो हात्तीभन्दा पनि ठूलो थियो । त्यसका आँखा आगोको भुंग्रोजस्ता राता–राता थिए । उसका लामा–लामा दाह्रा र नंग्रा थिए । ऊ मान्छेलाई सिंगै निल्न सक्थ्यो । उसले मान्छेका घर भत्काइदिन थाल्यो । उसले रूख ढलाउन थाल्यो, चराका गुँड भत्काउन थाल्यो । गाउँलेहरू ऊसँग लडाइँ गर्न पनि आए । तर उनीहरूको केही सीप लागेन । उनीहरू डराए । उनीहरूले भने, ‘तिमी के भन्छौ हामी मान्न तयार छौँ तर तिमी हामीलाई जथाभावी नमार ।’  

राक्षसले हाँस्दै भन्यो, ‘मेरा लागि सधैँ प्रशस्त फलपूmल, तरकारी, माछामासु, अन्डा र मिठाई लिएर एउटा मान्छे पठाऊ ।’

मान्छेहरूले सोचे– ‘यसो गर्ने हो भने हाम्रा गाउँबाट दिनको एउटा मात्र मान्छे मर्छ नत्र एकैचोटि धेरै मर्न सकिन्छ ।’ त्यसैले उनीहरूले राक्षसकामा खाना लगिदिने पालो बनाए । सातौँ दिनमा हाम्रो घरको पालो आयो ।  

मैले सोचेँ, ‘अहो ! अब को जाने ?’

बुबाले भन्नुभयो, ‘म जाने ।’

मैले सोचेँ, ‘अहो ! बुबा जानुभयो भने त पैसा कमाउने कोही हुँदैन ।’

मैले बुबालाई ‘तपाईं नजानू’ भन्नै आँटेकी थिएँ । आमाले ‘म जान्छु’ भनिहाल्नुभयो ।

मैले फेरि सोचेँ, ‘हैट ! आमा जानुभयो भने त बुबाले हामीलाई खालि ‘पढ् पढ्’ मात्र भन्नुहुन्छ । हामीलाई कसले माया गर्ला !’

मैले आमालाई पनि ‘तपाईं नजानू’ भन्नै आँटेकी थिएँ । त्यति नै बेला भाइले ‘म जान्छु’ भनिहाल्यो ।

मैले सोचेँ, ‘भाइ त सानै छ । ऊ त जानै हुँदैन ।’

म अलि आँटिली थिएँ । त्यसैले मैले ‘म जान्छु’ भनेर जिद्दी गरेँ । आमाबुबाले मलाई रुँदै बिदा दिनुभयो । म राक्षसको खाना लिएर ऊ बस्ने ठाउँमा गएँ । मैले उसलाई डराउँदै बोलाएँ । उसका परिवार मिठो खानेकुरा खान पाइन्छ भनेर आए । संयोगले मलाई त्यति नै खेर हाच्छिउँ आयो । त्यति खेरसम्ममा राक्षस मेरा छेउमै आइपुगेको थियो । उसकी पत्नीले उसलाई पछाडि तानी । उसले पत्नीसँग सोध्यो, ‘मलाई किन तानेकी ?’

उसकी पत्नीले डराउँदै भनी, ‘त्यस केटीका छेउमा नजाऊ ।’

राक्षसले गर्जँदै भन्यो, ‘हामी यस फुच्चीसँग किन डराउने ?’

उसकी पत्नीले झन् डराउँदै भनी, ‘यस केटीलाई कोरोना लागेको छ ।’

मैले कुरा बुझिगएँ– यिनीहरू कोरोनादेखि डराउँदारहेछन् । त्यसैले मैले झन् नाटक गर्दै खोक्न र हाच्छिउँ गर्न थालेँ । म उनीहरूको नजिक–नजिक जान थालेँ । मेरो चाला देखेर उनीहरूलाई मलाई कोरोना भएको छ भन्ने कुरामा झन् बढी विश्वास भएछ । राक्षसको पनि सातोपुत्लो गयो । उनीहरू डराएर त्यहाँबाट सुइकुच्चा ठोके ।  

मैले उनीहरूलाई खोक्दै, हाच्छिउँ गर्दै लखेटेँ । उनीहरू अघि–अघि भाग्दै थिए भने म उनीहरूको पछि–पछि थिएँ । उनीहरू भाग्दै जंगलका माझमा पुगे । मैले उनीहरूलाई कराएँ, ‘अबदेखि तिमीहरूले यसरी कुनै गाउँलेलाई सताएको थाहा पाएँ भने म तिमीहरूलाई कोरोना सारिदिन्छु ।’ उनीहरू त्यहाँबाट कुद्दाकुद्दै जंगलमै हराए । म खुसीले ‘कोरोना हाई हाई ! राक्षस बाई बाई !’ भन्दै चिच्याउन थालेँ ।

मलाई उठाउन आइराख्दा आमाले मैले चिच्याएको सुन्नुभयो । उहाँले मलाई ब्युँझाउँदै भन्नुभयो, ‘के भनेकी नानी ? किन चिच्याएकी ? छिटो उठ ।’  

म त झसंग भएँ । मलाई बल्ल थाहा भयो कि म त सपनामा पो रहेछु ।  

प्रकाशित: २७ असार २०७७ ०४:३६ शनिबार

जूनकीरी