कला

आर्तनाद

लघुकथा

 ‘अपाङ्ग, विधुवा र वृद्धाले पाउने सबै भत्ता कटाउनुपर्छ । यति मात्रै हैन सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको आधा तलब नकाटी हुँदै हुँदैन । उनीहरूले कहालीलाग्दो कोरोनाको जोखिम मोलेर खट्दै छु भनेर मात्रै हुन्छ कि ?’ म धमाधम गफ लाउँदै थिएँ, ‘मेरा त आनन्दको घरैमा जुवाइँ बसाइ छ । बसीबसी तलब आउँछ । मेरी छोरीले सरकारी जागिरमा नाउँ निकालेर एक दिन हाजिर मात्रै गरेकी थिइन् । उनको पनि पो तलब हाल्दिएको रहेछ ।’

मैले नै भत्ता कटाउन जोड गरेको थिएँ ।

सेतै फुलेकी एउटी वृद्धा आएर भन्दै थिइन् , ‘बाबू , तिमी त सरकारलाई राम्रोसँग चिन्छौं । अब हामीले भत्ता पाउँदैनौ रे हो ?’

मैले थाहै नपाएझैं गरेर भने, ‘हैन होला ? कहाँ त्यसो गरेर हुन्छ ?’

उनले भनिन्, ‘बाबू, मेरो त न छोरा छ न छोरी । बोल्नबाहेक केही गर्न सक्दिनँ । म जस्ती बूढीलाई पालेर सरकारलाई के काम र अब !’

म चुप लागेको थिएँ ।

उनले धरमरिँदै भनिन्, ‘हामी आमा हौ बाबू, आमाले दिएको आशीर्वाद लाग्छ । झरेको आँसुले भेट्छ । तर, तिमीलाई आशीर्वाद छ । सधैं पुगिसरी होस् ।’

मैले एक किलो चामल किन्ने पैसा दिँदै भने, ‘आमा, यो सबै दोष पापी कोरोनाको हो । हामीले सरकारलाई पनि खोई के भन्नू र ! सरकारलाई झन् कति गाह्रो छ ।’

उनले भनिन्, ‘नानी, कोरोना त एक दिन एकादेशको कथा हुन्छ । अनि, सरकारमा बसेका चाहिँ म जस्तै वृद्ध हुन्छन् कि नाइँ !’

प्रकाशित: २४ असार २०७७ ०६:४४ बुधबार

अक्षर लघुकथा