कला

त्यो त्यही नैपाल हो

कविता

हेमन्त विवश

जहाँ

अहंमताको चिण्डो बजाइरहेका सम्राट छन्  

आरती उतारी रहेका तिनका भाटहरू छन्  

गांैडागौंडामा, घुम्तीघुम्तीमा

घाटो हेरिरहेका मुकुण्डेहरू छन्  

अनि छन्  

चूक पोखिएजस्तो चिन्ताको आकाश ओढिरहेका मनहरू  

जो धागोबाट फुत्केर किनारा लागेको घुयँत्रोझैं

हेर्दाहेर्दै अडेस लगाइरहेका छन्  

जिन्दगीलाई नै किनारमा

सम्राटहरू कसैलाई केही सोध्दैनन्  

कसैको बारेमा केही बुझ्दैनन्  

कसैलाई चिन्दैनन्  

मौका पाउँदा लुछिदिन्छन् देशका सपेटा

जसरी लुछिरहन्छ गिद्धले सिनो

तिनले देश मात्रै कहाँ

लुछिरहेका छन्, गरिबका सपना पनि

देउसरा !  

यहाँ अझै आइसकेको छैन

तिमीले सोचेजस्तो परिवर्तन

त्यो त्यही नैपाल हो जहाँ भेटिन्छन्  

सम्राटको हैकमले

भयभित बनेर काँपिरहेका

सिद्धार्थ आउजीहरूका पाइतालाका छाप। 

प्रकाशित: २० असार २०७७ १५:१८ शनिबार

अक्षर कविता