कला

बुहारी कजाउनी मन भए...

जिउती संस्कार

कमल तिमिल्सिनाको विवाहमा कोरिएको जिउती चित्र (स्रोत ः पुतली बजार नगरपालिका– ३ गुडिखोला)

बुहारीले गर्दैनन् काम,

मलको डोको बोकेर जाऊ आमा।

गोठ–घर आमाले गर,

घिउको भाँडो भरे’सि फोन गर।

सानु तिमी सुत न सुत,

आमा छिटो उठेर काम गर।

(स्रोतः सीता शर्मा, स्याङ्जा)

स्याङ्जा, पुतलीबजार नगरपालिका–३ की ५२ वर्षीया सीता शर्माका छोरा (कमल तिमिल्सना)को गएको १२ असारमा जिउती मेटियो। यसपालि लकडाउनका कारण जिउती गाउन त्यति धेरै मान्छे जम्मा हुन पाएनन्।  

सीता भन्छिन्, ‘यसपालि छोराको जिउती मेट्दा बेसरी जिउती गाउने मन थियो, कोरोनाका डरले मान्छेहरू बोलाउन सकिएन। हामी आफन्तले नै जिउती मेट्यौँ।’

सीताले यसपालि जिउती मेटाउने गीत गाउन नपाए पनि जिउती गीतबारे धेरै किस्सा सुनाइन्। पहिलेपहिलेभन्दा अचेल गीतमा आधुनिकता थपिएको उनको भनाइ छ।

उपरोक्त गीतले पुरानो र नयाँ पुस्ताबीचको द्वन्द्व देखाउँछ। ३०–४० को दशकसम्म नेपालमा संयुक्त परिवार धेरै थिए। मानिसहरू खेतीपाती गर्ने र ठूलो परिवारमा बस्ने गर्थे। परिवारमा धेरै सदस्य हुने र तिनीहरूको मान–मर्यादा राख्नुपर्ने भएकाले बुहारीलाई घरमा सास्ती हुन्थ्यो। सासूको खटनपटन, ससुरा र लोग्नेको आदेशले बुहारी थिचिनुपर्ने अवस्था अहिले केही कम भएको छ। पुरुषले पनि आफ्नी पत्नीलाई अगाडि बढ्न साथ दिएका उदाहरण समाजमा प्रशस्त पाइन्छन्।  

जिउती गीत एक प्रकारले रत्यौली गीत नै हुन्। ‘जिउती चित्र’ मेट्ने दिन गाइने भएकाले यस्ता गीतलाई ‘जिउती मेट्ने गीत’ भनिन्छ। विवाहका बेला गाइने रत्यौली गीत पनि जिउतीमा गाइन्छ। तर, विवाहका समयमा जस्ता चरम शृंगारिक गीत भने जिउतीमा गाइँदैन।  

जिउती विवाह संस्कारभित्र पर्ने एउटा महत्वपूर्ण विधि हो। विवाहका दिन केटाको घरको भित्तामा लेखिने चित्रलाई ‘जिउती चित्र’ भनिन्छ। यो चित्र मेट्ने दिन गाइने गीतलाई ‘जिउती मेट्ने गीत’ भनिन्छ। 

रत्यौलीमा रतिरागका गीत बढी गाइन्छन् भने जिउतीमा बुहारी घरमा आइसकेको अवस्थाका गीत गाइन्छन्। घरकाले बुहारीलाई भोगेको र बुहारीले बुहार्तन भोगेका शब्द यसमा पर्छन्। नयाँ घरको नयाँ परिवेश, सासू–बुहारीका बीचमा हुने मेलमिलाप र बेमेलको अवस्थालाई जिउती गीतले बयान गर्छन्।  

घाँस काट्यो ठेटना  

आ‘को म त जिउती मेटन।

कान्छी मेरी बहिनीले

जिउती मेटाइ देऊ न।

(स्रोतः हरिकला तिमिल्सिना, स्याङ्जा)

जिउती मेट्ने दिन इष्टमित्र र गाउँ, छिमेकलाई निम्तो दिइएको हुन्छ। दिनको शुभ साइतमा विभिन्न रङमा गाईको दूधको घोल बनाएर जिउती लेख्नेले नै जिउती मेटाउने प्रचलन छ। यदि जिउती लेख्ने महिला नभएको खण्डमा अन्य दिदी–बहिनी र फुपू कसैले मेटाउने गर्छन्। निम्तारु इष्टमित्र र छिमेकी आँगन, पिँडीमा बसेर मागल गाउन सुरु गर्छन्। मंगलकार्यको कामना गर्दै देवीदेवताको प्रार्थना गरेर गाइने गीत हो, मागल।

बाहिर मागल गाउँदै जिउती मेट्न अनुरोध गरिन्छ। जसमा घर र छिमेकका पुरुष सदस्यको समेत सहभागिता हुन्छ। पहिले–पहिले जिउती मेट्ने कार्य वा जिउतीका बेला गाइने रत्यौली गीतमा पुरुष सहभागिता हँुदैनथ्यो। आजभोलि भने महिला र पुरुष सबै मिलेर रमाइलो गर्ने चलन छ।

विवाहपछि केटाको घरमा नयाँ सदस्यको आगमन हुन्छ। विवाहित नारीले घरका सदस्यको मान–मर्यादा र इज्जतको समेत ख्याल गर्नुपर्ने हुन्छ। सासू–ससुरा, नन्द, अमाजू, जेठाजु, देवर आदि सदस्यसँग घुलमिल गरेर बस्नुपर्ने हुन्छ। यसमा विवाहित नारीलाई उसको लोग्नेले सम्झाइबुझाइ गर्ने प्रचलन पाइन्छ। हाम्रो पुरुषप्रधान समाज भएकाले विवाहमा आफूभन्दा कम उमेरकी केटी विवाह गर्न परम्परा अहिलेसम्म पनि कायमै छ।  

एउटी स्त्री छोरी हँुदासम्म बाबुको, विवाहपछि लोग्ने र बुढेसकालमा छोराको रेखदेखमा रहन्छन् भन्ने चलन छ। सोहीबमोजिम विवाहित केटाले आफ्नी आमा, दिदीबहिनी र श्रीमतीलाई मिलाएर राख्ने कोसिस गरेका हुन्छन्। छोराले आमाको माया पनि मार्न सक्दैनन् भने श्रीमतीप्रति भर्खरै रागात्मक प्रेम बढ्दै गइरहेको हुन्छ। तसर्थ, केटा मान्छेले आमा र श्रीमती दुवैलाई सम्झाउँछन्। यी गीतबाट परिवार वा समाज मिलाउने जिम्मा पुरुषको हो भन्ने बुझिन्छ। यी गीतले पितृसत्ताको प्रतिनिधित्व गरेका छन्। जिउतीमा यसप्रकारका गीत गीत पनि गाइन्छन् ः  

ए आमा नबोली सहे

बुहारी कजाउनी मन भए।

लाग्ला आमा सिसाको गोली

बस तिमी नबोली नबोली।  

(स्रोत ः राजन तिमिल्सिना

घरमा नयाँ बुहारी आएपछि आमा र छोराबीचको प्रेम बिस्तारै टाढिने मनोविज्ञान पाइन्छ। प्रकृति र पुरुषको मिलनका कारण पनि छोरो आमाभन्दा श्रीमतीतिर आकर्षित हुने यौन मनोविज्ञान यसमा पाइन्छ। आमाले आफूले नौ महिना गर्भमा राखेर, प्रसव वेदना सहेर जन्माई हुर्काएको छोरोबाट धेरै आस गरेकी हुन्छिन्। बुहारीबाट पनि धेरै माया पाउने अपेक्षा गरेकी हुन्छिन्। आमामा केही निराशा छाएको पनि यस्ता गीतबाट बुझिन्छ। छोराले आफूहरूले भनेजसरी परिवारको जिम्मेवारी वहन नगर्ने हो कि, बुहारीतिर लागेर आफूलाई हेला–होँचो गर्ने हो कि भन्ने जस्ता बाआमाले राख्ने आशंका र गुनासा जिउती गीतमा पाइन्छ।  

बोकेर डुलाउनी कुन थियो,  

उचालेर नफाले हुन्थियो।

मिठो छैन नमिठो निल्दिन,

लैजा बाबु मसँग मिल्दिन।

मेरो छोरो मुटुको खानी,

वचन लाए म रुँदै कहाँ जानी।  

(स्रोतः नीलकुमारी शर्मा, स्याङ्जा)

हाम्रो समाजमा पहिले–पहिलेभन्दा अहिले शैक्षिक, आर्थिक पक्षको तीव्र विकास भएको पाइन्छ। गाउँघरतिर प्रायः केटा मान्छे देशका सहर बजार र विदेशमा पढ्न र पैसा कमाउन जाने गर्छन्। छोरी–बुहारीले पनि पढी–लेखी जागिर खाने गर्छन्।  

बिहे गरेर घरमा छाडेकी श्रीमतीले भने घर सम्हाल्ने गर्छन्। बच्चाबच्ची भएपछि त्यही बच्चा पढाउने र सुख काट्ने बहानामा सहरतिर डेरा गरी बस्ने प्रवृत्ति बढेको छ। यसले गाउँघरमा बूढाबूढी एक्लिएका मात्रै छैनन्, कामको बोझ समेत तिनै मक्किएका हाडले उठाउनुपरेको छ। पढे–लेखेका मानिसले गाउँघरमा कुटो–कोदालो गरेर बस्दैनन्। पाको पुस्ताले गाउँघरमै बसिदिऊन् भन्ने चाहने तर युवा पुस्ता जागिर वा व्यापार गरेर परम्परागत जीवनशैलीबाट उन्मुक्ति चाहने गर्दा समाजमा दुई पुस्ताबीच द्वन्द्व देखिन्छ। जसकारण धेरै परिवारमा कलह र खजमज अवश्य छ।  

आजभोलि जातीय विभेदका गीत पनि जिउतीमा गाइन्छन्। जस्तोः

बल्ल आयो सासूको पालो

तिलहरीले बनायो गोठालो।

आमा तिम्ले पकाउन जान्दिनाँै

भान्सा छोड भन्दा नि मान्दिनाँै

छोराले ल्याइदियो मगर्नी

मैले भान्सा छोडेर के गर्नी ?

(स्रोतः सुशीला शर्मा, स्याङ्जा)

जिउती चित्र  

जिउती विवाह संस्कारभित्र पर्ने एउटा महत्वपूर्ण कार्य हो। विवाहका दिन केटाको घरको भित्तामा लेखिने चित्रलाई ‘जिउती चित्र’ भनिन्छ।  

विवाहको दिन बेहुलासहित जन्तीहरू बेहुली लिन केटीका घर जान्छन्। दुलहीका घरमा विवाह विधिअन्तर्गत लगनगाँठो पार्नुपर्ने हुन्छ। कन्यादानका समयमा वर र वधुको दाम्पत्य प्रेम स्थिर रहोस् भन्ने हेतुले आँचलमा जनै, सुपारी, पान आदि मांगलिक वस्तु राखेर मन्त्रपूर्वक पारिने गाँठो नै लगनगाँठो हो। यो कन्यादानका समयदेखि चतुर्थीसम्म दुलहीका कम्मरमा बाँधिएको हुन्छ। कतै बेहुला–बेहुलीको काँधमा पनि राखिन्छ।  

ठीक लगनगाँठो पार्ने बेला केटाको घरमा बिहान साइतका बेला बालेका जोरबत्ती एकआपसमा खप्टन वा मिल्न जान्छन्, त्यही समय हेरेर केटाका घरमा दिदी, बहिनी वा फुपूले जिउती लेख्ने चलन छ। ‘जिउती लेख्ने’ भनिए पनि यो चित्र भएकाले कहीँकतै ‘जिउती बनाउने वा कोर्ने’ भनिन्छ। यो महिलाका हातबाट मात्र कोरिने चित्र हो। यसलाई खास प्रकारको रेखाचित्र मानिन्छ। यो विशेषगरी हिन्दू संस्कारमा प्रचलित छ। हिन्दू समाजसँग घुलमिल गरेर बस्ने अन्य समुदायले पनि आफ्नो विवाह कार्यमा यो संस्कार अपनाउँदै आएको पाइन्छ।

जिउती विवाहित जोडीको मंगल कामना गर्दै लेखिन्छ। विवाहका दिन मातृकाको पूजा गरेको कोठामा जिउती लेख्ने चलन छ। विवाह व्रतबन्ध आदिमा मांगलिक कार्यको पूर्वांगका रूपमा सोह्रदेवी (गौरी, पद्मा, शची, मेधा, सावित्री, विजया, जया, देवसेना, स्वधा, स्वाहा, माता, लोकमाता, शान्ति, पुष्टि, धृति र स्वस्ति) को पूजा गरिन्छ। यसमा विवाहित जोडीका लागि मंगलपाठ गरिएको हुन्छ। यस कोठालाई जिउती कोठा पनि भनिन्छ। यो कोठा विवाहित पति–पत्नीले प्रथम रात चुलेवास बस्ने कोठा हो। यसैमा मधुरात्रि (सुहागरात) मनाउने चलन पनि पाइन्छ भने कहीँकतै अन्यत्र कोठामा मनाई घरको मूल कोठामा जिउती लेख्ने प्रचलन छ।

जिउती चित्रमा विवाहित जोडीको भावी जीवन सुखद् रहोस्, विवाहित स्त्री सौभाग्यशाली होऊन् र वंश परम्परालाई निरन्तरता दिऊन् भन्ने कामना पाइन्छ।

जिउती कोर्ने विधि

सर्वप्रथम जिउती चित्र कोर्ने कोठालाई गाईको गोबर र रातो माटोले पोतेर शुद्ध गरिन्छ। आजभोलिका घरमा सिमेन्ट र रङको प्रयोग हुने भएकाले उक्त कोठालाई जौ, तिल, कुश र सुनपानी छर्केर शुद्ध बनाइन्छ। यसरी रातो माटोले पोतिएको वा शुद्ध कोठा जहाँ मातृकाको पूजा गरिएको छ, उक्त घरको भित्तामा जिउती–चित्र कोरिन्छ।

जिउती कोर्दा सर्वप्रथम मागल लेखिन्छ। मागललाई महाल पनि भन्ने गरिन्छ। मागल गीतमा ईश्वरको भक्तिभाव हुन्छ, अर्थात् ईश्वरीय शक्तिको महिमागान गरिएका शब्द हुन्छन्। हिन्दू समाजमा भगवान् वा ईश्वरमाथि ठूलो आस्था छ। मानिसका दैनिक क्रियाकलाप र मानिसले गर्ने कार्यमा ईश्वरीय शक्तिको प्रभाव रहने लोकविश्वास हिन्दू समाजमा पाइन्छ। तसर्थ, कुनै पनि शुभकार्य गर्दा पहिला शुद्ध मन, वचन र कर्मले भगवान् वा देवदेवीको गौरवगान गरिन्छ। विवाह जीवनको एक महŒवपूर्ण कार्य हो। यसले सृष्टिको निरन्तरता हुने भएकाले पछिल्लो पुस्ताको समृद्धिका लागि समेत मंगल भावना राख्ने गरिन्छ। तसर्थ, जिउती लेख्दा मागल गाउने र लेख्ने चलन छ। पहिले–पहिले नेपालका कतिपय स्थानमा मागल कन्या र ऐभाँती (पति भएकी) नारीले गाउने चलन थियो। आजभोलि सबै महिलाले गाउँछन्।  

जिउती कोर्ने काम मागलबाट सुरु गरिन्छ। यो भित्तामा कोरिने सानो चित्र भएकाले पूरा मागल लेख्न गरेको पाइँदैन। त्यसैले जिउती चित्रको चौकुनाभित्र सुरुमा ‘ओम् नमो शिवाय’ लेख्ने गरिन्छ। त्यसपछि चन्द्र, सूर्य, शिव, पार्वती, नाग–नागिनी आदिको चित्र कोरिन्छ। जसरी आकाशमा सूर्य, चन्द्र अटल रूपमा रहन्छन्, नवविवाहित जोडीको प्रेम पनि त्यस्तै अटल र प्रगाढ रहोस् भन्ने कामना यसमा गरिन्छ। हिन्दूहरूका आदर्श देवदेवी शिव–पार्वती हुन्। शिव र पार्वतीको जोडीलाई उत्कृष्ट प्रेम–जोडी वा पतिपत्नी मानिन्छ। नवविवाहित जोडीले पार्वतीको जस्तो प्रेम र शिवको जस्तो उत्तरदायित्व निभाऊन् भन्ने कामना जिउतीमा गरिन्छ। हिन्दू समाजमा नाग–नागिनीको पनि बडो महिमा छ। कुनै पति–पत्नी विशेष कारणले छुटेका भए पनि नाग र नागिनीको झैँ प्रेमका कारण अवश्य भेट हुन्छन् भन्ने जनविश्वास रहिआएको छ। नाग–नागिनीको प्रेमको पूजा गरिन्छ। तसर्थ, जिउतीमा यस्ता चित्र कोरिन्छ।  

जिउतीमा जन्ती, डोली, डोले, घर, बाजा, दीप, त्रिशूल आदिका चित्र बनाइन्छ। यस्ता चित्रमा विवाहमा गरिने विभिन्न क्रियाकलापको इतिहास पनि पाइन्छ। चित्रमा केटाका घर–परिवारका जीवित मान्छेको आकृति पनि बनाइन्छ। जिउती कोर्ने केटा पक्षका दिदी, बहिनी र फुपू हुने भएकाले उनीहरु चित्रकलामा निपूण नहुन सक्छन्। तर, सदियौँदेखि पठित, अपठित हिन्दू नारीले भित्तामा जिउती लेख्दै आएका छन्। यसमा विशेष गरेर सिन्केचित्र बनाउने गरिन्छ।

पहिले–पहिले चित्र कोर्दा भिन्न किसिमका माटोको रङ र झारपातको प्रयोग गरिन्थ्यो। आजभोलि भने बजारमा पाइने विभिन्न रङ प्रयोग गरिन्छ, विशेषगरी अबिर, केशरी, रातो माटो, कमेरो आदि। सर्वप्रथम यी रङमध्ये कुनै रङलाई गाईको दूधमा फिटेर लेदो बनाइन्छ। अनि, बाँस वा अन्य कुनै छेस्कामा कपास बेरेर बनाइएको कुची लेदोमा डुबाउँदै जिउती कोरिन्छ। हिजोआज गाईको दूध पाउन मुस्किल पर्ने स्थानमा तिल, कुश वा कुनै शुद्ध सामग्रीको प्रयोग गरी पानी र भैँसीको दूधबाट पनि यस प्रकारको लेदो बनाएको पाइन्छ।

जिउती लेख्ने बेला विवाहित महिलाले सिकाउने गर्छन्। जिउती लेखिसकेपछि त्यसको माथि विवाहित नारीले प्रयोग गर्ने डोरी वा धागो र चुरा पनि झुन्ड्याइएको हुन्छ। आजभोलि जिउतीमा विवाह मिति समेत उल्लेख गरिन्छ। प्रस्तुत जिउती चित्रमा ‘के प्लस बी’ लेखिएको छ, जसले नेपाली भाषामाथि अंग्रेजी भाषाको प्रभाव रहेको देखाउँछ। पहिले–पहिले वर र वधुको नाम नेपाली भाषामा र मातृभाषामा लेख्ने चलन थियो।  

जिउती चित्रमा आफ्नो घरमा आउने नयाँ सदस्यको स्वागत गरिएको हुन्छ।  यस चित्रले विवाहको स्मरण गराइरहन्छ भने हिन्दू संस्कारलाई निरन्तरता पनि दिइरहेको छ।

जिउती मेट्ने विधि

जिउती वर्ष दिनसम्म नमेटाउने चलन छ। विवाहको पहिलो वर्षगाँठका दिन आफ्ना इष्टमित्र र गाउँले सबैलाई बोलाएर मागल र रत्यौली गाउँदै जिउती मेटाउने गरेको पाइन्छ।  

जसले कोरेको हो, उसैबाट माटो वा रङ पोतेर शुभ साइतमा जिउती मेटाइन्छ। तर वर्ष दिन नपुग्दै बच्चाबच्चीको जायजन्म भएमा जिउती जसले, जसरी मेटे पनि हुने लोकविश्वास नेपाली समाजमा छ। बाबुआमाको जिउती छोराछोरीले हेर्न नहुने, हेरेमा परिवारमा अनिष्ट आइपर्ने लोकविश्वास पाइन्छ। छोराछोरीले बाउआमाको जिउती देखे उक्त जोडीमा अनिष्ट आइलाग्ने, विभिन्न किसिमका बाधा–व्यवधान आउने, सन्तानलाई हानि–नोक्सानी गर्ने र दाम्पत्य जीवन सुखमय नहुने लोकविश्वास पाइन्छ। उक्त जोडीलाई सन्तानलाभ नभएको अवस्थामा जिउती मेट्ने कार्य वर्षौंपछि गर्ने गरेको पनि पाइन्छ, तर अधिकांशले वर्ष दिनमै जिउती मेट्छन्।  

यसरी विवाहका दिन कोरिएको जिउती चित्र एक वर्षभित्र मेटिसक्ने परम्परा धेरै समुदायमा छ। यद्यपि उक्त चित्र त्यस जोडीलाई जायजन्म नभएको खण्डमा जहिले मेट्दा पनि हुने मानिन्छ।  खैर, छोरा र बुहारीका बीच मेलमिलाप भैसक्यो र बच्चाबच्चीको जन्म हुने बेला भैसक्यो भनेर पनि जिउती वर्ष दिनमा मेट्ने गरेको हुन सक्छ।

प्रकाशित: २० असार २०७७ ०४:३९ शनिबार

अक्षर बुहारी