सर्वनाम थिएटरका अध्यक्ष अशेष मल्लले आध्यात्मिक पुस्तक पढेर लकडाउनको सदुपयोग गरे। अहिले उनी चार वेदको विस्तृत अध्ययन गर्दैछन्। लकडाउनमा थिएटर नचल्ने भएपछि नाटकसम्बन्धी कुनै काम नगरेको उनले बताए। ‘लकडाउनमा के गर्ने के नगर्ने भनेर हामी अन्योलमा प-यौं,’ अध्यक्ष मल्लले भने, ‘यसबीचमा अनलाइन कक्षा सुरु गरेर पुराना कलाकारसँग नाटकको रिभ्युबारे छलफल गरिरहेका छौं।’
उनका अनुसार सर्वनाम थिएटरले अन्तर्राष्ट्रिय नाटक महोत्सवको तयारी गरिरहेका बेला लकडाउन भयो। अब लकडाउन पूर्ण रूपमा खुलेपछि सोही महोत्सवलाई नै निरन्तरता दिने उनले जानकारी दिए। लकडाउनपछि मुलुकका कुनै थिएटर सञ्चालनमा छैनन्।
भाडा छुट नभएपछि कतिपय थिएटर आर्थिक संकटमा छन्। तर सर्वनाम थिएटर आफ्नै जग्गामा भएकाले भाडा तिर्नुनपर्ने र तलबमा काम गर्ने कोही नभएकाले आर्थिक समस्या नभएको मल्लको भनाइ छ। ‘हाम्रो थिएटरमा सबै स्वयंसेवकका रूपमा कार्यरत छन्,’ मल्लले भने, ‘तलब दिनुपर्ने, भाडा बुझाउनुपर्ने थिएटर भने अहिले समस्यामा छन्। यस्तो अवस्थामा सरकारले थिएटरलाई केही मात्रामा सहयोग गर्नुपर्ने हो तर क्वारेन्टिनमा बसेकालाई जीवनजल खुवाउन नसक्ने सरकारको के आशा गर्नु, के सहयोग माग्नु !’
शिल्पी थिएटरका अध्यक्ष घिमिरे युवराजले पुस्तक पढेर, सिनेमा हेरेर, लेख लेखेर, शारीरिक व्यायाम गरेर लकडाउनको सदुपयोग गरे। कोरोना संक्रमणका कारण विश्व नै संकटमा रहेकाले आफ्नो रक्षाका लागि र तनावबाट बच्न शारीरिक व्यायाममा बढी ध्यान दिएको उनले बताए। सरकारले लकडाउन गरेयता शिल्पी थिएटरले गत शनिबार सरकारलाई खबरदारी गर्दै खुला नाटकको आयोजना गरेको घिमिरेको भनाइ छ। केही कलाकार उपत्यकाबाहिर भएको र तत्काल नाटकघरमै काम सुरु गर्न नसकिएको उनले बताए।
‘अहिले हलभित्र काम गर्न नसके पनि बाहिर खुला ठाउँमा मानिसलाई आशा जगाउने, चेतनामूलक, समसामयिक विषयमा सामाजिक रूपबाट नाटक देखाउनु आवश्यक छ,’ घिमिरे भन्छन्, ‘कोरोना संकट कहिलेसम्म लम्बिने भन्ने थाहा छैन, नाटक देखाउने नै हो भने हामीसँग प्रशस्त स्क्रिप्ट छन्।’
मण्डला थिएटरका सचिव विजय बरालले तत्कालै नाटकसम्बन्धी केही काम गर्न नसकिने बताए। केही समयपछि मण्डलाका पुरानो वा नयाँ नाटक देखाउने विषयमा भने छलफल भइरहेको उनले जानकारी दिए।
अहिले सबै थिएटर आर्थिक समस्यामा परेको उनको बुझाइ छ। यस्तो अवस्थामा नाट्य समूहले आशा देखाएर कलाकार टिकाउन गाह्रो छ। त्यसकारण कलाकार पलायन हुने सम्भावना रहेको उनी बताउँछन्। ‘उपत्यकाका अधिकांश थिएटरको समस्या हल भाडाकै हो, यस्तो परिस्थितिमा नाटकका लागि बजेट घोषणा भए पनि सम्बोधन भएको छैन,’ उनी भन्छन्, ‘बजेट भाषणपछि पनि थिएटरलाई चासो नदिएकाले नाट्य समूहहरू मिलेर नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा विज्ञप्ति बुझाएका छौं। हाम्रो माग हलभित्र काम गर्न नसके पनि आशा जगाउने खालका नाटक सडकमा प्रस्तुत गर्न पाउनु हो।’ थिएटरले तीन महिनादेखिको भाडा घरधनीलाई बुझाउन नसकेको उनले बताए।
मण्डला थिएटरका सचिव विजय बरालले तत्कालै नाटकसम्बन्धी केही काम गर्न नसकिने बताए। केही समयपछि मण्डलाका पुरानो वा नयाँ नाटक देखाउने विषयमा भने छलफल भइरहेको उनले जानकारी दिए।
‘अहिलेको अवस्थामा सामाजिक दूरी कायम गर्नु एकदमै जरुरत छ, त्यसैले पनि नाटक क्षेत्रलाई असर परेको छ, फिल्म भएको भए दूरी कायम गरेरै भए पनि देखाउन सकिन्थ्यो होला तर नाटक सकिँदैन,’ बरालले भने, ‘तर तीन महिनादेखि घरभित्रै थुनिएर बस्दा रंगकर्मीलाई गाह्रो भएको छ, अलिकति भए पनि रिफ्रेस हुन ढिलै भए पनि हामीले केही गरौं भन्ने विषयमा छलफल गरिरहेका छौं।’
नाटक देखाउन एउटा समूह नै आवश्यक हुने भएकाले संस्थागत रूपबाट काम गर्न अहिले निकै गाह्रो भएको उनको भनाइ छ। आर्थिक रूपबाट पनि अहिले थिएटर समस्यामा रहेको बताउँदै उनले समस्यामा परेका रंगकर्मी र थिएटरलाई सहयोगको अपिल गर्दै नाट्य प्रतिष्ठानलाई ज्ञापनपत्र बुझाएको जानकारी दिए।
थिएटरको मासिक खर्च नै डेढ लाखभन्दा बढी हुने भएकाले ऋण लिनुपर्ने अवस्था आइसकेको उनले बताए। केही दिनअगाडि मण्डला थिएटर भूकम्पका बेलामा झैं नाटक लिएर नेपाल टुर गर्ने कुरा बाहिर आए पनि तत्काल गर्न नसकिने बरालले बताए।
कौशी थिएटरकी अध्यक्ष आकांक्षा कार्कीले अहिले हलभित्र नाटक देखाउने अवस्था नरहेको बताइन्। उक्त थिएटरले मंगलबार ललितपुरको पाटनमा सडक नाटक प्रस्तुत गरेको थियो। समसामयिक विषय अव्यवस्थित क्वारेन्टिन, दलित आन्दोलनलगायत विषयसँग सम्बन्धित भएर प्रस्तुत उक्त नाटक आफ्नै इच्छाले लगानी गरेर प्रस्तुत गरेको अध्यक्ष कार्कीले बताइन्।
‘अहिले थिएटरको विकल्प भनेकै आम्दानीको स्रोत खोज्नु हो,’ उनी भन्छिन्, ‘थिएटर अहिले एकदमै गाह्रो परिस्थितिमा छ, मैले अनलाइन कक्षा पढाएबापत आएको व्यक्तिगत आम्दानी थिएटरमा लगानी गरेर चलाएकी छु।’ सामूहिक रूपमा नाट्य प्रतिष्ठानलाई ध्यानाकर्षणपत्र बनाएर बुझाएको बताउँदै उनले त्यहाँबाट अलिकति आशा पलाएको बताइन्।
लकडाउन भएको एक महिना आराम गरेर बसे पनि त्यसपछि घरभित्रै थुनिएर बस्न आफूलाई निकै सकस भएको उनले बताइन्। मान्छे–मान्छे मिलेर बस्ने समुदाय भएकाले पनि आफूलाई कसैसँग भेटघाट नगरी बस्दा न्यास्रो लागेको र तीन महिना बितिसक्दा पनि कोरोना अन्त्यको टुंगो नभएपछि थिएटरले सडक नाटकको आयोजना गरेको उनको भनाइ छ। ‘अब थिएटर केही वर्ष उथलपुथल नै हुन्छ, हामीले आम्दानीको स्रोत खोज्दै थिएटरलाई बचाउँदै अघि बढ्नुपर्छ,’ उनले भनिन्, ‘आगामी दिनमा थिएटरले हलभित्र गर्ने कामको अहिले केही जानकारी नै छैन, लकडाउन खुल्यो भन्दैमा थिएटर सञ्चालन गर्न मिल्दैन, लकडाउन खुल्दैमा कोरोना भाइरसको अन्त्य हुने पनि होइन, तर पनि थिएटरलाई हामीले मर्न दिनुहुँदैन।’
शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकी नाटकीय विषयमा अहिले खासै ठूला गतिविधि नगरेको बताउँछन्। भर्खर थिएटरमा केही साथी भेला भएर आउने दिनका लागि योजना बनाउँदै गरेको उनको भनाइ छ।
‘झन्डै तीन महिनापछि थिएटर जाँदा थिएटरमा झारपात पलाएछन्। स्टेज अनि दर्शक बस्ने कुर्सी धुलाम्मे भएछन्। सरसफाइमा नै दुई दिन बित्यो,’ उनी भन्छन्, ‘तर यसबीचमा हामी चुप्प लागेर भने बसेनौं। विश्व भिडियो कविता प्रतियोगिताको आयोजना ग¥यौं। लगभग सवा सय भिडियो कविता आएका थिए। तीमध्ये ८७ वटा कविता छनोट भएर शैलीको युट्युब च्यानलबाट प्रसारण गरिसकेका छौं।’
अहिले निर्णायकहरूले ती भिडियो कविताको मूल्यांकन गर्दै गरेको उनले बताए। बुढाथोकीका अनुसार अब केही दिनमै त्यसको नतिजा प्रकाशित हुनेछ। त्यस्तै नेपाल वातावरण पत्रकार समूहसँग मिलेर सञ्चार साक्षरताबारे निबन्ध प्रतियोगिताका लागि आह्वान गरिएको छ।
रंगकर्ममै लागेका राजधानीमा र राजधानीबाहिरका रंगकर्मी मिलेर, अब सामूहिक रूपमा कसरी अगाडि बढ्ने भन्नेबारे जुम मिटिङ पनि गरिरहेको उनले बताए।
थिएटरको मासिक खर्च नै ढेड लाखको हारहारीमा हुने र अहिलेलाई उक्त खर्च कसरी जुटाउने भन्ने चुनौती देखिएको बुढाथोकीले बताए। ‘नाट्य क्षेत्र जहिले पनि संकटबाटै गुज्रिरहेको हो, अहिले झन् बढी संकटमा छ। यस्तो बेलामा रंगकर्मी विस्थापित हुने सम्भावना धेरै छ, जुन चिन्ताको विषय हो,’ उनी भन्छन्, ‘यस्तो बेला नाटकको विकल्प नाटक हो, अरू त हुनै सक्दैन। यद्यपि सानो समूहमा भेला भएर गर्न सकिने काम र उपायको खोजीमा हामी छौं। जस्तो कि थोरै जनशक्तिमा छोटा चलचित्र निर्माण, रेडियो नाटक।’
अहिलेको संकटमा नाट्य क्षेत्रका लागि सरकारले केही राहतको प्याकेज ल्याइदिए हुन्थ्यो भन्ने आशा भएको तर त्यस्तो हुन्छ हँुदैन आफूले भन्न नसक्ने उनको भनाइ छ। थिएटर हबको संयोजनमा केही रंगकर्मी मिलेर तत्काल गर्नुपर्ने र दीर्घकालीन रूपमा गर्नुपर्ने केही माग राखेर नाट्य प्रज्ञा प्रतिष्ठानमा एउटा अवधारणापत्र बुझाएको र त्यसकै प्रतिक्रियाको प्रतीक्षामा रहेको उनले बताए।
प्रकाशित: २० असार २०७७ ०३:५४ शनिबार