कला

ममाथि दुर्व्यवहार भयो : अभिनेत्री साम्राज्ञी

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पाँच वर्षअघि आफूमाथि दुर्व्यवहार भएको बताएकी छन् । शाहले इन्स्टाग्राममा केही दिनअघि भिडियो पोस्ट गरेर  आफूमाथि ठूला ब्यानरका चलचित्र निर्माताहरूबाट दुर्व्यवहार भएको बताएकी हुन् ।

त्यतिबेला आफू सानै भएकाले दुर्व्यवहारबारे सार्वजनिक गर्न नसकेको उनको भनाइ छ । अभिनेत्री शाहले त्यति नै बेला पुलिस केस गरेको भए लाग्ने कुरा आफूलाई थाहा नभएकाले कानुनी उपचारमा नगएको बताएकी छन्। 

उनको भिडियो सार्वजनिक भएसँगै अभिनेता तथा निर्माता भुवन केसीले फेसबुकमा लेखेका छन्, ‘खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक सन्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नि !

केसीको प्रतिक्रियापछि शाहले अर्को भिडियो सार्वजनिक गर्दैै जापानमा आयोजित वर्ल्ड फन्क्सन  कार्यक्रममा पनि दुर्व्यवहार भएको बताएकी छन् ।

शाहले केही दिनअघि आफूमाथि दुर्व्यवहार भएको भिडियो सार्वजनिक गरेलगत्तै आफूभन्दा ठूलाबाट  यस विषयमा सार्वजनिक रुपमा नबोल्न अनुरोध गरिएको बताइन् ।

उनले आफूमाथि दुव्र्यवहार गर्ने व्यक्तितर्फ संकेत गर्दै भनिन्, ‘उहाँहरुले नै काम दिनुभएको हो । उहाँहरुकै मुभी हिट भएको हो । उहाँले मलाई जति नै नराम्रो गरे पनि मिडियामा आउन दिएकी थिइनँ। ’

त्यस्तै उनले  सामाजिक सञ्जालमा ‘जुन थालमा खायो, त्यही थालमा दुलो पार्यो’ भनेर लेख्ने  व्यक्तिले पुराना कुरा कोट्याएर कसैलाई फाइदा नहुने भन्दै आफूलाई सम्झाइएकी बताइन्। अभिनेत्री शाहले केही  मिडियाले समाचारको घिनलाग्दो हेडलाइन राखेर बेइज्जत गर्दै  आएकाले अन्तर्वार्ता दिन नचाहेकोसमेत बताएकी छन्। 

प्रकाशित: १६ असार २०७७ १०:५३ मंगलबार

साम्राज्ञी राज्यलक्ष्मी शाह