कला

‘साहित्य सन्ध्या अभियान आफैँमा इतिहास बनेको छ’

साहित्य सन्ध्याको बन्दाबन्दीका कारणले खुलारूपमा गर्न नसकिएको नियमित मासिक ४०६ औँ शृङ्खला असार शनिबार भर्चुअल माध्यमबाट प्रविधिमैत्री राष्ट्रिय कवि गोष्ठी सम्पन्न भएको छ । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा कवि गोष्ठी भएको हो । वरिष्ठ कवि विधान आचार्यको प्रविधि संयोजनमा सन्ध्याकी सदस्य जयन्ती स्पन्दनले कार्यक्रम सञ्चालन गरेकी थिइन् । गोष्ठीमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तथा साहित्य सन्ध्याका परिकल्पनाकार गङ्गाप्रसाद उप्रेतीको प्रमुख अतिथिका रूपमा उपस्थिति रहेको थियो ।

त्यस्तै प्राज्ञ डा.देवी नेपाल, कवि तथा समालोचक डा.भरतकुमार भट्टराई, प्रा.डा.खेमनाथ दाहाल, वरिष्ठ कवि विधान आचार्य, वरिष्ठ स्रष्टाहरू सीताराम नेपाल, डम्बर पहाडी ‘एलाक’ अतिथिका रूपमा उपस्थित भएका थिए ।

सातै प्रदेशका कविहरूलाई उपस्थितिका लागि प्राज्ञ डा. देवी नेपालले संयोजन गरेअनुसार प्रदेश पाँच बाहेक अरू सबै प्रदेशका कविहरूको उपस्थिति रहेको थियो ।

कुलपति उप्रेतीले महामारीका कारणले सामूहिक गोष्ठी गर्न नै नसकिने वर्तमानमा प्रविधिको सुन्दर संयोजनका माध्यमबाट ६ ओटा प्रदेशका कविहरूलाई उपस्थित गराई गुणात्मक गोष्ठीको आयोजना भएकोमा खुसी व्यक्त गरे । सबै वाचित सिर्जनामाथि अत्यन्त मसिनो र प्रेरणादायी समीक्षा डा.भरतकुमार भट्टराईले गरिदिएकोमा उनलाई पनि धन्यवाद दिए ।

‘वर्तमान नेपाली प्रगतिवादी साहित्यकारहरू प्रायः सबै यो साहित्य सन्ध्याको अभियानमा कुनै न कुनै रूपबाट जोडिनुभएको छ त्यसैले सामाजिक रूपान्तरणको यो अभियान आफैँमा इतिहास बनेको हुनाले यो अभियानका सम्बाहक साथीहरूलाई धन्यवाद दिन्छु ।’ उप्रेतीले भने, ‘यो अभियानले संस्थागत रूप लिएर वार्षिक पुरस्कार अर्पण गर्ने व्यवस्था गरिरहेको छ ।’

साहित्य सन्ध्याका अध्यक्ष राम विनयले आजको यो प्रविधिमैत्री दोस्रो गोष्ठीमा ६ ओटा प्रदेशका स्रष्टाहरूको उत्साहपूर्ण सहभागिता रहेको बताए । ‘प्रविधिको प्रयोग र व्यवस्थापनमा वरिष्ठ कवि विधान आचार्यको सहयोग महत्त्वपूर्ण रहेको छ । ६ ओटा प्रदेशका कविहरूलाई जुटाउन प्राज्ञ डा.देवी नेपालले संयोजन गरिदिनुभएको छ ।’ उनले भने, ‘अझ उपाध्यक्ष रमेश पोखरेलको प्रविधि राम्ररी सञ्चालन नभएका कारण केही स्रष्टाहरू जोडिन नपाउनुभएको खबरले दुःखी बनाएको छ र हामी क्षमायाचना पनि गर्दछौँ ।’

कार्यक्रममा वाचित रचनाका बारेमा प्राध्यापक, कवि, समालोचक डा.भरतकुमार भट्टाईले अत्यन्त मसिनो गरी प्रेरणादायी एवम् प्रभावकारी टिप्पणी गरिदिएको विनयले बताए । हामी स्रष्टाले आफ्ना सिर्जनाका माध्यमबाट छिमेकीको साम्राज्यवादी प्रवृत्तिका विरुद्धमा, राष्ट्रवादका पक्षमा सशक्त आबाज उठाउनु हाम्रो दायित्व हो भन्ने थप अनुभूत गर्ने अवसर पाएको उनले सुनाए ।

प्रकाशित: ७ असार २०७७ १०:०६ आइतबार

साहित्य सन्ध्या आफैँमा इतिहास