कला

अन्तर्राष्ट्रिय अनलाइन प्रदर्शनीमा २१ देशका कला

लकडाउनका समय घरभित्रै सिमित देश विदेशका कलाकारलाई एकैथलोमा गाँस्ने र विविध देशको कला संस्कृतिको अनुभूति बाढ्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय अनलाइन कला प्रदर्शनी सुरू भएको छ ।

क्लासिक आर्ट ग्यालरीको आयोजनामा असार २ गतेदेखि सुरू ‘बियोन्ड पान्डामिक–आर्ट कनेक्ट्स पिपल’ शीर्षकको सामुहिक कला प्रदर्शनीमा नेपालसहित २१ देशका ९८ कलाकार सहभागी छन् । नेपालबाट मात्रै २५ कलाकार सहभागी रहेको उक्त प्रदर्शनी क्लासिक आर्ट ग्यालरीको आधिकारिक युट्युब च्यानलबाट भइरहेको ग्यालरी सञ्चालिका तथा प्रदर्शनीकी क्युरेटर सरिता डंगोलले बताइन् ।

प्रदर्शनीमा कलाकार तथा कला समीक्षक तीर्थ निरौलाको ‘इभल सिचुएसन’ शीर्षकको चित्र राखिएको छ । जसमा उनले अहिलेको कोरोना माहामारीका समय उत्पन्न समस्या र संकटको अवस्थालाई देखाउन खोजेका छन् । ‘अहिलेको समसामयिक विषय र परिस्थितिले उत्पन्न गराएको विषयलाई मैले मेरो कलामा समेट्ने प्रयत्न गरेको छु,’ कलाकार निरौला भन्छन्, ‘मानवीय जिवनमा आइपर्ने जस्तोसुकै जटिल परिस्थिति होस् या मानसिक तनाव । यी सबै समस्या र कष्टलाई चिर्दै मान्छे अगाडि बढ्नुपर्छ भन्ने आत्मविश्वासको सन्देश मेरो चित्रले दिएको छ ।’

 त्यस्तै ‘इनसाइड आउट’ शीर्षकको चित्रलाई समावेश गरेकी छन् कलाकार नम्रता सिंहले । एक्रेलिक कलरको प्रयोग गरिएको उनको चित्रले पनि कोरोना भाइरस र देशमा जारी लकडाउनकै विषयलाई प्रस्तुत गर्ने प्रयास गरेको छ । ‘जब हामी कोही मान्छे या समाजको अगाडि हुन्छौं, तब हामी त्यहीं वातावरणमा हामीलाई ढाल्न खोज्छौं, तर त्यतिबेला हामी कस्तो छौं भन्ने कुरा स्वयमं आफैंलाई थाहा हुन्न,’कलाकार नम्रता भन्छिन्, ‘कोरोना भाइरसका कारण लकडाउन भएर हामी घरभित्रै सिमित भएपछि मात्रै हामीले आफ्नो स्वभाव जान्न थाल्यौं, आफुलाई आफैले अध्ययन गर्न थाल्यौं । यही समसामयिक विषयलाई मैले मेरो चित्रमार्फत देखाउन खोजेकी छु ।’ लकडाउनमा घरभित्रै थुनिएर बस्दा आफुभित्रको व्यक्तित्व बुझ्न सकेकाले यो समय आफुलाई अध्ययन गर्ने एउटा अवसर पनि भएको उनको भनाई छ ।  

अर्की चित्रकार प्रमिला बज्रचार्यले ‘कोरोना–लकडाउन’ शीर्षकको चित्र प्रदर्शनीमा राखेकी छन् । कोरोना भाइरसका कारण देशमा गरिएको लकडाउन र सो समयमा घरभित्रै सिमित महिलाहरूको अभिव्यक्तिलाई उनको चित्रले उजागर गरेको छ । एक्रेलिक कलर प्रयोग भएको आफ्नो चित्रले एउटा भाइरसले गर्दा सबै जना लकडाउन भएर घरभित्र बस्नु परेको र उक्त समयमा महिलाको अवस्थालाई कस्तो छ देखाउन खोजेको चित्रकार बज्रचार्यले बताइन् ।

चित्रकार सुशिला सिंहको ‘वियोन्ड वाउन्स’ शीर्षकको चित्र प्रदर्शनीमा समेटिएको छ । सेरामिकबाट बनाएको उक्त चित्रमा बन्धन र सीमाहरू भन्दा टाढा सर्दै गरेका गरिबहरूको दिनलाई समेट्न खोजेको सिंहले बताइन् ।  

चित्रकार तथा क्युरेटर सरिता डंगोलले ‘कल्चर, रिचुअल वियोन्ड द डोर’ शीर्षकको चित्र प्रदर्शनीमा राखेकी छन् । उनले आफ्नो कला वर्तमान अवस्था र परिस्थितिसँग केन्द्रित रहेको बताइन् । अहिले मानिस घरभित्रै बन्द छन्, घरमा भित्र बस्छन्, ताल्चा ढोका छन्, उनले भनिन्, हामी हाम्रो घरभित्र बन्द छौं तर हाम्रा सबै प्रकारका अनुष्ठानहरू ढोका बाहिर छन् ।’  

वर्तमान स्थितिमा ध्यान केन्द्रित गर्दै विश्वभरका कलाकारहरू र उनीहरूका सिर्जनात्मक सीपहरू विश्वव्यापी रुपमा प्रदर्शनी गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय कला प्रदर्शनीको आयोजना गरिएको डंगोलले बताइन् । प्रदर्शनी युट्युबमा नियमित रूपमा हुने र जहिले पनि हेर्न सकिने उनको भनाई छ । 

चित्रकार सौरगंगा दर्शनधारीले ‘इनसाइड आउटसाइड’ शीर्षकको चित्र प्रदर्शनीमा राखेकी छन् । उनले पनि आफ्नो कलामा अहिलेको समसामयिक विषयलाई उठान गरेकी छन् । कोरोना भाइरसको डरले गर्दा मानिस घरभित्रै रहेको र आफ्नो परिवारका सदस्यसँग समय बिताउने अवसर पाएको विषयलाई उनले चित्रले देखाएको छ । ‘हामी हाम्रो व्यस्तताले गर्दा परिवारसँग समय बिताउन, रमाउन, घुलमिल हुन पाएका थिएनौं, उनी भन्छिन्, ‘अहिले हामी पूरा समय परिवारलाई दिन पाएका छौं, हामी घरभित्रै सिमित भए पनि प्रकृति भने आफ्नै ढंगले रमाइरहेको छ ।’

क्लासिक आर्ट ग्यालरीले पहिलो पटक आयोजना गरेको अन्तर्राष्ट्रिय अनलाइन प्रदर्शनीमा नेपालसँगै नेदरल्याण्ड, इरान, अरवेनिया, फिलिपिन्स, भारत, जर्मनी, सिंगापुर, अमेरिका, हंगेरी, नर्वे, इजिप्ट, पोर्चुगल, मलेसिया, टर्की, बंगलादेश लगायतका देश सहभागी छन् ।

प्रकाशित: ४ असार २०७७ ०८:३३ बिहीबार

कला अनलाइन प्रदर्शनी कला प्रदर्शनी