कला

सुदूर बस्ती

कविता

विश्व भण्डारी

 

बिहानीको पहिलो प्रहर  

बुद्ध मूर्तिहरुमा तालिवान  उभिएको बेला  

तिम्राे अबोध पागलपनसँगै  

एउटा ठूलो सपना पूरा गर्ने  

साना सपनाहरु बोकेर  

उकालो–ओरालो  

भर्खर टेकेको मात्र के थियौ  

प्रेमको संघार ।  

प्रिय नवराज  !

ती नव राजाहरुले यसरी ढाके  

तिमीलाई पत्तै भएन ।  

 

प्रिय नवराज  !  

उत्साह बोकेर गएका तिमी  

पीर बोकेर  

भेरीको किनारै किनार  

तिमी शून्यमा शून्यसरि बिलायौ  

र अस्तायौ अनन्तका लागि सुदूरबस्तीबाट ।

 

भन न  नवराज,

यो भेरीको बाटो भएर कहाँ पुगिन्छ ?

प्रेमको दीर्घ स्वाभिमान कहाँ भेटिन्छ ?

इतिहासको कालो गर्तमा  

तिमी यसरी निदायौ  

तिमी यसरी हार्‍यौ  नयाँ बर्दी लगाएका  

पुराना हिटलरहरुसँग

जित्यौ प्रेमको लडाइँ

र  

लाग्यौ अनन्त गन्तव्यतिर  

नवराज तिम्रो प्रेम अजर रहोस् ! 

अमर रहोस् !  

 

यो निर्मम इतिहास  

केही दिन अखबारका पानामा  

भेरीमा बगेका सपनाहरु  

‘फ्रन्ट पेज’मा टाँसिदो हो  

माइतिघरमण्डला,  फेसबुकका भित्ताहरु हुँदै  

सडकदेखि सदनसम्म  

चर्को स्वरमा चिच्याउँदा हुन्  

र अस्ताउँदो हो सुदूर बस्तीहरुबाट  

घाम–जुन अस्ताएझैं ।  

 

तर तिमी ढुक्क होऊ  

यो विवेक हराएका नव राजाहरु  

पत्थर जस्तै हुन्  

न पग्लिन्छन्  

न बदिल्न्छन्  

बरु तिमीले बिराएका बाटोहरु  

पहिल्याउँदै  

भेरीको मझधारमा टेकेर  

बचेका प्रिय साथीहरु जस्तै  

पारि तरेर  

सुदूर बस्तीहरुका  

सानो परिधिमा खुम्चिएको मनलाई  

खुसी दिएको भए के हुन्थ्यो ?

 

प्रिय नवराज  !

तिम्रा स्वरुपमा बाँच्ने  

अनि तिम्राे हाँसोमा हाँस्ने  

सुदूर बस्तीलाई  

टुहुरो बनाउने  

ती बुख्याँचाहरुको सिकार हुनुभन्दा  

एक मुठ्ठी साहस बटुलेर  

झ्वाम्म हाम  फाल्यौ

र  

बाटो बदल्यौ  

गन्तव्य बदल्यौ  

 

नवराज  !

तिम्रो बाध्यतामा मेरो केही गुनासो छैन  

तिमी फुल्नु लाउरे फुल जसरी  

तिम्रा बाध्यतामा  

र पुर्नु  

तिमी र सुष्माबीचको असमान प्रेमका  खाडल  

अनि पछ्याउनु सधैं  

सुदूर बस्तीहरुलाई  

अनन्त छाया बनेर ।  

००००

प्रकाशित: ३२ जेष्ठ २०७७ ०७:२४ आइतबार

अक्षर कविता