कला

त्रासद समय र बाटो

कविता

विद्या सापकोटा  

 

कहाँ गए

बाबाको काँध चढ्दै

मामाघर नियाल्ने जिज्ञासु नयनहरू ?

कता हराए

आमाको गुन्यू समाउँदै

पिप्लामेठ किन्न हिँड्ने साना पैतालाहरू ?

कहाँ छोडिए

ठुस्किँदै फुर्किंदै दिदी÷दाइसँग

कहिले गट्टा त कहिले गुच्चा खेल्ने औँलाहरू ?

कता अल्पिए

लादेर पिठ्युँमा भविष्यको भार

पाठशाला लम्किने कोमल अनुहारहरू ?

के पो भए

हाल्दै सुसेली, गाउँदै गीत

प्रेमको आह्वान साट्दै गुञ्जने किशोर मनहरू ?

नुघे कता

चञ्चल कोमल लज्जावती प्रेमिकाहरू ?

पातलिँदै पातलिँदै

पुगे कता  

भोक र सोखको युद्धमा, जवान प्रेमीहरू ?

खै देखिन्नन्

उमेर बाटिरहेका÷बत्ति कातिरहेका बूढीआमाहरू ?

शून्य–शून्य छ चौतारो,

टक टक झर्दैनन् वृद्ध पैताला÷सारथी लठ्ठीहरू ?

किन हो,

लगाउँदैन कसैले छातीमा काउकुती

खेल्दैन कोही उत्साहको डन्डीबियो

केही देख्दिनँ/कोही देख्दिनँ

फगत एक बाटो,

नियास्रिरहेछु

जसरी नियास्रिएर आँखीझ्याल चियाइबस्छ्न् वृद्ध आँखाहरू

तड्पिरहेछु

जसरी तडपमै बिताएर एक याम,  

अर्को यामभरि रोइबस्छ आकाश

चिच्याइरहेछु

जसरी ओकल्छन् विद्रोह

देशभित्रै अनागरिक बाच्न अभिशप्त मान्छेहरू

डराइरहेछु,

जसरी हराए सबै कताकता  

विश्व मानचित्रबाटै नहराइ जाओस् मेरो देश ?  

(हाल : सललाह, ओमन)

प्रकाशित: ३१ जेष्ठ २०७७ ०४:३१ शनिबार

अक्षर