धरानमा अत्याधुनिक प्रादेशिक नाटक घर निर्माण हुने भएको छ । धरान ८ स्थित सभागृह क्षेत्रमा नाटक घर निर्माण गर्ने धरान उपमहानगरको कार्यपालिका बैठकले निर्णय गरिसकेको छ । सभागृह क्षेत्रको २ कट्ठा जमिनमा नाटक घर निर्माण गर्ने उपमहानगरपालिकाले जनाएको छ ।
नाटक घर निर्माणको लागि रंगकर्मीहरुले वषौंदेखि निरन्तर पहल गरेका थिए । नाटक घरको प्रारम्भिक डिजाइन तयार भइसकेको छ भने डिपिआर पनि तयारीको क्रममा रहेको रंगकर्मी नविन मेन्याङ्बोले जानकारी दिए । उनका अनुसार कलाकार बिक्रम श्रीले डिपिआर तयार गरिरहेका छन् ।
नाटक घर निर्माण हुने भएपछि रंगकर्मीहरुसँगै साहित्यकार, बुद्धिजिविहरु पनि खुशी छन् । ‘नाटक मञ्चन गर्ने मात्र हुदैन, त्यहाँ चित्रकला प्रर्दशनी, कविता गोष्ठी गर्न सकिने गरी नाटक घर बन्छ,’कलाकार मेन्याङ्बोले भने,‘लाइटको साथमा, हावापानी, संगीतको साथमा कविता वाचन गर्ने अत्याधुनिक हल बन्ने हो ।’ नाटक घरको कुल लागत अनुमान ५ करोड गरिएको छ । नाटक घर साँस्कृतिक कलाकृतिहरुले भरिएको हुनेछ । नाटक घरमा किरात सँस्कृति झल्कने वाबु, सिलामसाक्मा, बुद्धतोरणलगायत कलाकृति, सँस्कृतिहरु हुनेछ ।
निर्माणको लागि चालु आर्थिक बर्षमा संघीय सांसद जयकुमार राईले ४० लाख बजेट विनियोजन गरिदिएका छन् । यही बजेटबाट नाटक घर निर्माणको थालनी गरिनेछ । नाटक घर निर्माणको लागि उपमानगरपालिका, प्रदेश र केन्द्र सरकारसँग पनि बजेटको पहल गर्ने उपमहानगरले जनाएको छ । सभागृह क्षेत्रमा खाली जग्गा मास्न हुदैन भन्ने स्थानीयबासीले माग गरेपनि छलफल गरेको र सहमतिबाट नै नाटक घर निर्माण गरिने मेयर तिलक राईले बताए । ‘धरानमा नाटक घर अतिआवश्यक छ भनेर नै निर्माण शुरु गर्नलागेको हो । स्थानीयबासीबाट केही कुराहरु आएको थियो । हामीले छलफल गरिसक्यौं, र सहमति जुटाएर नै निर्माण कार्य अघि बढाउछौं,’मेयर राईले भने ।
नाटक घर निर्माणको लागि विदेशमा रहेका रंगकर्मीहरुले सहयोग गर्ने प्रतिवद्धता जनाइसकेका छन् । निर्माण कार्य थालनी भएलगत्तै प्रतिनिधि तोकेर आर्थिक संकलन कार्यमा जुट्ने तयारी भएको निर्देशक अरुण प्रधानले जानकारी दिए । ‘यो धरानका रंगकर्मी, कलाकार, साहित्यकारहरुको बषौंअघिको सपना हो, अहिले साकार हुने क्रममा छ,’उनले भने,‘विदेशमा रहनुभएका रंगकर्मी, कलाकार, शुभेच्छुकहरुले सहयोग गर्ने भनिरहनुभएको छ ।’
धरानमा वि.स.१९९७ देखि नाटक शुरुवात भएको रंगकर्मीहरु बताउँछन् । पञ्चायती कालको तीस र चालिसको दशकमा धरानको रंगमञ्चको उर्बर समय थियो । त्यसबेला धरानमा थुप्रै नाट्य संस्थाहरु थियो । काठमण्डौं पछि रंगकर्ममा धरानको नाम आउथ्यो । पचासको दशक अन्त्यतिरबाट धरानको रंगमञ्च सेलाउदै गयो । त्यसको मुख्य कारण नै आधुनिक एवं सुविधा सम्पन्न नाटक घर अभाव भएको आरम्भ नाट्य डबलीका अध्यक्ष गोपाल देवानको भनाई छ । ‘कला, साहित्य, सँस्कृतिको उर्बर भुमि धरानमा एउटा पनि थिएटर हल नहुनु बिडम्बना नै हो । अहिले बल्ल थिएटर हल बन्ने तर्खरमा छ । सबैबाट सहयोगको अपेक्षा गरेका छौं,’उनी भन्छन् ।
प्रकाशित: २८ जेष्ठ २०७७ ११:४३ बुधबार