कला

भित्ते क्यानभासमा रमाएका एक यात्री

लकडाउन जारी छ। सडक सुनसान। प्रत्येक महिना चित्रकला प्रदर्शनी र चित्रको बहस हुन आर्ट ग्यालरीमा ताला झुण्डिएका छन्। कहिले कला प्रदर्शनी त कहिले कार्यशालातिर व्यस्त भइरहने कलाकारहरुको दैनिकी फेरिएको छ। लकडाउन अवधिलाई भिन्नै ढंगले सिर्जनशील बनाइरहेका छन्।  

काठमाडौंको भिमसेनगोलास्थिति सडकको भित्ताको रूप फेरिएको छ। सडक भित्तामा विभिन्न रङले पोतिएका छन्। सन्देश पनि पोखिएका छन्। हरेक भित्तामा विभिन्न आकृतिका चित्रमा देखिन्छ। भित्तामा विभिन्न आकृतिक चित्र कोर्न मस्त–व्यस्त छन्, कलाकार लक्ष्मण श्रेष्ठ।  

हुन त नेपालमा बन्दाबन्दी सुरु हुनु अगावै उनले भित्ता चित्र कोर्न थालेका हुन्। यो अभियानमा श्रेष्ठ नेतृत्वको ‘खोज समूह’ ले सुरूवात गरेको हो। सात जनाको समूहले सुरूवात यो अभियानमा श्रेष्ठ एक्लो छन्।  

‘भित्ता भित्ता मात्रै होइन’ भन्ने नारा सहित सुरूवात भएको थियो। भित्तामा थुप्रै कुराहरू लुकेका हुन्छन्।  भित्ताले मानिसलाई धेरै कुरा सिकाउँछ। यही सोच बोकेर लागेको थियौं। अहिले सबै जना आ–आफ्नो काममा व्यस्त हुनुहुन्छ। तर यो अभियान पुरा नहुन्जेल एक्लै भए पनि गर्छु भन्ने हिम्मत कसेको हूँ’, श्रेष्ठले सुनाए।  

विहान १० बजेदेखि सुरू हुन्छ उनको दैनिकी। भित्तामा कुची र रङ घोल्दै ५ बजेको पत्तै हुँदैन उनलाई। रङलाई आकार दिए चित्रमा स्थापित गर्न अव्यस्त छन्, उनी। थरीथरीका रङ घोल्छन् अनि पोत्न थाल्छन्। सडक भित्तामा रंगीविरंगी चित्रहरुमा थुप्रै कथाहरू भेटिन्छन्। प्रकृति प्रेम, सुख, दुःख, इष्र्या, दया भावका चित्रहरू आँखामा ठोकिन्छन्। चराहरू प्रकृतिसंग रमाईरहेका छन्, रूखविरूवा किरा फट्याङग्राहरू चित्रले भित्तालाई थप सौन्दर्यता थपेको छ। भित्तामा सौन्दर्यता मात्रै छैन भन्ने सन्देशमा छरिएको उनी बताउँछन्।  

‘भित्तामा हरेक व्यक्तिका भोगाई र भोगाईलाई व्यक्त गर्न नसकेको कुरालाई देखाइएको छ’, श्रेष्ठ भन्छन् ‘प्रत्येक चित्रका  अर्थहरु छन्। ती अर्थमा बेग्ला–बेग्लै रङबाट चित्र बनेको छ।’ 

कोभिड– १९ का कारण पृथ्वीमा मानव जातिलाई जटिल संकटले घेरेको छ। यो अवस्था सडक भित्ताहरूमा रहेका चित्रले मानिसलाई थप उत्साह जगाउने खालका चित्रहरु भित्तामा बनेका छन्।  

‘क्लाईमेट चेन्ज’ को उदाहरण दिदै उनी थप्छन्,‘पृथ्वीमा वनजंगल विनाश, नदी खोलाहरू दोहन बढ्नु र वातावरण प्रदुषण हुदै जानुले पनि अर्को समस्या नित्याउन सक्ने उनको अनुमान छ।  

मानिसले आफ्नो व्यवहार परिवर्तन गर्न सन्देश चित्रले स्पष्ट पार्दै उनी भन्छन् ‘मानवीय संवेदनासंग जोडिएको चित्र नै धेरै छन्। प्रकृतिसंग मानवीयता जोडिएको छ। किराले बालिनाली नष्ट गर्छ। किरालाई मार्न चारार हुनु पर्छ। चराहरु बच्न वनजंगल चाहिन्छ। यस्ता चक्रहरुबाट चित्र कोरिएका छन्।’

सडक भित्तामा कुची र रङसंग खेल्न थालेको १८ वर्ष भयो। सानैदेखि चित्र कोर्न माहिर श्रेष्ठ स्टुडियो भन्दा पनि भित्तामा चित्र बनाउन मन पर्छ उनलाई।  

चित्रहरू हरेक वर्गका मानिसहरूको पहुँचसम्म पुग्दैन। सडकमा हरेक वर्गका मानिसको आगमन हुन्छ। सडकसंग मानिसको दुःख सुख सबै जोडिएको हुन्छ। सडकमा महल देखि झुपडीमा बस्ने पनि त्यसैले आफूले सडक रोजेको उनी बताउँछन।  

धेरैजसो नेपालीका लागि अझै पनि चित्रकारिता सोखको विषय मात्रै हो। बहुसंख्यक जनताको पहुँचभन्दा बाहिर रहेको चित्रकलालाई खुला आकाशमुनि ल्याएर आफूले नागरिकका लागि कला बनाउने प्रयास गरेको ठान्छन, उनी।  

भित्तालाई राजनितिक दलका नारा लागि मात्रै प्रयोग भए। भित्तामा राजनीतिक पार्टीका अव्यवाहिरक नारा पोतेर कुरूप मात्रै पारियो। राजनितिक नारा र प्रधानमन्त्रीका फोटो हेर्नुका सट्टा आम नागरिकले एउटा चित्र हेर्यो भने थुप्रै कुराहरु सिक्ने उनको दाबी छ।

सबै तह, वर्ग र अवस्थाका नागरिकको आवाज उठाउने अन्तिम थलो सडक हो, अनि भित्ता। अझ सीमान्तकृत स्वर र कमजोरहरुले आफ्नो आवाज सुनाउने ठाउँ सडक नै हो। ‘त्यसैले म पनि आफ्ना चित्रका लागि सडक नै रोज्छु। अभिव्यक्त गर्न नसकेको कुरा चित्र मार्फत व्यक्त गर्ने प्रयास गर्छु,  श्रेष्ठ भन्छन।  

‘भित्तामा राजनीतिक दलका नारा लेख्न हुने, प्रधानमन्त्रीका फोटो टास्न करोडौं रुपैयाँ खर्च गर्न हुने, मैले चित्र कोर्न किन नहुने ? स्ट्रिट पेन्टिङमा मैले सामाजिक, राजनीतिक विषयमा देखिएको लापरबाहीको विरोधस्वरूप बाटोको भित्तामा चित्र कोर्न सुरु गरेको हुँदा’, श्रेष्ठ भन्छन्।  

‘स्ट्रिट फर अल आर्ट फर अल’ को नारासहित नागरिकका लागि कला भन्दै उनले काठमाडौंका कैयौं सडक भित्तामा यसरी चित्र पोतेका छन्।  

महिला हिंसाको विरोधमा ‘जलाइएकी म’, ‘सचेतना भ्रुण हत्या’, बालश्रमको विरोधमा ‘चासो कसलाई’, र विकासका नाममा भइरहेको विनाशको विरोध गर्दै ‘विकास भर्सेस विनाश’ उनले बनाएका प्रमुख स्ट्रिट पेन्टिङ हुन। नागरिक पनि देशप्रति सचेत हुनपर्ने धारणा राख्दै उनले ‘म मस्त देश अस्तव्यस्त’, ‘भ्रष्ट म’ जस्ता शीर्षक दिएर पनि स्ट्रिट पेन्टिङ गरेका छन्।  

भित्तामा चित्र बनाएकै कारण धम्की पनि आएको छ, उनलाई।  वीर अस्पताल र भोटाहिटी बीचको फुटपाथको भित्तामा उनकै समूहले रंग पोतेर ‘नालायक म’ लेख्दै चित्र बनाएको थियो। जुन चित्र काठमाडौं महानगरपालिकाले मेटिदियो। वैदेशिक रोजगारीको कहर देखाउँदै उनले चित्रमा ‘डेड सरकार’ लेखेका थिए। त्यो चित्र पनि केही दिनमै मेटियो। यस्तो नारासहित वीर अस्पताल र भोटाहिटी बीचको फुटपाथ किनारको पर्खालमा चित्र बनाए उनले।  

त्यो भित्तामा पोतिएका चित्र मेटिएको पहिलोपटक होइन। भित्ता चित्र बनाउँदा यस्ता झमेला धेरै पटक बेहोरेका छन्।  

सत्तालाई प्रश्न गर्ने र सत्तालाई सामाजिक यथार्थ देखाउने कलाकारितासंग सरकार त्रसित पहिलो पटक थिएन’, उनी भन्छन्, ‘२०७२ को भूकम्प र नाकाबन्दी पछि बढेको कालोबजारीको विरोध गर्दै भृकुटीमण्डपमा ‘मिडिल फिंगर ग्याँस सिलिन्डर’ को चित्र बनाएँ त्यो पनि मेटिदियो।’  

‘कालोबजारीको विरोध गर्दै बनाएको चित्र पनि मेटिएको थियो। त्यतिखेर त मलाई महानगरपालिकाले फोन गरेर धम्की दियो। यस्तो चित्र बनाउने होइन’, श्रेष्ठले सुनाए।  

नेपालमा जब ठूलो विपत्ति आउँछ तब समाजमा कालबरीको विगविगी हुन्छ। त्यो विपत्तिमा लुट्ने एउटा वर्ग जन्मन्छ। त्यो वर्गलाई व्याग्य गर्नु पनि हामी कलाकारको दायित्व रहेको उनी बताउँछन्।  

बाँकेमा हुर्किएका श्रेष्ठले भित्ता र पर्खालमा स्ट्रिट चित्र बनाएर समसामयिक समस्यालाई ‘स्ट्रिट पेन्टिङ’ मा उतारेका छन्।  उनले माइतीघरको बस स्टप र पुल्चोक इन्जिनियरिङ कलेज अगाडिको बस स्टपको भित्तामा उनले सार्वजनिक यातायातमा बालबालिका प्रयोग गरिएको विषय उठाउँदै चित्र बनाएका छन्।  

आफूले बनाएको चित्रले सत्ता र समाजलाई प्रश्न गरेको दाबी गर्दै उनी भन्छन्’ हामी कलकारले दविएको थिचिएको आवाज बोल्ने हो। सरकारले धम्काए पनि चित्र बनाउन छोडिदैन।’  

क्यानभास पनि जनताको भाषा भएको बताउँदै श्रेष्ठ भन्छन, ‘कला जनजनको आवाज बन्नुपर्छ। यही धारणाबाट प्रेरित भएर उनले सन् २०१२ मा नेपालगन्जमा ‘संसद् भर्सेस जनता’ शीर्षकको ‘स्ट्रिट पेन्टिङ’ कोरेका थिए।

पहिलो संविधानसभाको म्याद सकिने बेला बनाइएको यो चित्रमा उनले बक्सिङ रिङभित्र सांसद र जनतालाई समेत देखाएका थिए।  सत्तालाई मात्रै दोष पनि लाउँदैन् उनी। समाजमा भएका सबै मानिस चेतनशील हुनु पर्छ भन्ने मान्यता राख्छन्, श्रेष्ठ।  

भित्तामा चित्र कोरिहेको छु। इच्छा भयने गर्न सकिन्छ।’ उसले आफ्नो दायित्वहरु विर्सदै छ। समाज कता जाँदै छ यी कुराहरुलाई कला मार्फत प्रश्न गरिहनु पर्छ। यो हाम्रो दायित्व हो।’

अहिले समाजमा समाजिक दुरी कायम गरेर बाँच्ने दिन अयो। यसले मानिसलाई नयाँ शैलीमा जीवन जिउने कला सिकायो। समाजमा हरेक प्रकारका व्यक्ति देख्दा अहिलेको जुन समाज भैरहेको छ त्यो घटनाबाट फुर्छ। धारण जन्मन्छ। अनि अनि निस्कन्छ। समाजमा खुशी कति छ र दुःखी कति छ। त्यसैलाई आधार बनाएर चित्र कोर्छन् उनी।  

‘भित्तामा व्यक्तिका दर्शानिक सोच सबै समाहित छन्। पर्खाल पर्खाल मात्रै होइन यसले सरंक्षण गर्नु पर्छ। समाजका हरेक व्यक्ति वास्तविकतालाई लुकाएर हिडिरहेको छ। मान्छेहरुलाई मानिसले यथार्थ लुकाउन संकोच मान्नु हुदैन’, उनी भन्छन्।  

२०१८ देखि काठमाडौंको सडकमा भित्तामा चित्र कोर्न सुरुवात गरेका हुन्। इच्छा भए तमाम समस्याहरु बीच पनि काम गर्न सिकिन्छ भन्ने उनी उदाहरण बनेका छन्।  

चित्रमा एकल अभ्यास। एकल हिडाई। समाजका हरेक मानिसका अन्तर्आत्माको खोज। ‘भित्ते क्यानभास रमाउँछु। अन्र्तरबोधको कुरामा म रमाउँछु। चित्र भनेको आफ्नो जीवनमा आफू भोगेको रङहरु मार्फत खुल्ला रुपले अभिव्यक्ति गर्नु हो’ उनी भन्छन् ‘अनेकन पत्राका भोगाईलाई नै अभिव्यक्त गर्नु नै मेरो क्यानभासको अर्थ हो।’ 

प्रकाशित: २८ जेष्ठ २०७७ ०४:४६ बुधबार

अक्षर चित्रकार