कला

लकडाउनमा पूर्वका साहित्यकार

प्रेम ओझा

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको दुई महिना कट्दै गर्दा साहित्यकार प्रेम ओझा पाँचथरको फिदिम–२ पल्लोटारको आफ्नै घरमा भेटिए । फाँटिलो खेतको छेउमा रहेको घर एकातर्फ धानचमर लाग्दै गरेका मकै र अर्कोतर्फ केरा, लिचीका बोटले घेरिएको थियो । अध्ययन कक्षमा उनी साहित्य, दर्शन र संस्कृतिका किताबको वरिपरि थिए ।  

ओझाले भने, ‘यो बेला अध्ययन, चिन्तन र लेखनमा समय मिल्यो । हामीलाई दिन कसरी कटाउने भन्ने कुनै समस्या भएन ।’ उनले थपे, ‘सन्त्रासको बेला सुरक्षित भए सिर्जनाकर्म गर्न सकिन्छ नै । समाजका लागि नयाँ किसिमका उपाय खोज्ने तथा लेखन र अध्ययनमै यो समय प्रयोग गरियो ।’

सिर्जनामा प्रतिभा र मेहनत उत्तिकै आवश्यक पर्छ । दैनिक जीवनयापनका लागि खटिँदा पर्याप्त समय नहुँदा साहित्यकारले यो लकडाउनको सदुपयोग गरेको देखिन्छ ।

 प्रदेश १ मा साहित्यकारहरू सिर्जनशील माहोल बनाउन बाक्ला कार्यक्रमहरू गर्थे । अन्यत्रझैँ यस्ता कार्यक्रमहरू पनि प्रभावित बने । तर, सिर्जनशीललाई भने यो बेला सक्रिय नै रहेको पाइन्छ । बन्दाबन्दीपछि यो प्रदेशका साहित्यकारले विभिन्न विधामा कृति निकै थप्ने अनुमान गर्न सकिन्छ । विभिन्न भाषामा लेख्नेहरू पनि उलेख्य संख्यामा छन् ।

 प्रा.डा. टंक न्यौपाने

लकडाउनमा साहित्यकारहरू सामूहिक जमघटबाट टाढा छैनन्, यसका लागि उनीहरू अचेल भर्जुअल दुनियाँमा छाएका छन् । प्रविधिको प्रयोग गरेर साहित्य सिर्जना वाचनदेखि बहसमा रमाएका भेटिन्छन् । अनलाइन तथा सामाजिक सञ्चालमा साहित्यिक रचनाहरू बाक्लो गरी प्रकाशन भएको छ । अधिकांशले पुस्तक पढ्ने, सिर्जना गर्ने, फिल्म हेरेर समयलाई सिर्जनशील बनाएका छन् ।  

धरानका प्रा.डा. टंक न्यौपानेले यो समय लेखनमा उपयोग गरेको सुनाए । ‘संसारमा कोरोनाले दुःख दिएको छ । यो दुःख हामी सबैको हुनै ने भयो । व्याक्तिगत रुपमा भने मलाई अवसर जस्तो भयो । बिदा लिनुपरेन । लकडाउनको अवधिमा दुई–तीनवटा काम गरेँ । केही समालोचना लेखेँ,’ उनले भने, ‘दुङमाली राई भाषाको व्याकरण लेखेर अन्तिम चरणमा पु¥याएँ । भोजपुरको दुङ्मामा रहेका ज्यादै अल्पसंख्यको भाषाको व्याकरण लेखेको हो । नब्बे प्रतिशत पूरा भयो । यस हिसाबले मैले यो समयको उपभोग गरिरहेको छु ।’

सीमा आभास

अहिले देश–विदेशमा रहेका साहित्यकारहरु विभिन्न भर्चुअल अन्तक्र्रिया सहभागी भइरहेका छन् । लकडाउनकै बीचमा केही कार्यक्रममा सहभागी भएको सुनाउँछिन्, कवि सीमा आभास । उनी भन्छिन्, ‘अहिले पुरुषहरूले थाहा पाए होलान् । महिलाहरू यसअघि पनि सेमी–लकडाउनमै थिए । अधिंकाश महिलाहरू घरभित्रै बस्छन् । अहिले जसरी प्रशासनको पास लिएर हिँड्नुपर्छ, महिलाहरूले त्यसैगरी घरका सासु–ससुरा, श्रीमान, दाजू–भाइको पास लिएर हिँड्नुपर्छ । यसको सिसिक्यामेरा चैँ छिमेकी र चिनेजानेका नातेदार हुन् ।’ उनले आममहिलाभन्दा आफू केही स्वतन्त्र भए पनि लकडाउनको असर परिरहेको सुनाइन् । उनी थप्छिन्, ‘हामीले त चोरेको, उभारेको समयमा लेख्ने त हो, यो बेला समय पाएँ ।’

लकडाउनमा केही समय मिलेको उनको भनाइ छ । उनले अहिले लेखनकार्यका लागि समय दिइरहेकी छिन् । ‘एउटा आख्यानको किताब लगभग तयारी गरेकी छु । लकडाउन खुलेपछि किताब निकाल्ने तयारीमा छु,’ उनले थपिन्, ‘व्यक्तिगत रुपमा लेखनका हिसाबले असर पुगेन । समग्रमा फाइदा नै भयो । आख्यानका लागि लामो समय घोरिने समय पाएँ ।’

मुनाराज शेर्मा 

झापाका मुनाराज शेर्मा पनि अहिले लेखनमै सक्रिय छन् । अहिले उनी लेखनमा सरकारका राम्रा कामको समर्थन र नराम्रा कामको आलोचना गरेको बताउँछन् । 

 

मुनाराज भन्छन्, ‘सरकारले बेलाबेला झोँक चलाउँछ । रुकुमकाण्ड लगायत घटनाका बारे लेखिएको छ । अहिले निजी विद्यालयले सामुदायिक विद्यालयलाई हेर्ने भन्ने खालको कुरा आएको छ । यस्ता विषयमा हामीले लेख्नुपर्छ ।’ 

 

उनी भन्छन्, ‘सरकारले बेलाबेला झोँक चलाउँछ । रुकुमकाण्ड लगायत घटनाका बारे लेखिएको छ । अहिले निजी विद्यालयले सामुदायिक विद्यालयलाई हेर्ने भन्ने खालको कुरा आएको छ । सामुदायिक विद्यालयले केही अपवाद बाहेक आर्थिक विपन्न भएका विद्यार्थी पढाउनुपर्छ । भोकै नानीहरू आउँछन् । आर्थिक, सामाजिक, शैक्षिक पृष्ठभूमि कमजोर भएकाहरू आउँछन् । बोर्डिङमा उच्च वर्गका नानीहरू पढ्छन् । यस्ता विषयमा हामीले लेख्नुपर्छ ।’ उनले अहिले केही कविता, केही समालोचना लेखेको बताउँछन् । योसँगै उनले अनुवाद, अध्ययनसँगै फिल्म, डकुमेन्ट्री हेर्ने गरेका छन् ।

विमल वैद्य

 

प्रदेश १ मा विभिन्न भाषामा साहित्य सिर्जना हुने गरेको छ । जिल्लैपिच्छे विभिन्न किसिमबाट साहित्यको माहोल सिर्जना हुने गरेको छ । इलामका विमल वैद्यले योपल्ट आफ्नो विगतका अनुभव शब्दमा उतार्ने मौका पाए ।

 ‘जीवनका विभिन्न कालखण्डका भोगाइ समेटेर संस्मरण लेखियो । अब एक–दुईवटा लेख्दा पुस्तक तयार हुन्छ,’ उनले भने, ‘एउटा कविता संग्रह र एउटा संस्मरण संग्रहको तयारी भयो । साथीहरूसँग जुमको माध्यमबाट रचना वाचन र अन्तक्र्रिया गर्न पाइएको छ ।’  

सगुन सुसारा

सिर्जनात्मक काम गर्न माहोल पनि आवश्यक पर्ने बुझाई राख्छन्, पाँचथरका सगुन सुसारा । 

रवि भन्ने ठाउँबाट लकडाउन हुनुभन्दा एक दिन अगाडि फिदिम आएका सुसाराले यो अवधिमा पुस्तकको कामसँगै केही लेख लेखेको सुनाए । ‘लकडाउनले आर्थिक रुपमा, व्यावहारिक रुपमा पार्ने असर त छँदै छ । तर लेखनका हिसाबले भने केही कामहरू गर्न पाइयो । साहित्य, संस्कृतिको क्षेत्रमा थप केही लेख्न र केही पढ्ने समय पाइयो,’ उनले भने ।  

प्रकाशित: २४ जेष्ठ २०७७ ०८:०७ शनिबार

अक्षर