कला

म मान्छे भएर बाँच्न चाहन्छु

कविता

सरकार !

मलाई चिन्नुभयो ?  

१५ वर्षअघि  

जन–आन्दोलन चलेको बेला  

कलंकीमा गोली लागेर ढल्ने  

दीपक कामी  मै हुँ  

मलाई याद छ,

त्यो दिन  

मेरो शवलाई  

आर्यघाटमा खोसाखोस गर्नुभएको थियो  

मलाई रातो झन्डा ओढाएर

मेरै पार्टीको सहिद भन्नुभएको थियो  

अब चिन्नुभयो ?  

 

सरकार !  

बाह्रवर्षे युद्धताका  

भीडन्तमा  गोली लागेर  

ढलेको वीरबहादुर रम्तेल मै हुँ

त्यही वर्ष  

सहिदको पंक्तिमा मेरो चर्चा थियो  

सरकार !  

त्यही वर्ष सडकमा उर्लिरहेको आन्दोलनमा  

प्रहरीको  गोली लागेर  

नेपालगन्ज चोकमा ढलेकी  

सेतु विक मै हुँ  

सडकमा नारा चर्किरहेको थियो  

अब आउने संघीय गणतन्त्रमा  

जात र भातको  

धनी र गरिबको  

नामोनिसान हुने छैन  

यही नारा सुनेरै  

म होमिएको थिएँ  

समताको युद्धमा  

हो सरकार !  

मैले विभेदको पर्खाल ढाल्ने  

यो समाजमा मान्छे भएर बाँच्ने  

सपना देखेरै  

देशलाई रगत चढाएकी हुँ  

सरकार अब चिन्नुभयो ?

बाह्र वर्षे युद्धमा  

देशलाई रगत चढाउने  

सोह्र हजार दलित मै हुँ  

हजुरलाई थाहा छ ?  

मेरो रगत बगाएरै  

लोकतान्त्रिक नेपालको  

पहिलो प्रधानमन्त्री  

पहिलो राष्ट्रपति

बनेकै हुन्  

मेरै हड्डीको पर्खालले  

हजुरको सत्ताको उच्चाइ  

चुलिएकै  हो  

मेरै भोटले  

हजुरको बहुमत पुगेकै हो  

भुल्नुभयो ?  

मेरो  झुपडीमा आउँदा  

गरेका वाचा  

पख्नुस्  

म सम्झाउँछु  

‘संघीय गणतन्त्रमा

छुवाछुत  

भेदभाव  

निमिट्यान्न हुनेछन्  

मात्र मान्छेको समाज हुनेछ’

सरकार !

हजुरकै कुराले  

हातमा गणतन्त्रको झन्डा लिएर

काँधमा मुक्तिको बन्दुक बोकेर  

यस्तै–यस्तै सपनाहरु बुनेर  

होमिएकी हुँ  

हजुरको महान युद्धमा  

यो पनि भन्नुभएको थियो  

आऊ बोक बन्दुक  

देऊ देशलाई रगत

सुनौलो दिन आउनेछ  

जहाँ प्रेम गरेबापत  

नवराज विकलाई झैँ  

भेरीमा बगाइनेछैन  

प्रेम गरेकै अभियोगमा  

अजित मिजारलाई झैँ

मृत्यु उपहार दिइनेछैन

सरकार !  

यो पनि भन्नुभएको थियो  

भूमिहीन दलितले भूमि पाउनेछन्  

रुढीवादी समाजको जरा उखेलेर  

सुन्दर समाज निर्माण गर्नेछौँ

गणतन्त्र राज्यमा  

अछुतको नाममा कुनै ढोकाहरू

प्रतिबन्धित हुनेछैनन्  

धारा–पँधेरामा पानी छुँदा  

मना सर्किनीझैँ  

कुटिएर मर्नुपर्ने छैन  

अफसोच !  

अस्ति रुकुममा  

ठूलो जातको युवतीलाई  

प्रेम गरेको अभियोगमा  

नवराजहरुलाई  

कुटी–कुटी मारेर  

भेरीमा बगाएपछि  

रसमानताकै लागि बगाएको मेरो रगत  

सोह्र हजार दलितले बगाएको रगत  

सबै भेरी नदीमै बगेपछि  

मलाई कस्तो  धिक्कार लागिरहेछ  

संघीय गणतान्त्रिक राज्यको  

सहिद भन्न लाज लागिरहेछ  

भन्नु त सरकार !  

के मलाई झुक्याएर  

मेरो रगत माग्नुभएको थियो ?  

गणतन्त्रको दशकौँसम्म  

हजुर किन मौन ?  

आँखैअघि  मलाई मारिँदा  

हजुर किन मौन ?  

भन्नुस् सरकार !

समृद्ध नेपालमा मेरो अस्तित्व खै ?

झुपडीमा बोलेका वाचाहरु खै ?

यस्तो पनि गणतन्त्र हुन्छ र ?

सरकार !  

भो अब मेरो रगत फिर्ता देऊ  

म मान्छे भएर बाँच्न चाहन्छु ।

 

प्रकाशित: २४ जेष्ठ २०७७ ०३:१८ शनिबार

अक्षर