कला

किन पिउँथे कवि हरिभक्त कटुवाल ?

गीता मैनाली

‘मलाई नसोध कहाँ दुख्छ घाउ,

म जे छु जहाँ छु बिथोल्न नआऊ ।

कवि हरिभक्त कटुवालको दुखेकोे घाउ पत्ता लगाउने जमर्को गर्दा आफ्नै मनभित्रको घाउ चह¥याउन थाल्यो । आफूलाई मनपर्ने कवि हरिभक्तले किन रक्सी खाए ? मनमा एउटा अनुत्तरित प्रश्न लिएर उनका आफन्तको खोजी गर्न थालें । हरिभक्तकी जेठी बहिनी सूचना केन्द्र बनेकी वसन्ती थापासँगको भेटमा कविका लागि आँसुका केही थोपा पनि खसे ।  

विसं १९९२ असार १८ गते आसाम, अम्बिकापुरको पेङ्रीमा जन्मेका कटुवाल स्थापित लेखकको चिनारी बनाएर अल्पायुमै अर्थात् ४५ वर्षको उमेरमै २०३७ भदौ २५ गते यस धर्तीबाट बिदा भएछन् । उनकी आमाले जन्माएका ६ सन्तानमध्ये हरिभक्त जेठा ।  

हरिभक्त कटुवाल

जयकुमारीलाई भगाएर ल्याई गोठमा राखेर आफ्नै घरबाट बरियात निकालेर आँगनमा रीतिपूर्वक विवाह गरेका हरिभक्तले श्रीमतीबाट आशा गरे जति माया नपाएपछि रक्सीको सहारा लिन पुगेको तथ्य उनका आफन्तबाट थाहा पाइयो ।  

जयकुमारीबाट जन्मेका तीन छोरी र एक छोरामध्ये छोरा दानुले पनि बाबुकै सिको गरेर भावुक कविता लेख्ने, रक्सी खाने गर्न थालेछन् र २७ वर्षको उमेरमै धर्ती छाडेछन् । छोरीहरू भने विवाह गरेर आआफ्नै घरमा रहेछन् ।  

रक्सीले हरिभक्तलाई खाइसके पनि हरिभक्तले किन रक्सी खाए ? मेरा लागि खोजी र चासोको विषय बन्न पुग्यो ।  

‘तिमी छामी हेर एउटा मान्छेलाई

जम्मै मान्छेभित्रको कथा त्यही मान्छेभित्र हुन्छ,

मान्छेलाई तिमीले चिन्न सक्यौ भने

एउटै हरिभक्त कटुवाल पर्याप्त हुन्छ ।’  

हरिभक्तलाई छाम्न खोजे रक्सीको गन्ध आफैंसम्म आएजस्तो लाग्यो । बहिनी वसन्तीले भनिन्, ‘लभ म्यारिज भए पनि भाउजूको माया पाएन दाजुले ।  कटुवालको सडक कविता भनेपछि बालक, वृद्ध र तरुनातन्नेरी कुदाकुद गर्थे । रक्सी खाएका बेला कविता लेख्नै पर्दैनथ्यो । अरू बेला लेख्न बस्दा चिया र चुरोट टुटाउनु हुँदैनथ्यो । तर, भाउजू झर्को मान्नुहुन्थ्यो । त्यसैले जयकुमारीको अनुहार हेर्न मन छैन भन्थ्यो दाजुले । श्रीमतीले गर्दा घर छाड्यो र रत्ना (प्रेमिका)ले गर्दा देशै छाड्यो । निराश भएर कविता कोथ्र्यो,  ‘यो जीवन अन्तिम पाना पनि च्यातेपछिको एउटा ठुटे चेकबुक जस्तो ।’

उनले खोजेको मात्र दुई चीज देशको माया र प्रियसीको छाया तर यी दुवैबाट निराश भएर भौतारिएका बेला साथीहरूले माया गरेर दिएको रक्सीले उनको ज्यान गएछ । रक्सी त सबैले खान्छन् ।  बेहोसी हुन खान्छन् तर हरिभक्तले सधैं होसमा आउन रक्सी खाएछन् ।

दाजुको अन्तिम बिदाइको क्षण सम्झँदै वसन्तीले भनिन्, ‘बुबा बिरामी भएको खबर आएर एक्कासि दाजु आसाम जानुप¥यो । ‘मैले यहाँ थुप्रै फल रोपिदिएको छु । टिपेर खानु भनेर जाने बेलामा दुई हजार रुपैयाँ हातमा राखिदियो । तैं बिरामी छस् । राम्रोसँग जा पुगेपछि खबर पठा भनें । बाबु मरेको दुई महिना ११ दिनमा दाजु पनि खसेछ ।’  

कान्छा भाइ उपेन भन्छन्, ‘बिहेभन्दा अघि दाजु निकै भलाद्मी थियो ।  भाउजू सुनको गहना मागी राख्ने, दाइ जति पैसा कमाउथ्यो समाजसेवामा खर्च गथ्र्यो । गहनामा खटपट प¥थ्र्यो अनि दाजुले ‘आकाशका तारा के तारा’ कविता लेख्यो, त्यो कविताले २०२० सालमा दिलाएको रोयल नेपाल एकेडेमी पदकले दाजुलाई सर्वश्रेष्ठ कविका रूपमा स्थापित गरायो ।’

प्रिय !

आकाशमा चम्कने नौलाख तारा

दुई तारा ल्याई लुर्कना बनाई

तिम्रा बुच्चा कानहरूमा  

झुण्ड्याई दिनसके कस्तो हुँदो हो ?  

अहिले त खुसीयाली मनाउन रक्सी पिउने चलन भैसक्यो । तर, त्यतिबेला दाजुले आफ्ना पीडालाई छोप्न रक्सी पिएथ्यो । परिवार हेरेन । हामीले नै उसको परिवारको हेरचाह ग¥यौं । पछिल्लो समय उसमाथि गर्व गर्नलायक कुनै कुरा थिएन । तैपनि उसको त्यो लेखाइको धरातललाई साँच्चै गर्व गरेर भन्छु, ‘ऊ असाध्यै राम्रो लेख्थ्यो । उसका लेखाइमा शब्द संयोजन राम्रो हुन्थ्यो ।’  

उपेनकी श्रीमती हरिभक्तकी स्कुले छात्रा पनि हुन् । उनको हरिभक्तलाई हेर्ने छुट्टै दृष्टि छ । उनी भन्छिन्, ‘श्रीमानको हरेक सफलताका लागि श्रीमतीको साथ जरुरी हुन्छ । सायद त्यो पूरा हुन सकेन । भाउजूबाट दाजुले कुनै हौसला पाउनुभएन ।’  

दुनियाँले पिएको मात्रै देख्यो तर दाजुभित्रको दर्द महसुस गर्न सकेन । एक त लेखकको दुनियाँ नै अलग हुन्छ । त्यसमा पनि दाजुको दुनियाँ झन् अलग थियो । किनकि कुनै पनि गरीबका लागि उहाँको दर्द अलग हुन्थ्यो । हामी सानो छँदा नै गरीब विद्यार्थीलाई उहाँ आफैले पेन्सिलकापी किनिदिएर पढाउनुहुन्थ्यो । गरीबकै लागि भनेर पेङ्रीमा आफंैले बाँस काटेर स्कूल बनाउनुभयो र स्कूल जाने बाटोको खोल्सामा पुल पनि । दाजुको भावनालाई बुझेर साथ दिन नसक्नु भाउजूको कमजोरी हो । किनकि विवाहअघि दाजु कहिल्यै पिउनु हुन्नथ्यो । विवाहपछि पनि नेपाल गएर पिउने आदत बनाउनुभयो । टाढा हुनुहुन्थ्यो उहाँको खानामा हेरचाह गर्ने कोही भएन । रक्सीले उहाँलाई खायो ।’  

हुन त एउटा जँड्याहा कविको श्रीमती भएर जिउनु पर्दाको जयकुमारीको पीडालाई कम मान्न सकिन्न । तर जँड्याहा हुनुअघिको स्थितिलाई हेर्ने हो भने कटुवाल जँड्याहा हुनुमा जयकुमारीको पनि त्यत्तिकै हात रहेको पाइन्छ ।

कटुवालको साहित्यिक यात्रा

यस धर्तीमा थुप्रै मानिस जन्मन्छन् । तर, ती सबैको नाम दर्ता हुँदैन । हरिभक्त कटुवालले छोटो समयमै थुप्रै विद्यामा आफ्नो नाम दर्ता गर्न भ्याएछन् । ती विद्याको नाम हो, निर्देशक, शिक्षक, पत्रकार, कलाकार, चित्रकार, कवि, गीतकार, नाटककार, राजनीतिक नेता, सामाजिक कार्यकर्ता र किसान । त्यसबाहेक नेपालका गल्लीगल्लीका भट्टीमा उनले खाएको रक्सीले नेपाली समाजमा जँड्याहा, अनुशासनहीनको पदवी पनि उनले पाएका छन् । त्यो उनको छुट्टै विद्यामा दर्ता भएको नाम हो ।  

२०१५ सालमा ‘छातीभरि सम्झनाका गीत सँगालो’ बोकेर नेपाली साहित्यमा देखापरेका कटुवाल २०२० मा ‘भित्री मान्छे बोल्न खोज्छ’ कविता संग्रहबाट उत्साहको उमङ्गले हिमालमा आरोहण गर्न चाहन्छन् । उनले जीवनमा निर्माणको उच्च आदर्श र विद्रोहको प्रखर सूर्यलाई काँधमा बोकेर आएको पाइन्छ ।  

‘सिउन सकिन्न जिन्दगीलाई झन् फाट्छ’ जिन्दगी जिउने क्रममा आइपरेका मधुर क्षणहरूलाई कलात्मक कविताको रूप दिने हरिभक्तले स्वीकार गरेको ‘यो जिन्दगी खै के जिन्दगी’ का कविता हाम्रा जीवनका वास्तविकता हुन् ।  

उनको रातो डायरी हराएको चर्चा नेपालदेखि आसामसम्म फैलिएको छ । जुन कटुवालको अमूल्य सम्पत्ति मानिन्छ ।

उक्त कविताका बारेमा कटुवाल आफैंले भनेका छन्, ‘म आँसु लुकाएर हाँसोको कथा कसरी लेखौं ? टन्न गरम कपडा लगाएर, ठूल्ठूला होटलमा कफी र ड्रिङ्कस खाएर, जाडो लाग्यो पाँच पैसा भन्ने बालकको कविता मलाई लेख्न मन लाग्दैन ।’ काठमाडौंका पेटीमा देखिने ती बालकको  भोगाइ, जाडो र भोकलाई उसबारे कविता लेख्नु छ भने मैले आत्मसात् गर्नुपर्छ तिनीहरूसँग । निराश को छैन यो नेपालमा । देखावटी उल्लासले के गर्छ ? हाम्रो देशको स्थिति सबैलाई थाहा नै छ । छिमेकी राष्ट्रबाट दुई दिन मट्टितेल आइदिएन भने यहाँ लाखौं अनुहार निराश हुन्छन् । आशावादी म पनि छु,, यी असड्ख्य निराश व्यक्तिको पंक्तिबाट आफूलाई अलग राख्न नसकेरै सायद म निराश छु ।’  

उनलाई बाउबाजे परदेश किन गए ? कारण खोतल्नु छ ।  

बाबु भन्थे, ‘धनकुटामा हाम्रो घर थियो रे ।’  

गरीब चुस्ने सामन्तले ब्याजैब्याजमा लियो रे,

घरखेत गैहाल्यो पराईको भैहाल्यो

झोलीतुम्बा बोकी चढें रेल छकछक ।

ए, स्वदेशी प्राण

भौतारिँदै पुग्यौ है आसाम ।  

उनका यी रचनामा विदेशिनुको पीडा लुकेको पाइन्छ । देशप्रेम जन्मजात सिर्जने गुण हो, देशमा बसेर चाहिँ देशको भलाइ गर्न सकिन्छ । विदेशमा बसेर सकिँदैन भन्ने धारणाको खण्डन कटुवालका कविता र स्वयं कविले नै प्रमाणित गरिसकेका छन् । हामी जानेर पनि केही गर्न सक्दैनौ भन्ने पीरमा पिल्सिएका कटुवालले देशभित्रको अशक्ततालाई बुझेका छन् ।  

बहादुर भएर पनि बुद्धू बनेका गोर्खाली जब प्राणको बाजी लगाएर पनि कसैको साख हुन सक्दैनन् अनि हरिभक्त भित्रको नेपालीपन जागेर आउँछ ।  

घरमा स्वास्नीलाई आङ ढाक्ने एक जोर लुगा हालिदिने हुति नभएर विदेशी फौजमा भर्ती भएका नेपालीले बहादुरी प्रदर्शन गरेर पाएको भिक्टोरिया क्रस ‘तक्मा’लाई गौरव गर्नुको सट्टा हरिभक्त भन्छन्– ‘गरीबी नेपालीको बाध्यता हो ।’

उनले ‘साथीलाई’ कविताको माध्यमद्वारा अर्काको फोस्रो सहानुभूतिमा नलागी भिरमा पनि गुराँस भएर फुल्नुपर्ने कुराको संकेत दिएका छन् । उनका अधिकाश कवितामा उत्साह र जाँगरका लहर सल्बलाएका पाइए पनि दुःख र वियोगका बादलले जिन्दगीको घामलाई छोपेको देख्ने कटुवाल जब आफ्नै बाटो हिँड्दा पनि खुट्टा अन्तै कतै गइरहेको पाउँछन्, अनि रक्सी बनाइदिने पहिलो स्रष्टालाई सलाम गर्दै रक्सीसित जिन्दगी साटासाट गर्न पुग्छन् ।  

किनभने यहाँ जिन्दगी रक्सीको मोल, काँचको चुरा र रबरको चप्पलभन्दा पनि सस्तो छ । त्यसैले उनी आफू मौलाऊँ भन्दाभन्दै बौलाउन लागेको देख्छन् । ‘यो जिन्दगी खोई के जिन्दगी’ भने पनि जिन्दगीप्रति अति आस्थावान् कटुवाल आकाशका तारा के तारा भनी धर्तीका तारालाई बढी मन पराउने कटुवाल, पाइलैपिच्छे चोट र आघात पाई ‘मन त फलामकै भए असल हुन्छ’ भन्ने कटुवालः, सडकमा ढुंगा कुट्ने ज्यामीको अनुहारमा कविता खोज्ने कटुवाल अभाव मेटाउन मट्टितेल बन्न खोज्ने कटुवाल बाटैपिच्छे सशक्त र सम्वेदनशील लेखाइका पदचिन्हहरू छोड्दै जाने कटुवालले मर्नुभन्दा अघि अस्पतालको बेडबाट भनेका रहेछन्, ‘मैले आसाम र नेपाललाई धेरै गर्नु थियो । तर, ती सबै अधुरो रहने भयो ।’

आफूले गरेको कार्यलाई आसाम डिव्रुगढ र डिगबोईका आफन्तले मायाले किनेको बताउने कटुवालले नेपालले अझै आफूलाई चिन्न नसकेकोमा खिन्न देखिन्थे रे ।  

कटुवाल पाँच हजार रुपैयाँको अभावमा औषधि गर्न नपाएर अस्पतालकै शैयामा बेवारिस लासकै चाङ्गमा परेछन् । पछि साथीहरूले थाहा पाएर उनको लास ब्रम्हपुत्र नदीमा लगिएछ । जम्मा १३ जना उनका मलामी भएछन् ।  

उनका ‘स्पष्टीकरण’ कथा संग्रह र ‘बदनाम मेरा यी आँखाहरू’ कविता संग्रहलाई पुस्तकको रूप दिने र आसाम र नेपाललाई पृष्ठभूमि बनाएर दुइटा उपन्यास लेख्ने योजना अधुरो रहन गएछ ।  

पहिलो पटक राजा महेन्द्रले बोलाएर कवि सम्मेलनका लागि नेपाल आएका कटुवालले त्यतिबेला सरकारबाट यतै बस्न अनुरोधका साथ दिएको बक्सिसलाई इन्कार गरेको क्षण सम्झँदै थिए रे । घरपरिवारप्रति आफूले केही गर्न नसकेकामा उनलाई आत्मग्लानि भएको रहेछ । अन्तिम अवस्थामा उनले भनेछन्, ‘सुखसुविधाकै निम्ति मात्र सोच्ने मान्छे भए, आज नेपालतिर मेरो पनि ४०÷५० बिघा माटो हुने थियो होला । मलाई सबैले बौलाहा भने ! ठीकै छ म बौलाह नै सही । मैले मेरा पीरहरू रक्सीमा बिर्सन कोसिस गरें । मनमा अझै बाँच्ने रहर छ । बाँचे भने यसपटक आफूलाई सही मानिस सिद्ध गर्ने प्रयास गर्नेछु ।’  

कटुवाल पाँच हजार रुपैयाँको अभावमा औषधि गर्न नपाएर अस्पतालकै शैयामा मरेर बेवारिस लासकै चाङ्गमा परेछन् । पछि साथीहरूले थाहा पाएर उनको लास ब्रम्हपुत्र नदीमा लगिएछ । जम्मा १३ जना उनका मलामी भएछन् ।  

हरिभक्तले आफ्नो छोटो समयमै के मात्रै गरेनन् ? उनले खोजेको मात्र दुई चीज देशको माया र प्रियसीको छाया तर यी दुवैबाट निराश भएर भौतारिएका बेला साथीहरूले माया गरेर दिएको रक्सीले उनको ज्यान गएछ । रक्सी त सबैले खान्छन् ।  बेहोसी हुन खान्छन् तर हरिभक्तले सधैं होसमा आउन रक्सी खाएछन् । त्यसैले त रक्सी खाएका बेला वाचन गरेको कविताले ख्याति पाएछ । रक्सी नखाएको भए आफ्नो इमान बेच्न नसक्ने मान्छेले साथीहरूसँग पाँच÷दश रुपियाँ माग्न पनि त सक्दैनथे !

सधैं रक्सी किन्ने पैसा दिएर गुण लगाउने साथीले इमानदारीको साथ एउटा साथीले अर्को साथीका लागि गर्नुपर्ने न्यूनतम सहयोगसम्म पनि गरिदिएको भए आजको युगमा जाबो टिबी जस्तो मामुली रोगले हरिभक्तलाई कदापि  खान सक्ने थिएन । उनले ‘बान्की’ मा भनेका रहेछन्– ‘मैले जिन्दगीमा धेरै पल्ट हारेको छु र नै सायद सबैभन्दा अधिक विजयी हुने मौका पाएको छु !’

‘वेदनाले आँसु भरी रुझिदिने को छ र ?

भित्री मन किन रोयो बुझिदिने को छ र,  

मुख लुकाई पीर रुन एउटा न्यानो काख छैन

यति धेरै मानिस छन् आफ्नो कोही साख छैन ।’

 

‘बदनाम मेरा आँखामा  

सपना ककस्को बोकी बाँचूँ

जिज्ञासा मेरै उत्कण्ठा मेरै

कुन ढुंगालाई ढोगेर हाँसु !!

निचोड  

त्रिशूली उर्लिन्छ उसैगरी  

नयाँ सडकमा हरिभक्तले खुट्टा लर्रबराएझैं गरी ।  

हरिभक्त जँड्याहा थिए भनेर पहिचान गराउने उक्त पंक्ति प्रायः सबै नेपालीले कण्ठ पारेका छन् । बहुप्रतिभाका धनी कटुवालका सिर्जनालाई पनि उनले पिएको रक्सीसँग दाँजेर हेरिन्छ । यो कविप्रतिको ठूलो अपमान हो भन्ने लाग्छ । गुण र अवगुण प्रत्येक मानिसमा हुन्छ । आज जति पनि मानिस समाजमा प्रतिष्ठित कहलिएका छन् ती सबैले आफ्नो अवगुण ढाकेर गुणलाई मात्र उजागर गरेका हुन्छन् । तर, कवि हरिभक्तले आफ्ना गुण र अवगुणलाई सबैसामु झर्लङ्ग पारेका छन् । उनी मार्फत् उनका परिवारको पनि गुणदोष छर्लङ्ग छ । तर, हामीले उनका अवगुणको मात्र प्रचारमा समय खर्चिएछौं ।

सधैं रक्सी किन्ने पैसा दिएर गुण लगाउने साथीले इमानदारीका साथ कटुवालको उपचारमा सहयोग गरिदिएको भए जाबो टिबी जस्तो मामुली रोगले उनलाई खान सक्ने थिएन । कटुवाललाई जसले रक्सी खान पैसा दियो उसैले आज आफ्ना संस्मरणमा उनलाई जँड्याहाको उपाधि दिएका छन् ।  

हुन त एउटा जँड्याहा कविको श्रीमती भएर जिउनु पर्दाको जयकुमारीको पीडालाई कम मान्न सकिन्न । तर, जँड्याहा हुनु अघिको स्थितिलाई हेर्ने हो भने कवि कटुवाल जँड्याहा हुनुमा जयकुमारीको पनि त्यत्तिकै हात रहेको पाइन्छ । जयकुमारीको पनि मृत्यु भैसकेको छ । त्यसैले उनीसँग भेट गर्ने मेरो इच्छा अधुरो रहयो । उनका पीडालाई गहिराइमा गएर खोतल्ने मौका पाइनँ ।  

कविमाथि अन्याय परेको कुरालाई पनि सहजै नकार्न सकिँदैन । कवि कटुवाललाई त परै जायोस् । कविले कोरेका कविताको स्याहारसम्भार गतिलो गरी राखिदिनेको अभाव रहेछ । कटुवालको रातो डायरी हराएको चर्चा नेपालदेखि आसामसम्म फैलिएको छ । जुन कटुवालको अमूल्य सम्पत्ति मानिन्छ । कवि कटुवाललाई जसले रक्सी खान पैसा दियो उनैले आज आफ्ना संस्मरणमा उनलाई जँड्याहाको उपाधि दिएका छन् । रक्सी अनि  कविको व्यक्तित्व र कृतित्वलाई अलग राखेर मूल्यांकन गरिनुपर्छ भन्ने मेरो मान्यता छ ।  

प्रकाशित: २४ जेष्ठ २०७७ ०१:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App