कला

सकियो ‘भर्चुअल लिटरेचर फेस्टिभल’

काठमाडौं - लकडाउनको समयमा सिर्जनशील बनिरहन उत्प्रेरित गर्ने उद्देश्यसहित आयोजना गरिएको ‘भर्चुअल लिटरेचर फेस्टिभल–किताब जात्रा–२०२०’ को समापन गरिएको छ। किताब जात्रा फाउन्डेसनको आयोजना र चौधरी  फाउन्डेसनको प्रस्तुतिमा सोमबारदेखि सञ्चालन भएको एक हप्ते फेस्टिभलको वैशाख ८ समापन गरिएको आयोजकको भनाई छ।

किताब यात्रा फाउन्डेसनका अध्यक्ष ऋषिराम अधिकारीले फेस्टिभल सन्तोषजनक भएको बताए। ‘संकटका साथी कला–साहित्यबारे छलफल गरौं, सुरक्षित रहौं र सिर्जनशिल बनौं भन्ने उद्देश्यसहित फेस्टिभलको आयोजना भएको थियो,’ अधिकारीले भने, ‘छोटो समय सञ्चालन भए पनि फेस्टिभल उत्साहजनक भयो।  साथै हामीले नौलो अनुभवको पनि महसुस ग¥यौं, आगामी दिनहरुमा पनि हामीले यस्तै नयाँ कामको आयोजना गर्नेछौं।’

वैशाख एक गतेबाट सुरु फेस्टिभलको पहिलो दिन दुई सत्रमा बहस गरिएको थियो। पहिलो सत्र ‘आख्यानको अभिभारा’ शीर्षकमा आख्यानकारहरू युग पाठक, अमर न्यौपाने र मनिषा गौचनले छलफल गरेका थिए।

पहिलो सत्र ‘आख्यानको अभिभारा’ शीर्षकको छलफलमा गर्दै आख्यानकार अमर न्यौपानेले हाम्रो जीवन नै आख्यान भएको उल्लेख गरेका थिए। मानिसलाई मिथक बढी नै आवश्यक हुने बताउँदै आख्यानकार युग पाठकले मिथकविना मानिस बाँच्न नसक्ने बताएका थिए। आख्यानकार मनिषा गौचनले विगतमा भोगेका घटना र अहिले भोगिरहेका घटनालाई आख्यानमार्फत रेकर्ड गरी भावी पुस्ताले त्यसको अध्ययन गर्न र महसुस पाउनु नै आख्यानको अभिभारा र देन भएको बताएकी थिइन्। 

त्यस्तै, दोस्रो सत्रमा रङ्गकर्मी अनुप बराल, सरिता गिरी र केदार श्रेष्ठले ‘भर्चुअल मिडियामा रङ्गमञ्च’ शीर्षकमा बहस गरेका थिए। कला अनुरागीले सहजीकरण गर्ने सत्र अपरान्ह चार बजे लाइभ भएको थियो। 
आयोजकका अनुसार फेस्टिभलको दोस्रो दिन मंगलबार पनि ‘शब्दको सयर गर्ने सहयात्री’ र ‘गजल बहार’ शीर्षकका दुई सत्र आयोजना भएका थिए। त्यस्तै तेस्रो दिन बुधबार ‘केटाज कथार्सिस’ र ‘कोरोना विजनेस एण्ड सिएसआर’ शीर्षकमा छलफल गरिएको थियो। 

त्यस्तै चौथों दिन बिहीबार ‘सीमापारिको आवाज’ र ‘समुन्द्रपारिबाट देश लेख्दा’ शीर्षकमा कार्यक्रम लाइभ भएको थियो। पाचौं दिन शुक्रबार ‘बालसाहित्यको लोरी’ र ‘के छ खबर परदेशीको ?’ विषयमा छलफल गरिएको थियो। छैटौं दिन शनिबार तीन वटा सत्र ‘कोरोनाको सामाजिक र आर्थिक प्रभाव’,‘कोरोना,सहकारी र युवा’ र ‘छन्द लहर’ शीर्षकमा वक्ताहरुले आफ्नो राय प्रस्तुत गरेका थिए। 

त्यस्तै सातौं दिन ‘कोरोनाविरुद्ध फ्रन्टलाइनमा उभिँदा’ र ‘महिला आन्दोलनको पुस्तान्तरण’ शीर्षकमा छलफल भएको थियो। फेस्टिभलको अन्तिम दिन ‘कोरोना बिम्बमा काव्यिक दृष्टि’,‘पुष्पासंगमको सांगितिक प्रस्तुति र ‘लकडाउन लाइभ ः अ सिनेम्याटिक भ्यू’ शीर्षकका तीन वटा सत्रको आयोजना गरिएको थियो।

पहिलो सत्रमा भएको‘कोरोना बिम्बमा काव्यिक दृष्टि’ शीर्षकमा उपेन्द्र सुब्बा, श्रवण मुकारुङ र मनु मञ्जिलले आ–आफ्नो राय प्रस्तुत गरेका थिए। त्यस्तै ‘लकडाउन लाइभ ः अ सिनेम्याटिक भ्यू’ शीर्षकमा वक्ताहरु केकी अधिकारी, स्वस्तिमा खड्का, नाजिर हुुसेन र दयाहाङ राईले एकआपसमा आफ्ना भनाईहरु राखेका थिए। जसमा सहजकर्ताको रुपमा नायिका रिमा विश्वकर्मा उपस्थित थिइन्। 

फेस्टिभलमा गरिएका हरेक छलफलहरू किताब जात्राको फेसबुक पेजबाट लाइभ गरिएको थियो।

प्रकाशित: ८ वैशाख २०७७ १४:१३ सोमबार

भर्चुअल_लिटरेचर_फेस्टिभल