कला

आर्ट ग्यालरी बन्द

काठमाडाैँ - कोरोना भाइरस संक्रमण रोकथामका लागि सतर्कता अपनाएर सरकारले फिल्म हल र मनोरञ्जन स्थलसँगै राजधानी वरपरका आर्ट ग्यालरीहरू बन्द गरिएका छन्।

बबरमहलस्थित नेपाल आर्ट काउन्सिल, सिद्धार्थ आर्ट ग्यालरी, एमक्युब ग्यालरी र तारागाउँ म्युजियलगायतका ग्यालरीहरू बन्द भएका छन्। नेपाल आर्ट काउन्सिलका सदस्य जीवन राजोपाध्यायका अनुसार सरकारको निर्णयसँगै कला प्रदर्शनी स्थगित गराएर ग्यालरीहरू बन्द भएका हुन्। ‘सरकारले कोरोना संक्रमण रोकथामका लागि सतर्कता अपनाएर फिल्म हल, म्युजियम, मनोरञ्जन स्थलसँगै ग्यालरीहरू बन्द गरिएका छन्। काउन्सिलमा हुने तय भएका कला प्रदर्शनीहरू स्थगित भएका छन्,’उनले भने, ‘कलासम्बन्धी गतिविधिहरू रोकिएपछि कलाकारहरू घरमा बसेर नयाँ कला तयार गरिरहेका छन्।’

सिद्धार्थ आर्ट ग्यालरीकी क्युरेटर संगीता थापाले सरकारको निर्देशनसँगै ग्यालरी बन्द गरेको जानकारी गराएकी छन्। ‘संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले सतर्कता अपनाएर फिल्म हल, सांस्कृतिक केन्द्र, म्युजियम र मनोरञ्जन स्थललगायत बन्द गर्ने निर्णय गरेसँगै हामीले ग्यालरी बन्द गरेका छौं। अहिलेको अवस्थामा सतर्कता अपनाउनु जरुरी छ,’ उनले भनिन्, ‘ग्यालरी बन्द भएसँगै कलासम्बन्धी गतिविधि अनलाइनमार्फत सञ्चालन गर्ने योजना बनाइरहेका छौं।’ उनले पर्ख र हेरको स्थितिमा कलासम्बन्धी गतिविधि ठप्प भएको बताएकी छन्। ग्यालरी बन्द भएलगत्तै त्यहाँ सञ्चालित कला प्रदर्शनी स्थगित गरिएको छ।

बौद्धस्थित तारागाउँ म्युजियम सरकारी निर्देशनसँग बन्द गरिएको छ। सामाजिक सञ्जाल इन्स्टाग्राममा फोटोसहित म्युजियम तत्कालको लागि गरिएको पोस्ट गरिएको छ। यता ललितपुरस्थित एमक्युब ग्यालरी बन्द गरिएको जानकारी क्युरेटर मनिषलाल श्रेष्ठले दिए।

प्रकाशित: १० चैत्र २०७६ ०३:४६ सोमबार

कोरोना_भाइरस सरकार