कला

फिल्म हल बन्द नहुने

काठमाडौं – संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपनि फिल्म हलहरू बन्द नहुने भएका छन्। आइतबार बसेको नेपाल चलचित्र संघको बैठकले फिल्म हलहरू बन्द नगर्ने निर्णय गरेको थियो।

पछिल्लो समय सरकारले गरेको आह्वानसँगै देशरभर सञ्चानल भइरहेका सयभन्दा बढी हलहरू प्रभावित हुने सम्भावना बढेकाले फिल्म हलहरू बन्द नगर्ने निर्णय गरेको जानकारी नेपाल चलचित्र संघका सदस्य गोपालकाजी कायस्थले गराए। ‘आइतबारे बसेको संघको बैठकले तत्कालको अवस्थामा फिल्म हलहरू बन्द नगर्ने निर्णय गरेका छौं। यसअघि फिल्म हल सञ्चालकहरूलाई बोलाएर सतर्कता अपनाएर हल सञ्चालन गर्न आग्रह गरेका थियौं,’ उनले भने, ‘त्यसबाहेक कोरोना भाइरसका कारण फिल्म हलहरूको व्यापारमा असर पुगेको हुँदा सरकारलाई कर मिनाहासहित राहत दिन आग्रह गर्ने भएका छौं।’

यसअघि बिहीबार उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको उच्च स्तरीय समितिको बैठकले १९ निर्णय गर्दै सतर्कता अपनाउन आह्वान गर्ने घोषणा गरेको थियो। ‘संक्रमणबाट जोगिन ठूलो संख्यामा मानिसहरू भेला हुने फिल्म हल, सभा, समारोह, सामाजिक कार्य तथा मेला महोत्सव सहभागी नहुन आम जनसदुदायलाई आह्वान गर्ने’, सरकारले गरेको निर्णयहरूमा उल्लेख गरिएको थियो।

अधिकांश नेपाली फिल्मका निर्माताहरू दसैं र तिहारलगायत ठूला पर्वमा फिल्म रिलिज गर्न रुचाउने भएकाले कोरोनाका कारण पछाडि सरेका फिल्महरूको रिलिज मिति मिलाउन अप्ठ्यारो हुने तर्क नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले गरे। ‘कोरोना भाइरस संक्रमणको त्रासका कारण फिल्म क्षेत्रमा प्रतत्क्ष असर पुगेको छ। यस अवस्थामा फिल्म रिलिज नगर्ने निर्णय उत्तम हो,’ उनले भने, ‘अहिले मिति सारेका र पछि रिलिज हुने मिति तोकिसकेका फिल्महरूलाई मिलाएर लैजानु पर्नेछ। फिल्महरूको रिलिज मिति जुध्दा असर पर्ने हुँदा निर्माताहरू सोच्नु आवश्यक छ।’ नेपाली फिल्म क्षेत्रमा असर परेकाले कर मिनाहाको लागि सरकारसामु पहल गरिरहेको उनले बताए। यसअघि नेपाल चलचित्र निर्माता संघले प्रेस विज्ञप्तिमार्फत कोरोना भाइरसको संक्रमण रोकथामका लागि सतर्कता अपनाउन सम्पूर्ण फिल्महरूको सुटिङ तत्काल स्थगित गर्न आह्वान गरेको थियो।

‘नेपाल सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि भेला, महोत्सव, सभा र समारोहमा सरिक नहुन र रोक्न अनुरोध भएको हुँदा हामी फिल्मकर्मीहरू देश र जनताप्रति उत्तरदायी, समाजको संवाहकको रूपमा विम्बित हुने हुँदा यसको सम्भावित असरलाई दृष्टिगत गर्दै यसबाट हुनसक्ने जोखिम न्यूनीकरणका लागि आफ्नो तहबाट आम मानिसमा सचेतना जागृत गराउनका साथै सुटिङ भइरहेको फिल्महरूको हकमा सम्भव भएसम्म राज्यबाट अर्को सूचना जारी नहुन्जेलसम्मका लागि आ–आफ्ना फिल्महरूको सुटिङ कार्य स्थगन गर्न हुन सबैमा अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेख गरिएको थियो। गत वर्ष सयभन्दा बढी नेपाली फिल्म प्रदर्शनमा आए। तीमध्ये थोरैमात्रै फिल्मले लगानी सुरक्षित गर्न सफल रहे। यस वर्ष प्रदर्शनमा आउने फिल्मको संख्या घटेको छ।

प्रकाशित: ३ चैत्र २०७६ ०१:३८ सोमबार

फिल्म_हल कोरोना_भाइरस