कला

छोटियो थारू समुदायको होली

कैलाली - माघ शुक्लपूर्णिमादेखि सुरु हुने पश्चिम तराईबासी राना थारू समुदायको होरी (होली) पछिल्लो समयमा छोटिएर एक सातामा सीमित भएको छ। माघ शुक्लपूर्णिमाका दिन गाउँका अगुवा (भलमन्सा) ले होरी बनाएर राखेपछि कैलाली, कञ्चनपुरमा बसोबास गर्ने रानाथारू समुदायमा होरी पर्व सुरु हुने गर्छ। तर, पछिल्लो समय कार्य व्यस्तताका कारण राना समुदायले एक महिना लामो होरी पर्वलाई छोट्याएर एक सातासम्म मनाउने गरेका छन्।

‘एक महिनासम्म मनाइने होरी पछिल्लो समयमा छोट्याएर एक साता मात्रै मनाउने गरेका छौं,’ संस्कृतिकर्मी राजेन्द्र रानाले भने, ‘एक महिनासम्म होरी मनाउँदा बढी खर्चिलो हुनुका साथै समय समेत बढी लाग्ने भएकाले हामीले परिमार्जित गर्दै होरीलाई एक सातासम्म मात्र मनाउने गर्न थालेका छौं।’ राना थारू समुदाय होरी रातिको समयमा मात्रै खेल्ने गर्छन्। होरीमा होरी नृत्य गरेर रमाइलो गर्दै होली पर्व मनाइने गरेको उनले बताए।

‘हामी रातिको समय होरी नृत्य गरेर रमाइलो गछौं,’ उनले भने। रातिको समयमा एक महिनासम्म नाचगान गरेर मनाइने होरीलाई ‘जिन्दा होरी’ (जिउँदो होली) भनिने गरिन्छ। जिन्दा होरी चीर दहन नभएसम्म खेलिने गरेको बताउँदै उनले भने,‘राना थारूले होरी पर्व सुरु भएको पहिलो दिनदेखि एक महिनासम्म आफ्नै समुदायको हरेक घरबाट गुइँठा र तोरीको सुकेको डाँठ चोरेर गाउँभन्दा खुला क्षेत्रमा थुपार्ने गर्दछन्। उक्त चोरेको गुइँठा र तोरीको डाँठबाट होलिका बनाई चीर दहन गरेपछि जिन्दा होरी सकिने गर्छ।’ चीर दहनपछि भने राना थारू समुदायले ‘मरी होरी’ (मृत होली) भन्दै होली खेल्ने गरेको उनले बताए। ‘चीर दहनभन्दा १५ दिन अघि र चीर दहनपछि १५ दिनसम्म जिन्दा र मरी होरी गरेर एक महिनासम्म होरी खेल्ने गरिन्थ्यो,’ उनले भने, ‘तर अहिले भने चीर दहनपछि मात्रै सात दिनसम्म मरी होरी खेल्ने गर्छौं।’

मथुरामा श्रीकृष्णले गोपिनी र राधासँग खेलेको लयमा आधारित गीत गाउँदै राना थारू ‘मथुरा होरी’ खेल्ने गरेको बताउँदै बेला देवीपुरका विजय रानाले भने, ‘मथुरामा कृष्ण भगवान्ले खेलेको होरीको लयमा होरी खेल्छौं।’ होरीमा युवायुवती मिलेर सँगै गोलवद्ध भई फागु र होरी गीत गाउँदै रमाइलो गर्ने गरेको बताउँदै उनले भने, ‘तर जिन्दा होरीको समयमा गीत गाएर नाच्ने गरिए पनि रङ तथा अबिर भने लगाइन्न।’

चीर दहनपछि मात्रै मरी होरीमा रङ दलेर गीत गाउँदै होरी खेल्ने गरेको उनले बताए। ‘जब होलिकाको पुतला बनाई चीर दहन गरेपछि भने रङको टीका लगाएर मात्रै दिउँसो होरी खेल्छौं त्यो भन्दा अघि राति मात्रै होरी खेल्ने गरिन्छ,’ उनले भने। ‘मथुरा होरी’ राना थारूको आफ्नै संस्कृति भएको विजय बताउँछन्। ‘कृष्णको श्रद्धामा हामीले एक महिनादेखि होरी खेल्ने गरेका हौं,’ स्थानीय केवल राना भन्छन्, ‘हाम्रो होरी र पहाडी समुदायको होरी संस्कृति मिल्दो जुल्दो छ।’

राना कला तथा संस्कृति सम्बद्र्धन समाज बेलादेवीपुरका अध्यक्ष महावीर रानाका अनुसार होलिकाको चीर दहनपश्चात् (होलिकालाई मारेरको खुसीयालीमा) मरी होरी भन्दै दिउँसो खेल्ने गरिएको हो। राना पहिरन (पुरुषले झगयी, फेटा र महिलाले गोट, घँघरिया, मँगिया, उनिया, घुँघट, रुखा) मा सजिएर ढोल बजाउँदै गोलबद्ध भई कृष्ण चरित्र, राम चरित्र, देवी देउताका वीरताका गाथा गाउँदै खेल्ने गरिन्छ। चीर दहनपछि मात्रै रङको टीका लगाउने गरिए पनि त्यो भन्दा अघि भने राना थारूले रंगबिना गीत गाएर होली खेल्ने गर्छन्।

प्रकाशित: २९ फाल्गुन २०७६ ०३:१४ बिहीबार

थारू_समुदाय होली