कला

संस्कृति जोगाउन ज्ञान परीक्षा

काठमाडौं - हिन्दू स्वयंसेवक संघद्वारा आयोजित स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा–२०७६ सम्पन्न भएको छ। नयाँ पुस्तामा स्वदेश, स्वधर्म र स्वसंस्कृतिप्रति गौरवभाव जागृत गराउने उद्देश्यले काठमाडौंको टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको थियो। ५० वटा प्रश्न सोधिएको परीक्षामा भक्तपुर, ललितपुर र काठमाडौंका नौ हजार विद्यार्थी सहभागी थिए। तीमध्ये एक सय ३५ जनाले मात्रै सबै प्रश्नको सही उत्तर मिलाएका थिए। सही उत्तर दिनेमध्येबाट गोलाप्रथाका आधारमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना विजेता छनोट गरिएको थियो।

काठमाडौंको मोक्षदा माध्यमिक विद्यालय कक्षा ९ मा अध्यनरत विपीन ढकाल प्रथम भएका थिए। उनले प्रमाणपत्रसहित ५१ हजार रुपैयाँ नगद पुरस्कार पाए। काठमाडौंकै गीतामाता माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत युगेश मगर दोस्रो स्थान हात पारे। ललितपुरको पाटन सेकेन्डरी स्कुलका कक्षा १२ मा अध्ययनरत विजय रावल तेस्रो बन्न सफल भए। प्रथम र द्वितीयले क्रमशः २५ र १५ हजार रुपैयाँ नगद पुरस्कार पाए। सान्त्वनाअन्तर्गत ५० जनालाई प्रमाणपत्रसहित एकएक हजार नगद पुरस्कारको व्यवस्था गरिएको थियो।

हिन्दु स्वयंसेवक संघका संयोजक महाश्रम शर्माले धर्मसंस्कृतिले परिचित नेपालमा धर्म प्रचार अत्यन्त धेरै आवश्यक रहेको उल्लेख गरे। ‘समाज वा विचारलाई नयाँ पिँढीमा लागु गराउन सकिएन भने संस्कृतिको उत्थान र संरक्षण गर्न सकिँदैन,’ उनले भने। उनका अनुसार हिन्दु धर्मसंस्कृतिबारे करोडौें वर्षदेखि पुस्तान्तरण हुँदै आएको हो। ‘नयाँ पिँढीमा हस्तान्तरण नगरिए धर्मसंस्कृति बिगिँएर हराएर जाने हुँदा सचेत भएर यसको उत्थान गर्नुपर्छ,’ उनले भने।

सांस्कृतिक कार्यक्रम संयोजक तथा शिक्षासेवी अजय अधिकारीले विवेकानन्द संस्कृति ज्ञान परीक्षाले नेपालको संस्कृति र सभ्यतालाई माया र सम्मान गरेको बताए। ‘विद्यार्थीको अन्तर्निहित क्षमता बाहिर ल्याउने प्रयासमा हामी छौं,’ उनले भने, ‘त्यसकारण विदेशी संस्कृति भित्रिएसँगै नेपालीपन हराउँदै गएको अनुभूति भएकाले यस्ता कार्यक्रम आयोजना गरेका हौं।’ जतिसुकै शिक्षित भए पनि संस्कृति अवलम्बन नगरिए संस्कृति हराएर जाने उपत्यका परीक्षा प्रचारक मुकेशकुमार शाहले उल्लेख गरे।

‘संस्कृतिमा सभ्यतासँगै आर्थिक उन्नत जोडिएको हुन्छ,’उनले भने, ‘संस्कृति जोगिए मात्र हामी सामाजिक रूपमा उच्च हुन सक्छौं।’ काँधमा जिम्मेवारी र दिमागमा समझदारी आजको आवश्यकता भएको स्पष्ट पार्दै उनले भने, ‘विगत ६ वर्षदेखि यस्तो ज्ञान परीक्षा आयोजना गरिँदै आएको छ।’ यस परीक्षामा सहभागीको संख्या बढ्दै गएको उनको भनाइ छ। आयोजकका अनुसार सहभागीलाई हिन्दु धर्मसम्बन्धी विविध जानकारी समेटिएको पुस्तक पढ्न दिएर मात्र परीक्षा दिन लगाइएको थियो।

प्रकाशित: १८ फाल्गुन २०७६ ०३:०२ आइतबार

संस्कृति ञान_परीक्षा हिन्दू_स्वयंसेवक