कला

प्रदेशमा पनि बाजुराका प्रेम पहिलो

बाजुरा- सुदूरपश्चिम प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा बाजुराका प्रेम नेपाली प्रथम भएका छन्। अन्य आठ जिल्लाका प्रतिस्पर्धीलाई पछि पार्दै बाजुरा बडिमालिका ९ मार्तडीका प्रेम नेपाली पहिलो भएका हुन्।

जिल्लामा प्रथम भएर प्रदेश स्तरीय प्रतियोगितामा सहभागी भएका नेपालीले प्रथम ल्याएसँगै २० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाण पत्र प्राप्त गरेका छन्। त्योसँगै आगामी चैत्र ५ गते काठमाडौंमा हुने राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामासमेत भाग लिन पाउने  छन्।

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको संयोजक र राष्ट्रिय युवा परिषद्को आयोजनामा प्रतियोगिता गरिएको हो। कैलालीको धनगढीमा आयोजित प्रदेश स्तरीय प्रतियोगितामा डडेल्धुरा दीपा भण्डारी द्धितीय र कैलालीका चित्रा पाण्डे तृतीय भएका छन्। भण्डारीले १५ हजार र पाण्डेले १० हजार रुपैयाँ नगदसहित प्रमाण पत्र प्राप्त गरेका छन्।

वक्तृत्वको शिर्षक शिक्षाको रुपान्तरणमा युवाको भूमिका राखिएको थियो। फार्मेशी पढेका नेपाली सानैदेखि वाक क्षमता राख्दछन् भने सडक नाटक, थ्रियटर नाटक जस्ता विधामा पनि थुप्रै सो प्रस्तुत गरिसकेका छन्।

कैलालीमा रहेका प्रेम नेपालीले प्रदेशमै पहिलो स्थान ल्याउन पाउँदा खुसी लागेको बताए। जिल्ला हुँदै प्रदेशसम्म राम्रो गरेको छु, अब केन्द्रका लागि तयारी गर्ने समय पनि छ, बाजुरालाई केही स्थान ल्याउन सक्ने गरी तयारी गर्ने नेपालीको भनाई छ। राष्ट्रिय स्तरको प्रतियोगितामा ७ प्रदेशका तीन जनाका दरले २१ जनाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

 

प्रकाशित: १५ फाल्गुन २०७६ १२:०३ बिहीबार

प्रदेश बाजुरा