कला

कलाकार र संगीत कम्पनीबीच चर्कियो विवाद

काठमाडौं – गायक तथा संगीतकार राजन ईशानले आफूले सिर्जना गरेको गीत विभिन्न संगीत कम्पनीले अनुमतिविना प्रयोग र किनबेच गरेपछि कारबाहीको लागि प्रहरीमा जाहेरी लिएलगत्तै कलाकारहरू आ–आफ्नो गीत संगीत संरक्षण गर्न सक्रिय भएका छन्। गत फागुन ५ मा गायक राजन ईशानले महानगरीय प्रहरी प्रभाग टेकुमा इन्द्रेणी क्यासेट सेन्टरका अर्जुन महर्जन र रञ्जना म्युजिक कम्पनीका भगवानकुमार श्रेष्ठ विरुद्ध आफ्नो गीत चोरी अनधिकृत रुपमा डिजिटल मध्यममा बेचेको आरोप लगाउँदै किटानी जाहेरी दिएलगत्तै जिल्ला प्रशासन कार्यालयले उनीहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

गायक इशानको ‘बसमा छैन मेरो मन’ बोलको गीत दुई कम्पनीले प्रयोग गरेर अनुमतिविना केही वर्षअघि अकार्ड म्युजिकललाई बिक्री गरेपछि उनले जाहेरी दिएका थिए। ‘मेरो गीत चोरेर एल्बम तयार गरेर बिक्री गरेको पाएपछि मैले जाहेरी दिएको हुं। मैले रेडियो नेपालमा गाएका अन्य गीतहरूपनि यसै गरेर विभिन्न कम्पनीले अनुमतिविना किनबेच गरिरहेका छन्,’ उनले भने। उनको गीत प्रयोग गरेबापत रोयल्टी नपाएको गुनासो उनले गरेका छन्। गायक ईशानको ुबसमा छैन मेरो मनु को गीतक सुरजमान जोशीले इन्द्रेणी क्यासेट सेन्टरलाई दिएका थिए। तर ईन्द्रेणीले सो गीत आफ्नैझैं गरेर रञ्जना म्युजिक कम्पनीलाई दिएको थियो।

म्युजिक नेपाल, धौलागिरी, विन्धवासिनी म्युजिक, रञ्जना क्यासेट सेन्टर र इन्देणी क्यासेट सेन्टरलगायत संगीत कम्पनीहरूले कलाकारसँग सम्झौता गरेर विपरीत काम गरिरहेको आरोप उनीहरूले लगाएका छन्। लोक गायिका बिमाकुमारी दुराको स्वरमा रहेको दजनौं गीत विभिन्न संगीत कम्पनीले आ–आफ्नो युट्युब च्यानलमा राखेर लाखौं आम्दानी गरिरहेका छन्। अनुमतिविना विभिन्न संगीत कम्पनीले आ–आफ्नो युट्युब च्यानल राखेकोमा उनले आपत्ति जनाएकी छन्। ‘मेरो धेरै गीत धौलागिरी क्यासेट सेन्टरले बजारमा ल्याएको थियो। अहिले उसले युट्युबमा अपलोड गरेको रहेछ। म्युजिक नेपाल र इन्द्रेणी क्यासेट सेन्टरले केही गीत चोरी गरेर आ–आफ्नो युट्युबमा राखेका छन्। मेरो अनुमतिविना राखिएको गीतहरूबाट मैले रोयल्टी पाएकी छैन्,’उनले भनिन्,‘गीत संगीत चोरेर प्रयोग गर्ने संगीत कम्पनीविरुद्ध जाहेरी दिने योजनामा छु।’

गायक स्वरुपराज आचार्यले संगीत कम्पनीले गीत संगीत प्रयोग गरेर कलाकारलाई ठगी गरेको आरोप लगाएका छन्। ‘हामीले गाएका गीतको प्रतिलिपि अधिकार कम्पनीहरूले खोसेका छन्। युट्युबमा राखिएका गीतबाट आएको कमाई उनीहरूले राख्ने गरेका छन्। हामीले रोयल्टी समेत पाएका छैनौं। यस विरुद्ध सबै कलाकार एकजुट भएर कानुनी उपचार खोज्न लागिपरेका छौं,’ उनले भने। यसअघि गायक सत्यराज आचार्य र स्वरुप आचार्यले साढे सातु फिल्मको गीत चोरी भएको तथ्य संकलन गर्नेक्रममा बुबा भक्तराज आचार्यका गीतहरू डिजिटल माध्यममा रहेको पत्ता लगाएका थिए।

रेडियो नेपालले लगानी गरेर विभिन्न कलाकारलाई पारिश्रमिक दिएर गीत संगीत रेकडिङ गराएका अधिकांश गीत संगीतहरू अनुमतिविना प्रयोग गरिरहेको आरोप उनीहरूले लगाएका छन्।

कलाकारहरूको स्वरमा रहेको गीत रेडियो नेपालले अनुमतिविना बिक्री गरिरहेको जानकारी गायक बद्री पंगेनीले गराए। ‘कलाकारहरू आ–आफ्नो गीत संगीत संरक्षण गर्न लागिपरेका छन्। उनीहरूलाई लगानीकर्ताले पारिश्रमिक दिने गरेका छन्। तर, सो गीत संगीतमा कलाकारको पनि हक हुन्छ। रोल्यल्टी नपाएपछि कलाकारहरू एकजुट भएर गलत गर्ने संगीत कम्पनीविरुद्ध लागिपरेको छन्,’ उनले भने।

प्रकाशित: १२ फाल्गुन २०७६ ०३:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App